बर्दियामा खरखडाइ खुला, भालुको आक्रमण

बर्दिया/भावुक योगी

बर्दिया राष्ट्रिय निकुञ्जले शनिबारदेखि खर खडाइका लागि निकुञ्ज प्रवेश खुला गरेको छ । ग्रामीण भेगमा रहेका निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयबासीहरुको घरगोठ निर्माणका लागि आवश्यक पर्ने खर बनकस (बाबियो) काट्न हरेक वर्षझैँ यसवर्ष पनि खरखडाइका लागि निकुञ्जले प्रवेश खुला गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

निकुञ्जले मध्यवर्ती क्षेत्रका बासिन्दाको सुविधाका लागि प्रत्येक वर्ष खर खडाइ काट्न प्रवेश खुल्ला गर्ने गर्छ । घरगोठ छाउन, घरगोठका भित्ता बेर्न, खटिया, भकारी बनाउन, डोरी, दाम्ला लगायतका काममा प्रयोगमा आउने खर खडिया काट्न स्थानीयहरु हरेक वर्ष जोखिम मोलेर निकुञ्ज भित्र पस्ने गर्छन् ।

विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रका स्थानीयबासीलाई खरखडाइ सुविधा दिईएको छ । बिहान सुर्योदयदेखि सुर्यास्तसम्म निकुञ्ज भित्र रहेका खर, खडीया, बाबियो, मुँज, सिँठा मात्र काट्न पाउने गरी ११ गतेदेखि १३ गतेसम्म ३ दिन निकुञ्ज खुल्ला गरीएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताउनुभयो ।
पहिलो दिन शनिवार झण्डै २५ हजार मानिस निकुञ्ज भित्र प्रवेश गरेको निकुञ्जले जनाएको छ । हरेक वर्ष मध्यवर्ती क्षेत्रका झण्डै ३० हजार बढी मानिस खर खडाइका लागि निकुञ्ज प्रवेश गर्ने गर्छन । खर खडियाका लागि निकुञ्ज पसेका बेला निकुञ्ज भित्रका जंगली हात्ती, बाघ, गैँडा, भालु लगायतका वन्यजन्तुको आक्रमणमा परि वर्षेनी स्थानीय बासिन्दाले ज्यान गुमाउने र घाइते हुनुपर्ने समस्या छ ।

भालुको आक्रमण

खर खडाइका लागि बर्दिया निकुञ्ज प्रवेश गरेका बर्दियाको बारबर्दियाका १ जनाको ज्यान गएको छ भने १ जना भालुको आक्रमणमा परि घाइते भएका छन् । बर्दिया निकुञ्जको चुरे क्षेत्रमा बाबियो काट्न गएका बेला बारबर्दिया नगरपालिका सिउनिया घुस्राका ४२ बर्षीय बरन्तु थारुको निकुञ्ज भित्रै ज्यान गएको निकुञ्जले जनाएको छ ।


भिरबाट लडेर हो वा वन्यजन्तुको आक्रमणबाट ज्यान गएको हो खुल्न नसके पनि भिरबाट लडेर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए । बनियाभारबाट प्रहरी र निकुञ्जको टोली घटनास्थल तर्फ गएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।


यस्तै बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्र भास ताल नजिक भालुको आक्रमणबाट १ जना घाइते भएको छन् । घाइतेको आँखा र हातमा चोट लागेको छ । उनको नाम ठेगाना खुल्न नसकेको र घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहोलपुर लगिएको निकुञ्जले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका स्थानीयका लागि हरेक वर्ष झैँ यस वर्ष पनि शनिबारदेखि ३ दिनका लागि निकुञ्ज प्रवेश खुल्ला गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया