
नेपालगन्ज साइकलको क्रेज बढ्दै गर्दा नेपालगन्ज उद्योग वाणिज्य महासंघले पनि चासो देखाएको छ । जसको परिणाम आफ्नो ५३ औं स्थापना दिवसको महत्वपूर्ण अवसर पारेर संघले गत बुधबार नेपालगन्जमा साइकल दौड प्रतियोगिताको आयोजना गर्यो ।
ब्यापार संघ आबद्ध सदस्यहरुको सहभागिता रहने गरि आयोजना गरिएको यो कार्यक्रम नेपालगन्जमा साइक्लिङ्गको बढ्दै गरेको माहोललाई थप उर्जा मिलोस् भन्ने नै रहेको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले भने । साइकल स्वास्थ्य, वातावरण र पर्यटनका लागि भन्ने नारा दिएर आयोजना गरिएको कार्यक्रम ब्यापार संघको इतिहास मै पहिलोपटक गरिएको र यसबाट नौलो अनुभव र सकारात्मक सन्देश प्रवाह गर्न सकेको ठम्याइ संघका महासचिव चिरञ्जीवि वलीको छ ।
साइक्लिष्टहरुलाई नेपालगन्जमा ब्यापार संघले आयोजना गरिदिएको साइकल दौड प्रतियोगिताबाट थप उर्जा मिलेको प्रतिक्रिया नेपालगन्ज साइक्लिङ्ग क्लबका बरिष्ठ उपाध्यक्ष लवराज श्रेष्ठको छ ।
साइकल दौडमा सहभागिता समेत जनाउनु भएका सञ्चारकर्मी कृष्ण खनालले यस्ता प्रतियोगिताहरु आयोजना हुँदा शहरमा भोलिका दिनमा अब्बल राष्ट्रिय स्तरका साइक्लिङ्गका नयाँ खेलाडी उत्पादनमा समेत बल पुग्ने बताउनुहुन्छ ।
नेपालगन्जमा प्रतियोगिता कै रूपमा नेपालगन्ज उपमहानगर पालिकाको आयोजना र नेपालगन्ज साइक्लिङ्ग क्लब को संयोजनमा मेयर कप साइकल दौडका दुई सिरिज सम्पन्न भैसकेको छ । जसमा राष्ट्रियस्तरका देशभरका खेलाडीले सहभागिता जनाएका थिए भने नेपालगन्ज साइक्लिङ्ग क्लब कि आयोजना र डुडुवा गाउँपालिकाको सहयोगमा समेत साइकल दौड प्रतियोगिता आयोजना गरिसकिएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङ्गको प्रतिस्पर्धा बाँकेको गाभरमा बनाइएको साइकल ट्रेलमा आयोजना गरिएको थियो ।
नेपालगन्जमा यसरी साइकलका प्रतियोगिता र साइक्लिङ्गका विभिन्न इभेन्टहरु आयोजना भैरहँदा र दिनहुुँ साइकलमा स्वास्थ्य रहने अभियानमा सक्रियताले ६० को दशक पछि लगभग बिस्थापित हुँदै गएको साइकल फेरि उत्साहका साथ सहरमा दौडिन थालेको छ ।