नरैनापुर : आगलागीमा पुग्दैन दमकल

दर्जन बढि घटनामा प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रण

बाँके । नरैनापुर गाउँपालिकाले खरीद गरेको दमकल प्रयोग विहीन बनेको छ । गाउँमा आगलागी हँुदा स्थानीयबासिन्दा र प्रहरी सक्रियतामा आगो नियन्त्रणमा ल्याउनु परेको गुनासो बाहिर आएको छ ।


नरैनापुर गाउँपालिका क्षेत्रमा ६ वटा वडा छन् । दमकल गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहको घरमा राखिएको कर्मचारीले बताएका छन् । पछिल्लो ६ महिना देखि दमकल बिग्रिएकोले प्रयोगमा आउन सकेको छैन, श्रोतले भन्यो, बनाउनका लागि दुई महिना अघि हेटौंडा लगिएपनि अवस्थामा सुधार भएन ।

दमकलको फुहाराले काम गर्दैन, पानी तान्न पनि सक्दैन, नरैनापुर गाउँपालिकामा कार्यरत दमकल सहायक सिराज इद्रिसी भन्छन्, आगलागीको सूचनामा बिग्रिएको दमकल लगेर काम छैन । दमकल अब लखनउ लगेर बनाउने तयारी छ, उनले भने, यद्यपि कहिले लग्ने भन्ने बारे आफुलाई जानकारी छैन ।


बुधवार दोन्द्रा गाउँमा आगलागी हुँदा पनि दमकल नआएपछि समयमा आगो नियन्त्रण हुन नसकेकै कारण धनसम्पत्ती खरानी हुने गरेको बताउँदै नरैनापुर ६ बस्ने गुरुदीन रैदाशले भने, गाउँपालिकामा दमकल देखाउनका लागि मात्र छ ।


ईलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक बसन्त गौतमका अनुसार पछिल्लो साउन महिना देखि यता १२ वटा आगलागीका घटनामा ४ लाख ७५ हजार रुपैया बराबरको छति भएको छ ।


दमकललाई खबर गर्दा आउँदैन, दैनिक नेपालगन्ज संग कुरा गर्दै इन्चार्ज गौतमले भने, प्राप्त सूचना अनुसार दमकल बिग्रिएको अवस्थामा रहेको छ । दमकल सहायक चालक जलाल खाँले भने, दमकल खराब छैन, चालु अवस्थामा छ । उनले भने, पानी तान्ने मोटर खराब भएकोले त्यो बनाउन सकिएको छैन । हेटौंडा लगेर बनाउँदा पनि काम भएन, उनले भने, अब लखनउ लैजाने तयारी हुँदैछ ।


दमकल प्रयोजनका लागि जम्मा ६ जना कर्मचारी रहेका छन्, उनीहरुले फोन नउठाउने देखि दमकल ब्यवस्थित नराख्ने सम्मको बेथितिले म आफै हैरान छु, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले भने, दमकलका लागि नियुक्त ब्यक्ति दमकलका लागि केहि काम नगरेकोले चाँडै उनीहरुबाट विदाई लिने तयारी छ ।

आगलागी घटनामा दमकल नपुग्नु, फोन नउठ्नु दुखद कुरा हो, अधिकृत शाहीले भने, यस विषयमा म गम्भीर रुपले लागेको छु ।

प्रतिक्रिया

प्रतिक्रिया