‘प्रेस स्वतन्त्रता संकुचनको जोखिम’

नेपाल पत्रकार महासंघको जिल्ला अधिवेशन सकियो, सुरु भयो निर्वाचनको चर्चा

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले मुलुकमा प्रेस स्वतन्त्रता संकुचनको जोखिम बढेको बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेको १२ औं जिल्ला अधिवेशनको शनिवार कोहलपुरमा उद्घाटन गर्दै प्रमुख अतिथि जीएमले प्रतिनिधिसभा विघटनका घटनाक्रमले प्रेस स्वतन्त्रताको संकुचनको जोखिम बढाएको औल्याएका हुन् ।


पत्रकार महासंघ प्रत्यक्ष निर्वाचन प्रणालीमा गएपछिको पहिलो जिल्ला अधिवेशनमा केन्द्रीय प्रतिनिधि जीएमले आगामी फाल्गुन ३ गतेलाई देशभरि निर्वाचनको योजना बनाएको जानकारी दिए । कोरोनाका कारण फाल्गुन ३ गते सम्भव भएन भने पनि चैत्रभित्रै सक्ने योजना बनाइएको बताए ।


बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले प्रेस स्वतन्त्रताको दुरुपयोग रोक्न नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराएका छन् । जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रजिअ कुरुम्वाङले प्रेस स्वतन्त्रताको दुरुपयोग दुःखद भएको अनुभव पर्न पुगें, म आफै पनि त्यो दुरुपयोगको शिकार महासंघ दुरुपयोग गर्न रोकोस् । त्यसमा टिप्पणी गर्दै पत्रकार महासंघका सचिव जीएमले पत्रकार संहिता पालनामा कडाइ गर्न जिल्ला शाखाको ध्यानाकर्षण गराएका थिए ।

महासंघका शाखा अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, पत्रकार अगुवा लगायतका दर्जनबढी वक्ताहरुले बढ्दो चुनाीतीबीच पत्रकारहरुको स्वतन्त्र भूमिकाको अपेक्षा गरेका थिए ।


शनिवारनै आयोजित महासंघको जिल्ला अधिवेशनको वन्द सत्रले विभिन्न १२ बूँदे घोषणा गरेको छ । महासंघका पूर्व अध्यक्षसमेत रहेका निवर्तमान केन्द्रीय सदस्य झलक गैरेको अध्यक्षतामा भएको अध्यक्ष मण्डलले बन्द सत्र सञ्चालन गरेको हो ।

निकै बहस र अन्तक्र्रियात्मक ढंगले सञ्चालित बन्दसत्रलाई महासंघका केन्द्रीय प्रतिनिधि उदय जीएम, प्रदेश महासचिव भेषराज बस्नेत, सचिव शुक्रऋषि चौलागाईं, शाखा अध्यक्ष ठाकुरसिंह थारु लगायतले सम्बोधन पनि गरेका थिए । बन्द सत्रले सचिव तिलक गाउँलेले प्रस्तुत गरेको सांगठनिक र कोषाध्यक्ष केशव रानाले पेश गरेको आर्थिक प्रतिवेदन पनि सुझाव सहित सर्वसम्मत पारित गरेको अध्यक्ष थारुले जानकारी दिए ।


बन्द सत्रले शाखामा रहेका विभिन्न समस्या अध्ययन र समाधानका लागि सुझाव दिन पूर्व केन्द्रीय सदस्य प्रेम केसीको संयोजकत्वमा पूर्व शाखा अध्यक्ष रुद्र सुवेदी, सचिव तिलक गाउँले, अछरी पोखरेल, डक्ट धिताल, अर्जुन ओली, हेमन्त विक सदस्य रहेको कार्यदल पनि गठन गरेको छ । अधिवेशन सकिएसंगै आगामी निर्वाचनको बाटो खुलेको छ ।

त्यसअघि नेपाल प्रेस युनियन बाँकेले विभिन्न मागसहित पत्रकार महासंघका केन्द्रिय समितिलाई ज्ञापन पत्र बुझाएको थियो । नेपाल पत्रकार महासंघका सचिव उदय जीएमलाई युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले ज्ञापन पत्र बुझाएका हुन् ।


महासंघद्वारा सम्मान


नेपाल पत्रकार महासंघ बाँकेले अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । महासंघले शाखा संस्थापक अध्यक्ष लियाकत अली, पत्रकार पूर्णलाल चुके र गणेश जीसीलाई सम्मान गरेको हो । शाखा अध्यक्ष ठाकुरसिंह थारु र प्रमुख अतिथि, महासंघका केन्द्रीय सचिव उदय जीएमले नगदसहित अग्रज पत्रकार सम्मान गरेका हुन् ।

पत्रकार महासंघ बाँकेले ६० वर्ष नाघेका आफ्ना सदस्यहरुलाई नगद सहित सम्मान गर्ने नीति लिएको अध्यक्ष थारुले जानकारी दिए । महासंघमा स्थापना गरिएका विभिन्न पुरस्कारहरु भने यस वर्ष छुट्टै भव्य कार्यक्रम गरेर प्रदान गर्ने निर्णय गरेको छ ।


महासंघले ती सबै पुरस्कार छनोटका लागि शाखाका पूर्व अध्यक्ष झलक गैरेको संयोजकत्वमा सिराज खान, अछरी पोखरेल, नविन गिरि र विनोद पौडेल सदस्य रहेको समिति गठन गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया