सर्वप्रथम त यो प्रष्ट हुन जरुरी छ कि यो व्यक्ति विशेषमाथि कटाक्ष नभएर मुद्दा विशेष जानकारीमूलक लेख हो । आजभोलिका मुस्लिमहरुले सेक्युलरिज्मको नाममा कुरान मजीदको सुरहः काफेरूनमा अल्लाहले फरमाउनु भएको आदेशलाई बिर्सेर इस्लामले वर्जित गरेका कृयाकलापहरु गरेर आफुखुशीका र मनगढन्ते कार्यहरु सुरु गरेछन् । त्यस्ता मानसिकता भएकाहरुले कुनै दिन रक्सी खाएर एक छिन् मात्तिनु त सेक्युलर हुनुको सामाजिक सहिष्णुताको उत्कृष्ट उदाहदण हो भन्न बेर छैन ।


अल्लाहले कुरानपाकमा र आफ्ना प्रिय पैगम्बर हजरत मोहम्मद सल्लाहो अलैहेवसल्लमका सुन्नत वा उहाँले दर्शाउनु भएको तरिकाहरुलाई अपनाएर इस्लामका सही तरिकामा चलेर सामाजिक सौहार्द र सहिष्णुता कायम गर्नु र गराउनु पर्ने आवश्यक छ । त्यस कारण आज हामी यसै विषयसंग जोडिएर कुराहरु साझा गर्नेछौं ।

सर्वप्रथम हामीले कुरा गर्छौं कि इस्लाममा कस्ता कृयाकलापहरुलाई वर्जित गरिएको छ । त्यसपछि सामाजिक सौहार्द भाईचारा र मानवता उत्कृष्ट कार्यहरु बारे चर्चा गर्नेछौं ताकि इस्लामलाई सही ढंगले नबुझेकाहरुलाई बुझ्न सहज होस् ।


सर्वप्रथम बुझ्नुपर्ने कुराहरु के छन् भन्दाखेरि इस्लामका आधारस्तम्भहरु के के हुन् । अनि इस्लाममा कुन कुरा किन वर्जित गरिएकोछ । इस्लामको पाँच आधारस्तम्भहरु मध्ये इमान, नमाज, रोजा, जकात र हज हुन् । जब इमान हुन्छ तब मात्र बाकीका चार आधार स्तम्भहरु नमाज, रोजा, जकात र हज पुरा गर्न सकिन्छ । मुसलमान हुनका लागि एकेश्वरवाद अर्थात एक अल्लाहमाथि आस्था र विश्वास हुनु नै इमान हुनु हो । तर यहाँ अति महत्वपूर्ण कुरा बारे जानकारी गराइदैंछ । हो मुसलमानले नमाज पढ्नछन्, रमजान शरीफको महिनामा रोजा बस्छन्, सम्पतिको अढाइ प्रतिशत दान अर्थात जकात दिन्छन् र आर्थिक अवस्थाले भ्याए हज गर्न जान्छन् । यी कार्य गर्नेहरुलाई नै मुसलमान भनिन्छ । तर यी धार्मिक कार्य तब मात्र गर्ने आदेश छ जब इमान पूर्ण होस् अनि यी कार्य गर्ने व्यक्ति पाक पवित्र हुनुपर्छ । अब तपाईले सोच्नुहोला की कस्तो पवित्रताको कुरा गरिदैंछ होला । इस्लाम धर्म मान्नेहरुको नुहाउने तरिका फरक हुन्छ शरीरमा सेम्पु साबुन आदि लगाएपछि त्यसलाई पखाल्न सफा पानी जति खन्याएर पनि पवित्र तब सम्म पवित्र मानिदैंन् जब सम्म शरीयतले भने अनुसार गुश्ल हुँदैन । उनीहरुले नुहाउँदा केही इस्लाममा गुश्लका लागि फर्ज गरिएका कुरा छुटाइयो भने पुरै समुन्द्रले नुहाइ हाले पनि पवित्र मानिदैन ।


अब जब व्यक्ति पवित्र मानिदैन भने उसले गरेका धार्मिक कार्य अराधना आदि मानिने त कुरै आउदैन । महिला वा पुरुष दुबैका लागि यो आदेश छ मेहन्दीको रंग बाहेक यदि शरीरमा कुनै बाह्य कुरा लागेछ भने गुश्ल अर्थात पवित्र हँुदैन जस्तै ः ट्याटु बनाउँदा शरीर भित्र जुन प्रवेश हुन्छ त्यो रंग, नङ पोलिश, सिन्दुर वा टीका आदि नुहाइ सक्दा पनि कसैको शरीरमा लागेछ त्यो व्यक्ति पवित्र मानिदैन । यी कुरा लगाएर न गुश्ल हुन्छ न त वजू नै हुन्छ । जब गुश्ल र वजू नभए नमाज रोजा हज कहाँबाट होला ।

हामी इस्लाममा वर्जित र अनिवार्य गरिएका कार्य बारे चर्चा गरिरहँदा शिक्षाको कुरा गर्न पनि आवश्यक छ । त्यो समुदायभित्र अशिक्षा कसरी घटोस् जहाँ सन्तानको शिक्षा भन्दा उसको विवाहमा लगानी गर्नुलाई गर्व ठान्दैछन् । हुन् त इस्लाममा शिक्षालाई यति महत्वपूर्ण मानिन्छ कि इस्लामको धर्मग्रन्थ पवित्र कुरानको पहिलो आयत (शब्द) इकरा अर्थात पढ भनि अवतरित भयो । इस्लाममा महिला पुरुष सबैलाई शिक्षा हासिल गर्न अनिवार्य भनिएको छ जसरी रोजा, नमाज, हज र जकात । तर बिडम्बना आज त्यही मुस्लिम समुदाय भित्र सन्तानको शिक्षा भन्दा उनको वैवाहिक समारोहका तामझाममा मंहगा सजावट, महंगा टेन्ट र लाईटिंग र दाईजोका लागि महंगा महंगा सरसामानको व्यवस्था गर्नुलाई आफ्नो गौरव ठानी त्यसैमा लगानी गरिन्छ । जबकि इस्लामले रियाकारी अर्थात देखावटीपनको कार्यलाई हराम भनिएको छ ।


शरीयते इस्लामले संसारिक जीवनलाई मृत्यु पश्चातको जीवनको तुलनामा निकै सुक्ष्म भनेछ । संसारिक जीवनको बारेमा भनिएछ कि यो संसार एक बजार हो जहां हामी एउटा ग्राहक भएर आएका छौं । अन्ततः हामीले फर्केर पुनः अल्लाह समक्ष नै जानुछ । तर मानिसहरु यो अति सानो जीवनलाई सहज बनाउन अनेक जतन गर्छन् यहाँसम्म कि विश्वास गर्नेलाई धोका दिन, झूठ बोल्न, सहीलाई गलत प्रमाणित गर्न, भ्रष्टाचार गर्न, बेइमानी गर्न, चोरी डकैती गर्न, अनाथहरुको सम्पतिमाथि कब्जा गर्न, हिंसाहत्या गर्न, अपहरण र बलात्कार गर्न समेत पछि पर्दैन । उनीहरुको दृष्टिमा जीवनमा अगाडि बढ्न आफ्नो फाइदाका लागि जे पनि गर्न उचित हुन्छ । जबकि इस्लामले यी सबै कुरालाई वर्जित गरेको छ ।


कलयुगको यो यस्तो समय चलिरहेछ कि मानिसहरु दुधमुखे बालकको मुखबाट उसको आहार खोस्न पनि पछि पर्दैन । जबकि शरीयते इस्लामले भन्छ कि यदि तिम्रो छिमेकी भोकै सुतिहाल्यो भने तिम्रो खाना हराम भइहाल्छ । यहां छिमेकीको अर्थ मुस्लिम मात्र होईन् त्यो छिमेकी हिन्दु, मुस्लिम, शिख ,इसाई र यहुदी कोही पनि हुन सक्छ । यदि ऊ भोकै रह्यो भने एउटा मुसलमानले हलाल (जयाज)कमाइबाट ल्याएर बनाएको खाना हराम हुने आदेश यस कारण दियो ताकि एकले अर्कोको मद्दत गरुन् । जसले गर्दा समाजमा मानवता र सामाजिक सहिष्णुता कायम होस् ।


आज मानिसले इष्र्याको सीमा यति सम्म पार गरिहाल्छन् कि कसैको सफलता देखेर सहन नसकेर उसको खुट्टा तान्न उसको बाटोमा बाधा खडा गर्न हर सम्भव प्रयास गर्छन् । हुन् त मानवता यो हो कि समस्यामा परेकाहरुको हात तान्नुपर्छ तर यहां त कोही मिहेनत गरेर अगाडि बढ्न खोज्छ भने उसको लागि समस्याको पहाड खडा गर्न उसको मिहेनत र कार्यलाई असफल बनाउन तिर बढी केन्द्रीत हुन्छन् । जबकि इस्लामले भन्छ कि समस्यामा परेका असहाय पीडित दीनदुखीहरुको सहयोग गर्नुपर्छ । यहाँसम्म कि शरीयते इस्लामले हिड्ने बाटोबाट ढुङगा हटाउनुलाई ठूलो पुण्यको कार्य भनेछ ।


गरीबका छोराछोरीलाई शिक्षा आर्जन गर्न उनीहरुको विवाह गराउन सहयोग गर्नुलाई ठूलो पुण्यको काम भनेछ । तर समाजमा के भइरहेछ भन्दा हेर्नुहुन्छ भने आफ्नो र आफ्नो सन्तानको प्रगति र उच्च शिक्षा आर्जन बाहेक अरुको बच्चालाई अगाडि बढेको देख्नै चाहन्दैन् कोही । अझ् विवाह गराउन सहयोग गर्नुको सट्टा उसको छोराछोरीको लागि आएकोलाई फकाएर कि त आफ्नो छोराछोरीको विवाह गरिदिन्छन् कि त उसको बारेमा नभएका अनाहक कुरा गरेर उसप्रति नकारात्मक विचार सृजना गरिदिन्छन् । जसले गर्दा विवाहमा बाधा उत्पन्न भइ विवाहमा रोक लागोस् । अझ् कोही त यति हद सम्मको घृणित मानसिकताका हुन्छन् कि कसैले छोराछोरीको विवाहमा सहयोग माग्न आउनेलाई चारथरी कुरा सुनाएर उसको मन नै दुखाउँछन् । जबकि कसैको चित्त दुखाउनुलाई पाप मानिन्छ ।


कसैले अलिकति गल्ती गर्यो कि हामी उसलाई सजाय दिन्छौं आफ्नै बच्चा किन नहोस् हामी उसको गल्ती अनुसार उसलाई सजाय दिनुलाई नै प्राथमिकता ठान्छौं । अझ आफुलाई मन नपर्ने व्यक्तिले गल्ती गर्छ भने उसको सानो गल्तीलाई बढाइचढाइ गरी उसले पाप गरे सरह अरु सामु बखान गरी त्यस गल्तीलाई प्रस्तुत गर्छौं । यद्यपि इस्लामले माफीलाई प्राथमिकता दिएको छ ।
त्यसकारण यदि साच्चिकै हामी सामाजिक सौहार्द र सहिष्णुता कायम गर्न चाहन्छौं भने इस्लामका तरिका अपनाएर गरौं । यहाँ यो विषयमा चर्चा गर्नुको आशय यो छ कि तपाईले गरेको कार्यले कसैलाई फाइदा पुगोस् उसको जीवनमा सकारात्मक परिवर्तन होस् भनी यस्ता कार्य गर्नुपर्छ ।


हुन त सिन्दूर लगाउनु सुहाग अर्थात विवाहितको चिन्ह हो र टीका धर्म कर्मको पहिचान हो । तर तपाई आफुले सिन्दुर र टीका लगाएर कसैको जीवनमा कुनै सकारात्मक परिवर्तन हुँदैन । तपाईले कसैलाई यस्तो सहयोग गरिदिनुहुन्छ जसले गर्दा उसको जीवन धन्य होस् उसलाई मद्दत पुगोस् । भन्नाले कसैको सुहाग अर्थात उसको पतिको उपचारमा सहयोग गरिदिनुभयो वा रोजगारीको व्यवस्था गरिदिनुभयो भने अवश्य उसको जीवनमा सकारात्मक परिवर्तन हुन्छ । तपाईले टीका लगाउँदा कसैको जीवनमा फरक पर्दैन तर तपाईको सहयोगले तपाईको मनोबल बढाउनले यदि ऊ निको भयो भने ऊ आफ्नो धर्मकर्म गर्न सक्षम हुन्छ । तपाईले कसैले गल्ती गर्दा उसलाई सजायको सट्टा माफी दिनुभयो भने तपाईप्रति उसको धारणा र उसको जीवन अनि मानसिकतामा सकारात्मक परिवर्तन निसन्देह हुन्छ । तपाईले मन्दिरमा घण्टी बजाउँदा वा दीप बाल्दा कसैलाई फरक पर्दैन तर तपाईले कसैको जीवनमा खुसियालीको गीत बजाउन कसैको जीवनमा उज्यालो भर्न यदि उसलाई शिक्षा हासिल गर्न सहयोग गर्नुभयो भने उसको जीवन, परिवार र अवस्थामा परिवर्तन हुन्छ । तपाईले पूजा गर्दा कसैको जीवन र व्यवहारमा फरक पर्दैन् तर पूजा गर्न बन्देज लगाईएको समुदायलाई स्वतन्त्र रुपले पूजा गर्न सक्ने अधिकार दिलाउन सफल हुनुभयो र उनीहरुलाई सहजता साथ पूजा गर्न सक्ने वातावरण तयार पार्न सफल हुनुभयो, भने उनीहरुको जीवनमा अवश्य परिवर्तन हुन्छ ।


त्यसकारण भनाइको अर्थ यो हो कि इस्लामले वर्जित गरेका कार्य स्वयं गर्नु सेक्युलरिज्म अर्थात धार्मिक र सामाजिक सहिष्णुताको उदाहरण कदापि होइन । यदि कसैले यस्तो कार्य गर्छ भने यसमा खासगरी उसको राजनैतिक फाइदा र नीजि स्वार्थ जोडिएको हुन्छ । किन भने जब कसैले मुस्लिम हुं भनेर त्यो कार्य गर्छ जसलाई इस्लामले वर्जित गरेछ भने तपाई आफै सोच्नु कि ऊ मुस्लिम कसरी र कुन आधारमा रहन्छ । यस कारण सामाजिक र धार्मिक सहिष्णुता कायम गर्न इस्लामले भने अनुसारका त्यस्ता कार्य गर्नुहोस् जसले गर्दा अरुको भविष्य सुनौलो होस् । जसले गर्दा अरुको जीवन सप्रियोस् । जसले गर्दा अरुको आचरण र व्यवहारमा सकारात्मक परिवर्तन आओस् । जसले गर्दा अरुलाई उसको कार्यमा सहजता होस् ।

प्रतिक्रिया

प्रतिक्रिया