संयोगले यो आलेख तयार हुँदा म छोरा बुहारी भेट्न अमेरिका आएको अढाई महिना भयो । धेरै देशका धेरै मानिसहरुले सपनाको देश भनेर अमेरिकालाई मन मस्तिष्कमा सजाएर राखेका हुन्छन् । खास गरि शिक्षित युवायुवतीहरुको लागि अमेरिका सपनाको देश बनेर मन मस्तिष्कमा बसेको छ । आफ्नै देशमा केही गरेर देखाउन सक्ने शिक्षित युवायुवतीहरुले पनि अमेरिका पुगेपछि आफ्नो लाइफ स्टाइल नै परिवर्तन हुने ठुलो सपना साचेर ड्राइभरसिटी भिषा भर्ने हज्जारौं हुन्छन् । कतिपयले बैंक बाट लाखौं लाख ऋुण लिएर दलाललाई पोसि अबैध बाटोबाट जोखिम मोल्दै अमेरिका छिर्न खोज्दा घर न घाटको भएको कथा ब्यथा समय समयमा सुनिएकै हो । लाखौ लाख बैंकसँग लोन लिएर अबैध तरिकाले अमेरिका जान जोखिम मोल्नु भन्दा आफ्नै देशमा कुनै व्यवसाय गरेर परिवारको साथमा रहनु धेरै अर्थले ठिक हो भन्ने कुरा न अभिभावकले बुझाउन सके न जोखिम मोल्नेले पनि यस्ता कुरा सोच्न सके । डिभि परेर अमेरिका आउनेहरुको पनि सोचे जस्तो जीवन छैन । आफू नमरी स्वर्ग देखिदैन भनेको कति सत्य हो ?

म पनि मेरा बलाबुता सामथ्र्य र क्षमताले यो सपनाको देश टेकेको होइन् । म जस्ता साधारण ब्यक्तिले अमेरिकाको भूमिमा पाइला राख्छु भनेर मैले कहिल्यै न सपनामा देखे, न बिपनामा सोचेर टोलाए । यो कुरा म जस्ता भुइँ मान्छेको हैसियत भन्दा बाहिरको कुरा थियो । तर भाग्यमा रहेछ सपनाको देशलाई स्पर्श गर्न र देख्न पाए ।

मानिसहरू अमेरिका गएपछि के के नै गरौला झै गरि मरिहत्ते गरेको देखिन्छ । तर सोंचे भन्दा यथार्थ धेरै फरक छ यहाँ । निश्चित घन्टा काम गरेपछि घन्टाको आठ रुपिया, दस रुपिया वा सो भन्दा माथि काम हेरेर पारिश्रमिक पाइन्छ । न्यूनतम हप्तामा अनिवार्य आठ घन्टा काम गर्नुपर्छ । अधिकतम हप्तामा चालीस घन्टा भन्दा बढी काम गर्न पाइदैन । हाम्रो देशमा जस्तो कुर्सीमा बसेर यहाँ काम गर्न पाइदैन । जति घन्टा काम गरेपनि उठेर नै गर्नुपर्छ । यहाँ सबै भन्दा ठुलो कुरा काम पाउनु हो । यहाँ कामको पुजा गरिन्छ । काम भए मात्र माम छ नत्र संसार अन्धकार छ । काम सानो वा ठुलो हुँदैन । जस्तोसुकै गाह्रो साह्रो भए पनि काम पाएमा रोजीरोटी सहज हुन्छ । बिना काम समय बिताउने छुट कसैलाई छैन । किनभने पहिले प्राथमिकता हातमुख जोर्नु नै हो । यहाँ कोही पनि फुर्सदिला देखिन्न्न । आफ्नो काममा जान र आउनै हम्मे हम्मे पर्छ । सबै बिजि नै बिजि देखिन्छन् ।

यहाँ घर भित्र नै संसार छ । काठैकाठले बनेका घर दुई तला, तीन तला र चार तलासम्म विभिन्न आकर्षक डिजाइनबाट बनाइएको हुन्छ । कतैकतै ठुला मलहरुमा पिलर हालेर बनाइएको हुन्छ । तर अधिकांश घर काठबाटै बनेका हुन्छन् । घरको अगाडि पछाडि जताततै रुखहरु र फुल लगाइएको हुन्छ । कम्पनीका अपार्टमेन्टमा अगाडि पछाडि कतै पनि तरकारी लगाउन पाइदैन । तर आफ्नो निजि घरमा भने यो प्रतिबन्ध छैन । घर वरिपरि हरियो दुबो वा घास लगाइएको हुन्छ । घाँस मेसिनले काट्ने हो । सरसफाइ पनि मेसिनले नै गर्छ । बिरुवा र बगैचामा पानी हाल्ने सरसफाइ गर्ने सबै काम कम्पनीको मानिसले मेसिन बाट गरेका हुन्छन् । घर वरिपरि कतै पनि धुलो उड्दैन । जताततै फुल, हरियो दुबो र घाँस हुनाले जताततै हरियो देखिन्छ । जताततै रुखैरुख लगाएको देखिन्छ । सहर बजार तथा गाउँ पुरै जंगलै जंगलले छोपेको अनुभूति हुन्छ ।

घर भित्र बिजुली र खानेपानी चौबीसै घन्टा आइरहन्छ । बिजुली बत्तिको इलेक्ट्रिक स्टोभमा खाना पाक्छ । नेपालमा जस्तो लाइन जाने हैरानी यहाँ हुँदैन । यहाँ ग्यासमा पनि खाना पकाउनछन । तर सिलिन्डर नेपालको भन्दा फरक हुन्छ । प्रत्येक घर घर भित्र बाल्ने बिजुली बत्ति, घर नजिक, सडक र पार्कहरुको पोलमा जमिन मुनि बाट बिजुलीको तार ल्याइएको हुन्छ । कुनैकुनै ठाउँमा एक पोलबाट अर्को पोल हुँदै बिजुलीको तार लगेको देखिन्छ । ठुला ठुला राजमार्गमा एक ठाउँ बाट अर्को ठाउँमा ठुला पोलबाट हाइटेन्सन लाइन लगेको देखिन्छ । तर शहर बजार एरियाका अधिकांश ठाउँमा जमिन मुनिबाट तार लगेको हुन्छ । घर बाहिर फोहोर फाल्न पाइदैन । घर भित्र नै फोहोर संकलन गरि नजिकैको फोहोर संकलन केन्द्रमा फाल्नुपर्छ । घर बाहिर फोहोर फाल्ने, कपडा सुकाउने, जथाभावी थुक्ने, कपाल कोर्ने, नङ काट्ने र घर बाहिर कुनै प्रकारको जमघट गर्न हँुदैन । आफुले बहाल तिर्ने अपार्टमेन्टमा यी कामहरु गर्न बन्देज छ । तर निजी घरमा आफ्नो सुबिधा अनुसारको कार्य गर्न बन्देज छैन । एउटै अपार्टमेन्टमा सँगै वल्लो पल्लो कोठामा बस्नेहरुसँग हाई हेले बाहेक अन्य कुनै बोलचाल हुँदैन । कसैका साना बच्चालाई माया लागेर छुन वा स्पर्श गर्न हुँदैन । अन्जानमा बच्चा वा ठुलै मानिसलाई पनि स्पर्श गरेमा वा छोएमा यहाँको कानुन आकर्षित भएर जेल जानुपर्छ ।

निजी सवारी साधनमा सवार हुँदा चालक र अगाडिको सिटमा बस्नेले अनिवार्य बेल्ट बाध्नुपर्छ । सानो बच्चा भएमा कार सिटमा राखी बेल्ट बाधेर राख्नुपर्छ । दुधे बच्चा भए पनि काखमा राख्न वा बोक्न पाइदैन । सिटमा बस्न सक्ने बच्चालाई पनि कार सिटमा राखी सिटमा अनिवार्य बेल्ट बाध्नुपर्छ । बच्चाको साथमा एक जना अभिभावक अनिवार्य बस्नुपर्छ । यदि कसैले यो नियम उल्लंघन गर्दा प्रहरीले देखेमा वा कसैले जानकारी दिएमा जरिवाना तिर्नुपर्छ । कतिपय चालकहरुले कफी पिउदै, चुरोट तान्दै र मोबाइल चलाउदै गाडी चलाएको देख्न सकिन्छ । महिलाहरुले पनि चुरोट तानेको प्रशस्त देखिन्छ । हाम्रो देशमा लामो रुटका चल्ती सवारी साधनले आफ्नो साइडमा जहाँ मनलाग्यो त्यहीँ गाडी रोकेर दिसापिसाब गराए जस्तो गरेर यहाँ सडकमा गाडी रोक्न प्रतिबन्ध छ । यहाँको सडकमा पानीका बोतल र बिस्कुट वा कुरकुरे खाएर प्लास्टिक र बोतल झ्यालबाट बाहिर फाल्न निषेध गरिएको छ । साना ठुला सबै सडकमा गाडी रोक्न पाइदैन । चल्तीगाडी भित्र राती बत्ति बाल्न निषेध गरिएको छ ।

संसारका कुनै पनि देशको बिकाशको मुख्य पूर्वाधार भनेकै सडक संजाल रहेछ । यहाँको सडक संजाल देखेर मनै लोभिन्छ । चिल्लो फराकिलो गुणस्तर युक्त ६ लेन , ४ लेन र २ लेनको सडक सहर देखि गाउँ गाउँ र कुना कन्दरा सम्म बिस्तार भएको छ । जंगल भित्र एक्ला घर भएको स्थान सम्म पनि पिच सडक पुगेको देखिन्छ । स्तरीय सडक बिस्तार ले गर्दा सबैठाउँ सुगम र सबै कुराको पहुच पुगेको देखिन्छ । सडकको बिच भागमा ठाउँ ठाउँमा बिजुली बत्तीको ट्राफिक सिंग्नल र सिसि क्यामरा जडान भएको छ । सवारी साधन सिंग्नलको आधारमा रोक्किने र गुड्ने गरेका हुन्छन् । ओभर ट्याक हुँदैन । यदि ओभर ट्याक भएमा प्रहरीले भेटेमा सक्त जरिवाना गरि रेकर्ड राख्दछ । त्यो रेकर्डले पछिसम्म वृद्धि बिकासमा असर गर्दोरहेछ । नेपालमा बायाँ साइडबाट सवारी चलाइन्छ भने यहाँ अमेरिकामा दायाँ साइडबाट । पैदल फुटपाथ र साइकल वय एउटै हुन्छ त्यो पनि दायाँ साइडबाटै हिड्नु पर्छ । पैदल यात्रा गर्दा जेब्राक्रसिङ नजिक रहेको पोलमा बटम दबाएपछि मानिसको चित्र देखा पर्छ सोही समयमा बाटो काट्नु पर्छ । जेब्राक्रसीङ नभएको स्थान बाट बाटो काट्नु पर्दा धेरै जसो चालकले नै गाडी रोकेर हातले इशारा गर्दै बाटो काट्न सहयोग गर्छन् । तर केही चालक भने बाटो काट्न उभ्भिएको ब्यक्ति लाई नदेखे जस्तो गरेर अघि बढेका हुन्छन् । धेरै जसो ब्यक्तिको आफ्नै सवारी साधन हुन्छ । सवारी साधन नहुनेहरु सिटी बसमा आवतजावत गरेका हुन्छन् ।

सिटी बस नगरका विभिन्न भागमा आफ्नो रुटमा पालो अनुसार यात्रु नभए पनि गुडिरहन्छन् । ती बसमा ठुलो अक्षरले डिजिटल नम्बर लेखिएको हुन्छ । कति नम्बरको बस कुन रुटमा चल्ने हो ? सोही अनुसार बस रोक्नका लागि सानो साइनबोर्डमा तीन चार वटा बसको नम्बर लेखिएको स्थान तोकी सडक किनारामा साइनबोर्ड गाडिएको हुन्छ, तिनै तिनै स्थानमा ती नम्बर लेखेको बसले रोकेर यात्रु चढाउने र ओराल्ने गर्छन्। बसमा एक जना मात्र ड्राइभर हुन्छ । बसमा सिसि क्यामरा र एसि हुन्छ । छत्तीस सिट भएका बसको सिट बलियो र सफा हुन्छ । हाम्रो देशमा जस्तो कन्डक्टर र खलासी हुँदैन । पैसा सिस्टमले नै लिन्छ । सिस्टमले ओके नगरेसम्म पैसा तिरेको मानिदैन । सिटी बस अपांग मैत्री हुँदोरहेछ । ह्विलचियरमा आएको यात्रुलाई ढोका नेर रहेको ह्विलचियर लिफ्ट फोल्डिङ गरेर बसको ढोका देखि बाहिर फोल्ड गरेर लगेपछि मानिस सहितको ह्विलचियर सजिलै बस भित्र आउन मिल्छ । बसभित्र हुकद्वारा ह्विलचियरलाई कस्सिनेगरी अल्झाएको हुन्छ ।

त्यसै गरि झर्न पनि ह्विलचियर लिफ्टबाट सजिलो हुँदोरहेछ । बस रोक्नु पर्दा तार तानेपछी डिजिटल अक्षरमा स्टप भनेर देखाउछ । कुन स्थानमा झर्ने हो, सो स्थान भन्दा एक स्टेप अगाडि नै तार तानेपछी आफू झर्ने स्थानमा गएर बस रोकिन्छ । बसको ड्राइभरसँग एक शब्द नबोलेरै यात्रा सकिन्छ । चालकहरु महिला पुरुष दुबै हुन्छन् । झर्ने बेलामा हरेक यात्रुले चालकलाई थ्याँक्यु भनेका हुन्छन् । यहाँ बसका चालकलाई राम्रो सम्मानले हेरिदो रहेछ । यहाँ चालकले हाम्रो देशमा जस्तो बीच बिचमा जहाँ पायो त्यहीँ रोकेर यात्रु झार्ने र चढाउने गर्न पाइदैन ।
यहाँ हुलाकको ठुलो महत्त्व रहेछ । प्रत्येक घरको अलग अलग इमेल बक्स हुन्छ । त्यो इमेल बक्समा बैंक, सरकारी अफिसबाट वा अन्य स्थानबाट इमेल आइरहन्छ । निर्वाचनको समयमा समेत इमेल बाट ब्यक्तिको नाममा घरमा नै मतपत्र आइपुग्दो रहेछ । यहाँ प्रशस्त मात्रामा पार्कहरु हुँदारहेछन् । मानिसहरु मर्निङवाक र इभिनिङवाकमा घुम्न निस्कन्छन । कोही कसैसँग बोल्दैनन् । तर हाई हेलो गर्छन् । धेरै जसोले कुकुर पालेका हुन्छन् । यहाँ भुस्याहा कुकुर देखिदैन । घरपालुवा कुकुर साथमा डुलाउदा प्रत्येक ब्यक्तिको हातमा पोलिथिन ब्याग हुन्छ ।

कुकुरले दिसा गरेमा त्यो ब्यागमा राखेर नजीकको डस्टबिनमा फाल्नुपर्छ । पार्कहरु हरियो घास भएको सफा सुग्घर हुन्छ । हाम्रो देशमा जस्तो जताततै पलास्टिक फालेर फोहोरगर्न पाइदैन ।
लामो सफरमा घुम्न निस्कदा सडकको दायाँबायाँ धेरै जसो स्थानमा घाँसे मैदानको फराकिलो चौरमा तारबार लगाएर धेरै ठाउँमा प्रशस्त गाई र घोडा पालेको देखिन्छ । कतैकतै तरकारीको ठुला ठुला फर्महरुमा थरी थरीका तरकारीहरु देखिन्छन् । खाद्यान्न, तरकारी, कपडा लगायतका दैनिक उपभोग्य बस्तु तथा इलेक्ट्रोनिक सामनहरु भएका ठुला ठुला मलहरुमा सबै प्रकारको सामान पाइन्छ । तर ती अधिकांश सामानहरु चिनबाट आयात गरेको देखिन्छ । यसले बिशाल चिनको व्यापारीक कारोबारको साझेदारी अमेरिका भएको अनुमान गर्न सकिन्छ ।
अन्त्यमा शिष्टमा आफै बस्ने होइन । शिष्टम बसाल्नुपर्छ । शिष्टम बसाल्ने राजनीतिक नेतृत्व र राजनीतिक दलहरु कति इमानदार छन् ? के उनिहरु शिष्टमाबाट देश चलोस भन्ने चाहान्छन् ?

उनिहरु दण्डहीनता अन्त्य गरेर राम्रो काम गर्नेलाई पुरस्कर र गलत काम गर्नेलाई दण्ड दिन तयार छन् ? आज सम्मका उनीहरुका क्रियाकलापबाट त्यो सम्भव देखिदैन । बोलीमा उनिहरुले देशलाई सिंगापुर पनि बनाइसके । तर बोल्नु र गर्नुमा अन्तर छ भन्ने कुरा सत्ताको मातमा भुल्दै गए । शिष्टम एकै पटक ठुलो कुरा बाट थालनी गरेर हँुदैन । साना साना कुराबाट जनताको मन जितेर क्रमश लागु गर्दै जाने हो भने असम्भव छैन । तर जबसम्म पारदर्शिता हुदैन । जबसम्म जनताप्रति जवाफदेहि भएर जनताको मन जितिदैन, तबसम्म हाम्रो देशमा शिष्टमको कुनै अर्थ छैन । कानुन बनाउने कार्यान्वयन नगर्ने । राम्रो निर्णय गर्ने तर कार्यान्वयन नगर्ने रोगलाई अन्त्य नगरेसम्म व्यवस्था जति परिवर्तन भए पनि जनताको जिवनमा कुनै परिवर्तन देखा पर्दैन भन्ने कुरा हाम्रो गणतन्त्र आए पछिका यी बर्षहरुलाई केलाउँदा नै छर्लङ्ग हुन्छ । भ्रष्टाचारको अन्त्य, बिधिको शासन, गरीब देशका धनी नेताको जीवनशैलीमा आमूल परिवर्तन नभएसम्म देश शिष्टमले चल्ला भनेर कल्पनासम्म पनि गर्न सकिदैन । (हाल गेन्स्भील फ्लोरिडा अमेरिका)

प्रतिक्रिया

प्रतिक्रिया