
जनताले पाँच बर्ष सरकार चलाउन दिएको म्यान्डेटको नेकपाले उपेक्षा गरेको नेपाली काँग्रसका केन्द्रीय सदस्य गगन थापाले बताएका छन् । पूर्व मन्त्री समेत रहेका काँग्रेस नेता थापाले सोमबार नेपालगन्जमा भएको विरोधसभालाई सम्बोधन गर्दै गैरसंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिंदा जनता हालको व्यवस्थाप्रति नै आशंकित भएको बताएका थिए ।
प्रधानमन्त्री केपी ओलीले गैरसंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको उल्लेख गर्दै काँग्रेस नेता थापाले भने, ‘संविधानको जग हल्लाइयो, जनताको विश्वास तोडियो ।’
स्थिर सरकार होस् चाहनाले सबै दलले मिलेर ल्याएको संविधानमा वर्तमान परिस्थितिमा प्रतिनिधि सभा विघटनको कुनै व्यवस्था नभएपनि जबर्जस्ती, मनोमानी ढंगले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले काम गरेको नेता थापाको भनाइ थियो । उनले बहुमत प्राप्त सरकारले प्रतिनिधिसभा विघटन गर्ने संवैधानिक अधिकार नै नभएको जिकिर गरेका थिए ।
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेता थापाले कायरको संज्ञा दिएका थिए । ‘नेकपा नेता ओली झापा बाट जितेर प्रतिनिधिसभा आउनु भएका अन्य सदस्य जस्तै हो’, उनले भने, ‘टाउको गनेर उहाँले प्रधानमन्त्रीको पद पाउनु भएको हो ।’ पार्टी भित्रको समस्याको परिणाम प्रधानमन्त्री ओलीले जनतामाथि थोपरिदिएको भन्दै नेता थापाले आक्रोश व्यक्त गरे । ‘अविश्वासको प्रस्ताव नै आएको भए लोकतान्त्रिक व्यवस्था अनुसार उहाँले फेस गर्नुपर्दथ्यो’, नेता थापाले भने, ‘उहाँ डराउनु भयो संसदको ढोका नै बन्द गरिदिनु भयो, उहाँ क्रान्तिकारी होइन कायर साबित हुनुभो ।’
काँग्रेस क्षेत्र नं. २ का सभापति राजेश कुमार गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस नेता थापाले पुस १ गते ८३ जना सांसदले राष्ट्रपतिसँग सांसद बैठक बोलाउन गरेको आग्रहको वेवास्ताका कारण पनि प्रतिनिधिसभा विघटनसम्म पुगेको बताए । ‘सांसदको हस्ताक्षर बुझ्न राष्ट्रपति कार्यालयले मानेन’, उनले भने ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर जनताले दिएको बहुमतलाई हेपेको उल्लेख गर्दै नेता थापाले भने, ‘पार्टी भित्रको विवादको बोझ जनतामा जबर्जस्ती थोपरिएको छ ।’
लोभ र डरले तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले एक भएको उल्लेख गर्दै नेता थापाले भने, ‘सत्ताका लागि भएको अप्राकृतिक गठबन्धनलाई जनताले अनुमोदन गरे तर त्यसको सम्मान गर्न नेकपाले सकेन ।’ देशमा भ्रष्टाचार जस्ता बेथिति भैरहँदा पनि प्रधानमन्त्रीले त्यसलाई नियन्त्रणमा लिन नसकेको आरोप नेता थापाको थियो ।
‘कोभिडका कारण व्यवसायी, किसान, मजदुर आक्रान्त छन्, उनीहरुलाई राहतको आवश्यकता छ’, नेता थापाले भने, ‘तर, सांसदमा उभिएर यो प्रश्न मैले सरकारलाई गर्न पाएको छैन ।’
नेता थापाले प्रतिनिधिसभा विघटनको प्रश्न गाउँगाउँमा उठाउन काँग्रस नेता तथा कार्यकर्ता सँग आग्रह गरे । प्रतिनिधिसभा विघटनका दोषीलाई छाड्ने हो भने भोलिका दिनमा दोहोरिन सक्ने आशंका गर्दै उनले त्यसविरुद्ध जनता उठ्नु् पर्ने बताए । नेता थापाले सर्वोच्चमा मुद्दा रहेकाले त्यहाँबाट न्यायिक निर्णय हुने विश्वास व्यक्त गरे ।