निकुन्जमा बाघः डरलाग्दो भो यात्रा

भावुक योगी
पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज भित्र गएराति मोटरसाइकलमा सवार महिलालाई पाटे बाघले झम्टेर लगेको महिलाको शव निकुञ्जको टोलीले फेला पारेको छ ।

पाटे बाघले आक्रमण गरेको ठाउँदेखि झण्डै ५ सय मिटर निकुञ्ज भित्र कुवाँभारको गुम्ना पुल नजिकै क्षतविक्षत रुपमा महिलाको शव फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो ।

बाघले आक्रमण गरेको खबर पाए लगत्तै निकुञ्जको टोली र नेपाली सेनाले हात्तीको सहायताबाट बेपत्ता भएकी महिलाको खोजि गरिरहेको थियो ।

पाटे बाघले महिलाको घाँटी, कम्मर र खुट्टाको आधा भाग खाएको अवस्थामा शव फेला परेको र अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको उहाँले बताउनुभयो ।

मोटरसाईकलमा सवार आमाछोरा कैलाली लम्किचुहा नगरपालिका ४ आफ्नो घर तर्फ जाँदै गर्दा शुक्रबार राति साढे ८ बजेतिर ५० वर्षकी नन्दकला थपालाई पाटे बाघले मोटसाईकलबाटै झम्टेर लगेको थियो । मृतक महिलाका छोरा मोटसाईकल चालक सन्तोष थापालाई सामान्य चोट लागेको निकुञ्जले जनाएको छ ।

राष्ट्रिय बन तथा निकुञ्ज भित्र र मध्यवर्ती क्षेत्रका सामुदायिक वन आसपासका क्षेत्रमा पाटे बाघको आक्रमणबाट मानवीय क्षति भएपनि निकुञ्ज भित्र पर्ने राजमार्ग क्षेत्रमा धेरै वर्ष पछि फेरि यस्तो दुखद घटना भयो बर्दिया राष्ट्रिय निकुञ्जका पुर्व वार्डेन रमेशकुमार थापाले बताउनुभयो ।

झण्डै २१ वर्ष अघि २०५६ सालमा निकुञ्जको यहि क्षेत्र आसपासमा राजमार्गमै पाटे बाघले मोटरसाईकलमा सवार कैलाली लम्किका फिल्म हल साहुलाई आक्रमण गर्दा ज्यान गएको थियो, बर्दिया निकुञ्जका पुर्व वार्डेन रमेशकुमार थापाले भन्नुभयो ।

मोटरसाईकलमा आक्रमण गरि महिलाको ज्यान गएपछि क्यामरा प्रविधिको सहयोगमा बाघ पहिचान गरि नियन्त्रणमा लिने प्रयास थालिने निकुञ्जले जनाएको छ ।

साँझ परेपछि वेलुका ६ बजेदेखि विहानको ६ बजेसम्म निकुञ्ज भित्र पर्ने राजमार्गमा मोटरसईकल, साईकल र पैदल यात्रीलाई रोक लगाउने तयारी थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।

पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयका वन क्षेत्रमा र वन क्षेत्र आसपासका गाउँमा पाटे बाघले मानवीय क्षति र पशु चौपायामा क्षति गर्ने क्रम बढेपछि स्थानीयबासिन्दा त्रसित बनेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया