कारवाही, सचेतना र सुधारात्मक प्रयास सँगसँगै
बाँकेका ८१ वटै वडामा बन्यो समिति
भारतसँग सीमा जोडिएको बाँकेका लागि लागुऔषध नियन्त्रण सधै चुनौतिका रुपमा रहेको छ । दशकौंदेखि बढ्दै गएको लागुऔषधको जरो निर्मूल पार्न नसकेपछि प्रहरीले जिल्लामा लागुऔषध विरुद्ध महाअभियान थालेको छ । प्रहरीले लागुऔषध विरुद्ध कारवाही, नियन्त्रण र सुधारका लागि महाअभियान अन्तर्गत विभिन्न गतिविधिहरु गरिरहेको बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिएका छन् ।
बाँके प्रहरीले महाअभियान अन्तर्गत जिल्लाका ८१ वटै वडामा लागुऔषध विरुद्ध एउटा समिति गठन गरेको छ । ‘स्थानीय स्तरमा लागुऔषध प्रयोगकर्ता, कारोबारीको पहिचान गर्न तथा नियन्त्रणमा भूमिका निर्वाह गर्न समिति बनाइएको हो’, प्रहरी उपरीक्षक रानाले भने ।
स्थानीय जनप्रतिनिधिको समन्वयमा समिति बनाए प्रहरीले लागुऔषध विरुद्धको अभियानमा स्थानीय तह तथा नागरिक समाजलाई पनि जिम्मेवार बनाउने प्रयास गरिरहेको छ । ‘बाँकेका लागुऔषधको समस्या जटिल बन्दैछ, यसलाई निस्तेज गर्न प्रहरी एक्लैको प्रयासले सम्भव हुँदैन, त्यसैले जनप्रतिनिधिदेखि नागरिक समाजसम्मको भूमिका आवश्यक छ’, प्रहरी उपरीक्षक रानाले भने ।
प्रहरीले वडामा समिति बनाउने काम सके लगत्तै स्थानीय तहसँग अन्तरक्रिया गर्न थालेको छ । प्रत्येक स्थानीय तहका जनप्रतिनिधि, सो स्थानीय तह अन्तर्गत वडामा गठन गरिएका समिति, लागुऔषध विरुद्ध सक्रिय संघ, संस्था, स्थानीय अगुवा, विद्यार्थी, बालक्लब, महिला क्लब लगायतलाई सहभागी बनाएर प्रहरीले लागुऔषध विरुद्ध प्रहरी, समाज र स्थानीय तहले खेल्नुपर्ने भूमिका स्पष्ट पर्दै आएको छ । त्यसक्रममा बाँकेको खजुरा र नरैनापुरमा प्रहरीले अन्तरक्रिया गरिसकेको बाँके प्रहरी प्रमुख रानाले जानकारी दिएका छन् ।
वडामा गठित समितिले अब लागुऔषध प्रयोगकर्ताको नाम संकलन गर्ने, अभिभावकलाई सुधार्न प्रयास गर्न लगाउने, सुधार केन्द्रमा राख्न लगाउने कार्यमा सहजीकरण गर्नेछन् । आर्थिक अवस्था कमजोर भएकाहरुका लागि प्रहरीले निःशुल्क सुधार केन्द्रको पनि पहल गरिरहेको छ । प्रहरीले त्यसका लागि सरकारी भवन खोजी गरी प्रशासनसँग केही समय उपलब्धका लागि अनुरोध पनि गरेको छ । ‘सुधार केन्द्रमा खाना तथा प्रशिक्षणका लागि लाग्ने खर्चमा स्रोत जुटाउनका लागि स्थानीय तहलाई अनुरोध गरिनेछ’, प्रहरी उपरीक्षक रानाले भने । उनले लागुऔषध विरुद्धको अभियानमा एक्यबद्धता तथा सक्रियाका लागि नेपालगन्ज वा कोहलपुरमा बृहत कार्यक्रम गर्ने योजना रहेको समेत सुनाए ।
प्रहरीले विद्यालय तथा कलेज सञ्चालनमा आएसँगै विद्यालय स्तरमै एन्ट्रि ड्रग्स क्लब गठन गर्ने योजना समेत अघि सारिरहेको छ । खानेलाई सुधार्ने, कारोबारीलाई कारवाही गर्ने र अन्य कुलतमा नफसुन् भनेर सचेतनाका पाटोमा काम गर्ने बाँके प्रहरीको योजनामा रहेको प्रहरी उपरीक्षक रानाले बताए ।
बाँकेमा साढे ३ बर्षको अवधीमा ६ सय वटा बढी लागुऔषध सम्बन्धी मुद्दा प्रहरीले दर्ता गरेको छ । लागुऔषध नियन्त्रणका लागि छुट्टै यूनिट प्रहरीले खटाएको छ । प्रहरीको नियमित निगरानी, कारवाही र सुधारात्मक कदमका बीच पनि लागुऔषध कारोबारका घटनामा भने कमी आउन सकेको छैन ।
नेपालमा भारतबाट लागुऔषध आउने गर्दछ । अन्तर्राष्ट्रिय सीमा नाका बन्द रहेपनि लागुऔषध भने भित्री नाकाबाट भएपनि भित्रिरहेको प्रहरीले पक्राउ गरेका घटनाहरुबाट स्पष्ट हुन्छ । प्रहरीले चालु आ.व.को पाँच महिनामा मात्रै ६१ वटा मुद्दा जिल्लामा लागुऔषध सम्बन्धी दर्ता भएका छन् । गत आ.व.को सोही अवधीमा ९६ वटा लागुऔषधका मुद्दा प्रहरीमा दर्ता भएका थिए ।
बाँके प्रहरीको तथ्यांक अनुसार, आ.व. २०७४/०७५ मा १ सय ४७, आ.व. २०७५/०७६ मा २ सय ४९, आ.व. २०७६÷०७७ मा १ सय ५६ र चालु आ.व.का. मंसिर सम्म ६१ वटा लागुऔषधका मुद्दा प्रहरीमा दर्ता भएका छन् ।