नेपालगन्जमा वायु प्रदुषणको मात्रा उच्च रहेकाले सावधान अपनाउन वातावरण विभागले अनुरोध गरेको छ । विभागले काठमाडौंसँगै तराईको विराटनगर र नेपालगन्जमा पनि वायु प्रदुषणको स्तर उच्च रहेको जानकारी दिंदै सावधानी अपनाउन अनुरोध गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसीले मौसम नखुलेको अवस्थामा उत्पादन भएका धुवा, धुलोका कारण वातावरण प्रदुषित हुँदै गएको बताउँछन् । उनले भने, ‘मौसम खुलेपछि प्रदुषणको स्तर कम हुँदै जान्छ ।’
वातावरण विभागका अनुसार, सोमबार नेपालगन्जको वायु प्रदुषण सामान्य भन्दा निकै बढी रहेको थियो । विभागले चिसोका समयमा आगो बाल्दा, फोहोर बाल्दा प्रदुषणको मात्रा उच्च हुने भएकाले त्यसो नगर्न समेत भनेको छ ।
विभागले वातावरण प्रदुषण उच्च रहेकाले वृद्धवृद्धा, दम खोकी तथा श्वासप्रश्वासका बिरामी, मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकाले घर बाहिर ननिस्कन र सबै नागरिक घर बाहिर निस्कदा सावधानी अपनाउन आग्रह गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर डिसी प्रदुषण नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउन आवश्यक रहेको बताउँछन् । उनी भारत र चीनसँग नेपाल जोडिएकाले दुवै देशको प्रदुषणको प्रभाव पनि नेपालमा पर्ने भएकाले सबैको समान पहल आवश्यक पर्ने धारणा राख्छन् ।