प्रतिनिधिसभा विघटनसँगै नेकपा स्पष्ट दुई चिरामा देखिएको छ । केन्द्रमा नेकपाको आधिकारिकताका लागि केन्द्रीय नेताहरु बीच लडाई छ । आधिकारिकताका लागि निर्वाचन आयोगमा दुवै पक्षले आ–आफ्नो दाबी गरिसकेका छन् । त्यति मात्रै होइन अहिले केन्द्रदेखि जिल्लामा पार्टीका नेता तथा कार्यकर्ता एक/अर्को पक्षमा तान्ने होडबाजी चलेको छ ।
पार्टी स्पष्ट रुपमा विभाजित भएपनि नेकपा कतिपय नेता तथा कार्यकर्ता आधिकारिक पक्षधर, निर्वाचन चिन्ह र अदालतको आदेशको प्रतिक्षामा रहेका छन् । कतिपयले अझै पार्टीमा यो वा त्यो पक्ष स्पष्ट पारिसकेका छैनन् । त्यसको कारण भनेको आधिकरिक रुपमा नेकपाको स्वामित्व कुन पक्षधरले पाउँछ भन्ने पनि हो ।
नेकपाको प्रधानमन्त्री ओली समूहले प्रतिनिधिसभा विघटन लगत्तै जिल्लामा अगुवा नेता, कार्यकर्ताको भेला गरिसकेको छ । नेकपाको अर्को पक्षधर माधव नेपाल–प्रचण्ड समूहले आज आइतबार जिल्लास्तरीय नेता कार्यकर्ताको भेला आयोजना गर्दैछ । नेपाल–प्रचण्ड समूहको जिल्ला स्तरीय भेला तथा प्रशिक्षणमा योगेश भट्टराई, पुर्णा सुवेदी, महेश्वर गहतराज अथक, दल बहादुर सुनार लगायतको उपस्थिति रहनेछ ।
दुवै समूहका जिल्ला स्तरीय नेता एक÷अर्को समूहलाई आफुतिर तान्न प्रयत्नशिल पाइन्छन् । पार्टी आधिकारिक रुपमा फुटि नसकेकाले कार्यकर्ता स्तरमा भने दुवै पक्ष गैसकेको छैन । दुवै पक्षका जिल्ला तथा केन्द्र स्तरीयले नेताले आफ्नो पक्षको बचाउ गर्दै आएका छन् । साथै उनीहरु कम्प्युनिष्ट एक हुनुको विकल्प नरहेको धारणा पनि राख्दै आएका छन् ।
नेकपा ओली समूहका केन्द्रीय सदस्य देवराज भार पार्टीमा दुई वटा चिरा देखिएपनि आधिकारिक रुपमा नफुटेको जिकिर गर्छन् । उनी पार्टीबाट एउटा समूह निस्केर गएपछि फुटको दोसाँधमा रहेको टिप्पणी गर्छन् । ‘पार्टीका प्रथम अध्यक्ष केपी ओली नै संस्थापन पक्ष भएकाले अध्यक्षतर्फ नै सबै रहनुपर्छ’, उनले भने, ‘हामीले कोहलपुरमा गरेको भेला पनि त्यसैमा आधारित हो ।’ केन्द्रमा देखिएको विवाद तथा फुट जिल्लामा हुन नदिन तथा आधिकारिक नेकपा ओली पक्षधर रहेकाले त्यसतर्फ नै एकबद्ध हुन उनले पार्टी नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
‘जिल्लामा केही साथीहरु कसम खाएर पार्टी कार्यालय कब्जासम्मको दराशय राखेर लाग्नु भएको छ’, नेकपा केन्द्रीय सदस्य भारले भने, ‘हिजो देखिको संघर्षको रक्षा र उपलब्धी हासिल गर्न संस्थापन पक्षमा एकबद्धता हुनुको विकल्प छैन ।’ उनले जिल्लामा सबैलाई एक ठाउँमा ल्याउने प्रयास गरिने बताएका छन् । केन्द्रीय सदस्य भारले केही दिनमै बाँकेमा युवा, विद्यार्थी, अगुवा कार्यकर्ता भेला, सबैलाई बोलाएर प्रतिनिधिसभा विघटनको आवश्यकता, अबका दिनमा पार्टीका नेता कार्यकर्ताले खेल्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पारिने बताए ।
नेकपा बाँके अध्यक्ष आइपी खरेलले प्रतिनिधिसभा विघटन अपराध भएको बताएका छन् । ‘ठूलो अपराध भएको छ, अपराधका पक्षमा कुनै पनि हालतमा लाग्न सकिंदैन’, उनले भने, ‘उक्त कुरा बुझाउन हामी पार्टी नेता, कार्यकर्ता र आम जनतासम्म क्रमशः पुग्ने योजनामा रहेका छौं ।’ जिल्ला अध्यक्ष खरेलले नेकपाबाट कुनै पनि तमासा गरिन नहुने धारणा राख्छन् । ‘कम्युनिष्ट फुटेर अरु हँसाउने काम गर्नु हुँदैन, अहिले केही विषयले विवाद भएपनि एक ठाउँमा आउनुको विकल्प छैन’, उनले भने ।