जरिवानाले मात्रै पालना होला त ट्राफिक नियम

ट्राफिक प्रहरी कार्यालय बाँकेले कानुन तथा मापदण्ड विपरित सञ्चालित सवारी साधनमा निगरानी बढाउन थालेको छ । प्रहरीले कानुन विपरित सञ्चालनमा रहेका सवारी साधनका धनी, चालकलाई सम्झाउने, कारवाही गर्ने कार्यलाई तिव्रता दिएको हो ।


ट्राफिक प्रहरी कार्यालय बाँकेले शुक्रबार कोहलपुर चोकमा बृहत चेकजाँच गरेको छ । जसबाट एकै दिन २६ हजार जरिवाना गरिएको छ । ‘कानुन विपरित गर्नु, मापदण्ड पालना नगर्दा सजायको भागिदार हुनै पर्छ’, ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख राजु भण्डारीले भने, ‘जरिवाना मात्रै गर्दैनौं गल्ती बुझाएर नदोहोर्याउन आग्रह पनि गर्दछौं ।’


प्रहरीले ओभरलोड, मापसे, लाइन्सेन्स तथा ब्लुबुक नविकरणको चेकिङ्गलाई तिव्रता दिएको हो । ‘लापरवाहीले भौतिक क्षति सँगै ज्यानसम्म जाने, अपाङ्ग हुने खालका घटना हुन्छन्’, ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख भण्डारीले भने, ‘त्यसैले अब सम्झाउने र कारवाही गर्ने अभियानलाई निरन्तरता दिन्छौं ।’

ट्राफिक नियमको पालनामा भएको लापरवाहीका कारण बाँकेमा अढाई बर्षमा १ सय ६६ जनाले अकालमा ज्यान गुमाएका छन् । चालु आ.व.को पुस ७ गतेसम्म बाँकेमा दुर्घटनाका कारण २२ जनाको ज्यान गएको छ । ६७ वटा दुर्घटनामा ७१ जना घाइते भएको प्रहरी तथ्यांकले देखाएको हो । साउनमा ६, भदौमा ५, असोजमा ७, मंसिरमा १५, पुसमा २ जनाको दुर्घटनामा मृत्यु भएको थियो ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार, अढाई बर्षको अवधीमा ७३ हजार भन्दा बढी कारवाही गरेको छ । आ.व. ०७५÷०७६ देखि आ.व. ०७७÷०७८ सम्मको पुस ७ गतेसम्म ७३ हजार ७४८ वटा कारवाही गरी ३ करोड ७ लाख ४९ हजार ४ सय रुपैयाँ राजश्व असुल गरेको छ । प्रहरी कारवाही र जरिवानाले ट्राफिक नियम उल्लंघनमा अपेक्षित कमी भने आउन सकेको देखिंदैन ।

आ.व. ०७५÷०७६ मा ३० हजार ५ सय ६२ ट्राफिक नियमित विपरित गर्ने सवारी साधन कारवाहीमा परेका थिए । जसबाट १ करोड ६७ लाख ७८ हजार ५ सय राजश्व असुली भयो । गत आ.व. ०७६÷०७७ को चार महिना लकडाउन हुँदा सवारी साधन चलेनन् । तर, पनि २३ हजार ७ सय ४३ वटा सवारी त्यस अवधीमा कारवाहीमा परे र १ करोड २९ लाख ६९ हजार राजश्व असुल भयो ।


चालु आ.व.को असोज १ गतेसम्म कोरोना संक्रमणको जोखिमका कारण सवारी साधन चलेनन् । निजी सवारी भने साउन देखि नै सञ्चालनमा आए । सवारीसाधन सहज नचलेपनि चालु आ.व.को पुस ७ गतेसम्म १९ हजार ४ सय ४३ सवारी साधन कारवाहीमा परे जसबाट १० लाख १ हजार ९ सय राजश्व संकलन भयो ।


चालु आ.व.को साउनमा १ हजार ९ सय, भाद्रमा ३ हजार १ सय ७२, असोजमा ३ हजार ५ सय ५४, कार्तिकमा ४ हजार ६५, मंसिरमा ५ हजार ६ सय ५०, पुसमा १ हजार १ सय २२ वटा कारवाही ट्राफिक प्रहरीले गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया