गत चैत्र ११ देखि मुलुक लकडाउनमा छ । भारतसँगको सीमा अझै खोलिएको छैन । तर, यस्तो विषम परिस्थितिमा पनि मानवबेचबिखनका घटना तथा जोखिमपूर्ण यात्राका घटनामा कमी आउन सकेको छैन ।
माइती नेपाल नेपालगन्जले बिहीबार नेपालगन्जमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्यो । माइती नेपालले सीमामा मानव बेचबिखन विरुद्ध सीमामा निगरानी, परामर्श तथा पुनस्र्थापनामा सहयोग गर्दैै आएको छ ।
पत्रकार बाँकेसँगको समन्वयमा आयोजित कार्यक्रममा बोल्दै माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले लकडाउनका बेला सीमाका भित्री नाकाबाट पैदल नै भारत मानिसहरु लगिएको तथ्यहरु फेला परेको बताएका छन् । लकडाउनका बेला बर्दियाको भित्री नाकाबाट १ सय ५० जना पैदल नै जोखिमपूर्ण रुपमा भारत तर्फ जान लागेको खबर माइती नेपाललाई प्राप्त भएको बताए ।
‘लकडाउनका बेला अवैधानिक रुपमा भित्री नाकाको प्रयोग गरी भारत लगिएको खबर पाएका छौं’, माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले भने, ‘तर भित्री नाकाबाट भारत गएकाले त्यसको एकिन तथ्यांक कसैसँग छैन ।’
संयोजक कोइरालाले मानव बेचबिखन विरुद्धको अभियान निकै चुनौतिपूर्ण रहेको बताएका छन् । ‘लकडाउनका बेला थप समस्याहरु झेल्नुपर्यो, जोखिमपूर्ण यात्रा त कम भयो तथ्यांकमा तर भित्री नाकाहरुको प्रयोग गरियो’, उनले भने, ‘दुवै देशमा सीमा तथा यातायातका साधन बन्द हुँदा समेत पैदल नै मानवओसारपोसारका घटना भएका छन् ।’
माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले लकडाउनका बेला सीमा सहज नभएपछि आन्तरिक रुपमा समेत गलत कार्यका लागि मानवओसारपोसार भएको दाबी गरेका थिए ।
कार्यक्रममा पत्रकार निरज गौतमले मानव बेचबिखन विरुद्ध निरन्तर कलम चलाउन र सचेतनामा काम गर्न आग्रह गरेका थिए । त्यस्तै, पत्रकार महासंघ प्रदेश महासचिव भेषराज बस्नेत, जिल्ला अध्यक्ष ठाकुर सिंह थारु लगायत पत्रकारहरुले आन्तरिक रुपमा पनि मानवबेचबिखन हुने गरेकाले खोजमूलक समाचार तथा सचेतामूलक लेखनमा पत्रकारलाई सुझाव दिएका थिए ।
माइती नेपाल नेपालगन्ज विगतका बर्षहरुदेखि चेली खोज्न भारत नै पुग्ने गरेको छ । लकडाउनका बेला समेत माइती नेपाल बेचिएका चेलीको उद्दारका लागि भारत पुग्ने गरेको छ । स्थानीय प्रहरीको सेटिङ्गका कारण कतिपय बेला माइती नेपालको अप्रेशन फेल हुने गरेको छ । सन् २०२० मा माइती नेपालले भारतमा गरेको एउटा अप्रेशनमा सफलता हात लागेन ।
विगतमा माइती नेपालले हराएको चेली भारतमा रहेको ठाउँ निश्चित गरी आफैले रेकी गरी प्रहरी सहयोगमा छापा मारेर फर्काएर ल्याउँथ्यो । तर, मानव बेचबिखन विरुद्ध काम गर्दै जाँदा माइती नेपालले भारतीय संस्थाको पनि सहयोग पाउन थालेको छ ।
माइती नेपाल नेपालगन्जसका संयोजक केशव कोइरालो पटकपटक गरिएको अपरेशनबाट १२ जना नेपाली चेली फर्काउन सफल भएको जानकारी दिएका छन् । जसमध्ये ६ जना बाँकेका रहेका छन् । पछिल्ला दिन चेली हराएको र हुनसक्ने स्थान किटान भएपछि रेकी गरी तथ्य पत्ता लगाउन चाहीँ भारतीय संस्थाहरुले सहयोग गर्दै आएका छन् । माइती भारत जाँदा कारवाही तथा खोजबिनका लागि भारतीय कान्न र त्यहाँको संस्थाको सहयोग लिन थालेको छ । यद्यपि, स्थानीय प्रहरीको भूमिका भने अझै पनि शंकास्पद रहेको पाइन्छ ।
माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाका अनु्सार, सनु् २०२० मा जोखिमपूर्ण यात्रामा रही सीमानाबाट उद्दार गरिएकाको संख्या २ सय ६७ छ । जुन अघिल्लो बर्ष सन् २०१९ को तुलनामा निकै कम हो । सन् २०१९ मा त्यो संख्या ८ सय ९६ थियो । माइतीले बोर्डबाट परामर्श दिई सम्झाएर १ सय ९८ जना फर्काइएको छ ।