भन्सार खर्च बचाउने र अवैध कमाउने धन्दा सधै चल्न सक्दैन । प्रहरीले जब निगरानी गर्छ त्यस्ता सामान त जफत हुन्छन् नै कानुनी कारवाहीको पनि भागिदार बन्नुपर्छ ।
नेपाल–भारत सीमाको ६५ किलोमिटर क्षेत्र भारतसँग खुला रुपमा जोडिएको छ । मालसामान आयातका लागि मुख्य नाकाबाहेक अन्य नाकामा भन्सार गर्ने व्यवस्था र प्रभावकारी निगरानी छैन । त्यसैको फाइदा उठाउँदै भारतबाट तस्करी गरी स–सानो परिणाममा मालसामान भित्रिने गरेका छन् ।
बाँके प्रहरीले बुधबार झण्डै दुई लाख ५० हजार जतिको भारतबाट ल्याइएको अवैध सामान बरामद गरेको जानकारी दिएको छ । प्रहरीले गत आइतबार, सोमबार र मंगलबार भन्सार छलेर ल्याइएका सामान बरामद गरेको बुधबार प्रेस नोट मार्फत जानकारी दिएको हो । पछिल्ला दिन भन्सार छली चोरी निकासी भैरहेको भन्दै आलोचना भएका बेला प्रहरीले अवैध रुपमा भित्र्याइएको सामान बरामद गरेको सार्वजनिक गरेको हो ।
आइतबार प्रहरीले नेपालगन्ज–१४ हड्डीचोकबाट वेवारिसे अवस्थामा १ लाख ६ हजार बराबरको विभिन्न मालसामान बरामद गरेको छ । कटन सुट ८१ पिस, उलन सुट १६ पिस, सुट सहित सल १६ पिस, सुती सुट २० पिस, ब्रा ९२ वटा प्रहरीले बरामद गरी भन्सार दाखिला गरेको हो ।
आइतबार नै प्रहरीले अवैध रुपमा ल्याइएको सुर्तीजन्य पदार्थ र मलखाद राप्तीसोनारी गाउँपालिका स्थित वडा नं. २ बाट नियन्त्रणमा लिएको छ । प्रहरीले ३५ प्याकेट सुपर पावर, १५ प्याकेट खलिल शाही नियन्त्रणमा लिएको हो ।
त्यस्तै, सोमबार डुडुवा गाउँपालिका वडा नं. १ बाट प्रहरीले ३ सय केजी मलखाद, कट्टु ७८ पिस बरामद गरेको छ । जसको मूल्य १० हजार अनुमान गरिएको छ ।
मंगलबार प्रहरीले डुडुवा–१ खडैचाबाट १ सय ६७ थान प्लाष्टिकका बाटा पनि बरामद गर्न सफल भएको छ । त्यस्तै, मंगलबार नै नेपालगन्ज–१६ बाट ९० हजार मूल्य बराबरको केकजेल, स्टिल बाटा, पानीको धारा सेट, चम्सा, मिठाई बट्टा नियन्त्रणमा लिई आवश्यक कार्यालयका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले तस्करी नियन्त्रणका लागि प्रहरी, प्रशासन सक्रिय रुपमा लागेको बताउँदै आएका छन् । यद्यपि, जिल्लामा तस्करी बढ्दै जाँदा पनि नियन्त्रणमा नलिएको आरोप प्रहरीलाई लाग्दै आएको छ ।