केराउ तस्करी, भारतमा कोटा, अप्रत्याशित बढ्यो आयात

पछिल्ला बर्ष नेपालमा केराउको आयात ह्वात्तै बढेको छ । खासगरी भारत सरकारले भारतमा केराउ आयातमा कोटा निर्धारण गरेपछि नेपालमा केराउको आयात वृद्धि भएको तथ्यांकले देखाउँछ । नेपालमा तेस्रो मुलुकबाट आयात हुने केराउ नेपालमै उपभोग भन्दा भारत तस्करीका लागि आउने गरेका हो । नेपाल–भारत खुला सीमा रहेकाले तस्करीका लागि खासै ठूलो समस्या हुँदैन । तस्करहरु नाकाका भित्री गाउँमा केराउ भण्डारण गरी भारततर्फ तस्करी गर्दै आएका छन् । भारतमा माग र मूल्य बढी भएकाले पनि तेस्रो मुलुकबाट नेपाल भित्र्याएर भारत तर्फ तस्करी हुने गरेको छ । बाँके लगायत सीमावर्ती क्षेत्रबाट पटकपटक प्रहरीले तस्करीको केराउ समात्दै आएको छ । यद्यपि, घरायसी प्रयोजनमा पनि केराउ प्रयोग हुने भएकाले प्रहरीलाई केराउ समात्न र त्यस विरुद्ध कारवाही गर्न भने चुनौतिका रुपमा रहेको छ ।


तेस्रो मुलकबाट भारतमा हुने बिक्री मूल्य भन्दा सस्तो दरमा भनौं अनुदानकै रुपमा नेपाल केराउ आउने गरेको छ । नेपालमा ८० रुपैयाँ प्रतिकेजी रहेको केराउ भारतमा भने १ सय २० रुपैयाँ सम्म पर्ने गरेको छ । भारत सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न विदेशबाट केराउ आयातमा कोटा निर्धारण गर्दै आएको हो । आन्तरिक उत्पादन र कोटाबाट आयात हुने केराउले माग धान्न नसकेपछि नेपाल तथा भारतका व्यापारीले नै तेस्रो मुलुकबाट केराउ आयात गरी भारततर्फ तस्करी गर्ने गरेका हुन् । केराउ बाहेक मरिच र सुपारी पनि तेस्रो मुलुकबाट आयात गरी भारत तर्फ तस्करी हुने गरेको छ । कानुनतः तेस्रो मुलुकबाट आयातित सामाग्री पुनः अर्को देश निकासी गर्न पाइँदैन । त्यसैले पनि भारतमा अभाव हुने वस्तु नेपाल ल्याएर तस्करीबाट भारत पुग्ने गरेको हो भन्सारका अधिकारीहरु बताउँछन् ।


गत आ.व. २०७६/०७७ को चार महिना चार महिना लकडाउन भयो । तर, पनि २०७५/७६ को तुलनामा आ.व. २०७६/०७७ मा ९९ प्रतिशतले केराउ आयात वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।


भन्सार विभागको तथ्यांक अनुसार, पछिल्लो ४ बर्ष ४ महिनामा ४४९,५०७ मेट्रिक टन केराउ आयात भएको छ । जुन नेपालको जनसंख्या ३ करोडलाई आधार मानी हिसाब गर्ने हो भने प्रति व्यक्ति १५ केजी पर्न आउँछ । उक्त केराउको मूल्य भन्सारले १ हजार ९ सय ६७ करोड निर्धारण गरी २ सय ५३ करोड राजश्व समेत असुल गरेको छ ।


भन्सार विभागको तथ्यांक अनुसार, आ.व. २०७३।०७४ को तुलनामा आ.व. २०७६।०७७ मा केराउ आयात ३८० प्रतिशतले बढेको छ । आ.व. २०७५।०७६ मा भारतले केराउ आयातमा कोटा मार्फत आयात परिणाम नियन्त्रण गरेपछि नेपालको केराउ आयात १७३ प्रतिशतले बृद्धि भएको देखिन्छ ।


नेपालमा वस्तु आयात गर्दा त्यसको भुक्तानी डलरमा गर्नुपर्दछ । तर, भारत निर्यात हुँदा अवैधानिक बाटोबाट भारतीय मुद्रा मात्रै आयात हुन्छ । यो राष्ट्रका लागि अर्को नोक्सानी हो । अझ नेपालका लागि अनुदानमा आउने मालसामान अर्को मुलुकमा सोही अवस्थामा निर्यात गर्नु पनि उचित नभएको सम्बद्ध अधिकारीहरु बताउँछन् ।

नेपालबाट अवैध निकासी भई भारत पुग्ने मुख्य वस्तु कुनै बेला सुपारी थियो । सुपारीको पैठारीमा सरकारले महँगो शुल्क लिन थालेपछि भारतमा भन्दा नेपालमै महँगो पर्न थाल्यो । र, निर्यात नियन्त्रणमा आयो । सुपारीको आयात हाल स्वदेशका गुट्खा उद्योगमा आपूर्ति गर्ने उद्देश्यले बढी भएको छ । सुपारीपछि सुकुमेलको भारत तस्करी निकै फस्टायो । सुकुमेल भारतमै सस्तिएपछि यसको कानुनी पैठारी गरेर गैरकानुनी निकासी गर्ने क्रम पनि सेलाएको छ । सुकुमेलपछि मरिच पैठारी गरेर भारत पठाउन थालियो । तर अन्तर्राष्ट्रिय बजारमा मरिचको मूल्य खस्किएका कारण यसको कारोबार हौसिन सकेको छैन । सुपारी, सुकुमेल र मरिचको कारोबारमा सुस्तता देखिए पनि हरियो केराउको कारोबार भने मौलाएको पाइएको छ ।


तराई क्षेत्रका सबैजसो सीमा नाकाबाट भारततर्फ केराउको अवैध निकासी हुने गरेको छ । नाफा कम भएको वस्तु भएकाले यसको संस्थागत तस्करी नभएको स्रोतको दाबी छ । तर, अधिकारीहरुको यो भनाई भने विश्वसनीय मान्न सकिन्न । यसै बर्षको भदौंमा नवलपरासीमा ट्रकमै भारत तस्करीका लादिएको २९ लाख मूल्य बराबरको केराउ समातिएको थियो । बाँकेमा पनि बेलाबेला केराउ समातिन्छ । ठूलो परिणाममा तस्करीमा समस्या भएपछि सीमावर्ती क्षेत्रमा भण्डार गरी सानो परिणाममा क्यारिङ्ग मार्फत केराउ भारत तस्करी हुने गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया