प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचको घोषणा समेत आइतबार नै भयो । मन्त्रीपरिषद्ले प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने घोषणाको भने चौतर्फी आलोचना भएको छ । जनताले दुई तिहाईको बहुमत दिएको वर्तमान सरकार आन्तरिक विवाद र सत्ताको लालचमा फसेर जनमतको अपमान गरेको अधिकांसको भनाई छ । नेकपाकै अधिकांस नेताहरु जनतमको अपमान वर्तमान सरकारले गरेको भन्ने प्रतिक्रिया सञ्चारमाध्यममा दिएका छन् ।
राप्रपा कार्यसम्पादन समिति सदस्य समेत रहेका नेपाल नगर प्रमुख डा. धवल समशेर राणाले नेकपाको आन्तरिक झगडाले जनताको जनमत पचाउन नसकेको प्रक्रिया दिएका छन् । उनले यो अन्य पार्टीका लागि भने जनताको मत जित्ने अवसरको भएको बताए । ‘राप्रपाले त यो व्यवस्थालाई नै नस्वीकारेको अवस्था हो’, उनले भने, ‘जनमतको जुन अपमान भएको छ भविष्यमा जनताले तिनलाई अवश्य जवाफ दिनेछन् ।’
खजुरा गाउँपालिकाका अध्यक्ष समेत रहेका नेकपा बाँकेका सचिवालय सदस्य किस्मत कुमार कक्षपति भने सरकारलाई काम गर्न नदिने वातावरण सिर्जना भएपछि प्रतिनिधिसभा विघटनको बाध्यकारी अवस्था सिर्जना भएको हुनसक्ने बताउँछन् । ‘जनताले बहुमत दिएको हो, नेताहरु मिलेर जानु पर्ने हो तर सरकारलाई पार्टी भित्रै घेर्ने कार्यको परिणाम हो, यसको दोष सबैले लिनुपर्दछ’, उनले भने । अध्यक्ष कक्षपतिले वर्तमान सरकारलाई परिवर्तन गर्ने खेल सुरु भएपछि परिणाम प्रतिनिधिसभा विघटन बाध्यकारी अवस्था हुन सक्ने बताउँछन् । गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सचिवालय सदस्य समेत रहेका कक्षपतिले वर्तमान राजनीतिक घटना क्रमले स्थानीय तहलाई भने कुनै असर नगर्ने बताएका छन् ।
नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले प्रतिनिधिसभा विघटन कलंक भएको बताए । ‘जनताले नेकपालाई विश्वास गरेर जनताले बहुमत दिए, परिवर्तनको चाहना जनतामा थियो, तर परिवर्तनकारी शक्तिको हातमा सत्ता गएन, त्यसको विपरित रहेका पक्षधरको हातमा सत्ता गयो’, उनले प्रतिनिधिसभा विघटन प्रति धारणा राख्दै भने, ‘परिवर्तनका पक्षधर नेताले सुरुमै होस नपुर्याउँदाको परिणाम नेकपामाथि कलंक जोडिएको छ ।’ ठूलो संघर्ष, सहमतिबाट नेकपाले जनताबाट म्यान्डेट पाएपछि परिवर्तन विरोधीले त्यसको सम्मान नगरेको आरोप नेकपा बाँके अध्यक्ष खरेलले लगाए । उनले यसको प्रभाव पार्टीमा पर्ने र पार्टी फुटको संघारमा रहेको भन्दै चिन्ता व्यक्त गरे ।
नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले वर्तमान सरकारले जनभावनाको अपमान गरेको बताइन् । समृद्धि र विकासको नारा दिएर जनताबाट पाएको जनमतको कदर वर्तमान सरकारले गर्न नसकेको उनको भनाइ थियो । ‘प्रतिनिधिसभा विघटन असंवैधानिक रुपमा गरिएको छ’, उनले भनिन् ।
आम सर्वसाधारणले पनि जनताले दिएको जनमतको कदर गर्न नसकेको भन्दै वर्तमान सरकारको आलोचना गरेका छन् । स्पष्ट बहुमत पाएको सरकारले आफ्नो अवधीसम्म पूरा गर्न नसक्नु, वर्तमान कोभिडको संकटको समयमा देशलाई अर्को निर्वाचनमा झोक्ने निर्णय गरेको प्रति रोष समे प्रकट गरेका छन् । सामाजिक सञ्जालमा वर्तमान सरकारको तिव्र आलोचना समेत गरिएको छ ।