नेपालगन्जका होटलका भान्सा पुग्यो अनुगमन टोली

संयुक्त बजार अनुगमन टोलीद्वारा म्याद नाघेका खाद्यबस्तुको प्रयोग नगर्न र गुणस्तर र सरसफाईमा ध्यान दिन निर्देशन


बाँके स्थित संयुक्त बजार अनुगमन टोलीद्वारा बुधवार बाँकेका ठुला होटलहरुको अनुगमन गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको संयोजनमा गएको अनुगमन टोलीले गनापुरमा रहेको होटल नमस्ते एण्ड भिजेल रेष्टुरेण्ट, होटल भेरी, र कारकादो स्थित होटल सोल्टी र होटल सिद्धार्थको गुणस्तर बारे अनुगमन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी खाद्य निरिक्षक नेत्रा बोगटीले जानकारी दिइन् ।


अनुगमनका क्रममा विभिन्न होटलको स्टोरमा केही म्याद नाघेका खाद्य वस्तुहरु रहेको पाइएकाले आइन्दा यस्ता वस्तुहरुको प्रयोग नगरि नष्ट गर्न आदेश दिएको अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा होटलका भान्साको गुणस्तर र सरसफाईको स्थिति राम्रो रहेको पाइए पनि केही होटलहरुको स्टोरमा म्याद नाघेका खाद्यबस्तुहरु फेला परेकाले ती सामानहरु नष्ट गर्न लगाइएको अनुगमन संलग्न उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।


अनुगमन टोलीले भान्सामा प्रयोग हुने सामानको उपभोग्य मिति र सरसफाई एवम् स्वच्छतामा बिशेष सतर्कता अपनाउन निर्देशन दिएको जनाएको छ । होटलहरुको गुणस्तर स्थिति बारे अनुगमन जारी राखिने र बाँकेका होटलहरुको स्तरीयकरण गर्ने योजना रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य निरिक्षण नेत्रा बोगटीले बताइन् ।

होटल अनुगमनमा बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य निरिक्षण नेत्रा बोगटी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता वसन्त गौतम, जिल्ला प्रशासन कार्यालय बाँकेका बेदेश्वर गौतम र नेपालगन्ज उपमहानगरपालिकाका दिपेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।


यसैगरि बजार अनुगमन टोलीले मंगलबार ग्यास उद्योगहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा ग्यास सिलिन्डरहरुको नापतौल मापदण्ड बमोजिम रहेको पाईएता पनि कामदार हरुको सुरक्षा साधनहरु पन्जा, मास्क, बुट, हेलमेट प्रयोग नगरेको पाइएकोले सो को ब्यबस्था गर्न र बिक्री केन्द्रहरूबाट उपभोक्तालाई तौल गरेर मात्र बिक्री गर्न निर्देशन दिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया