बाँकेमा सय बढी कोडिभ संक्रमितको मृत्यु

बाँकेमा सय बढी कोभिड संक्रमितको मृत्यु भैसकेको छ । बाँकेमा जिल्ला बाहिरका सिकिस्त कोभिड संक्रमित पनि उपचारका लागि आउने गरेका छन् । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार, बाँकेमा बाँकेमा ४१ र बाँके बाहिरका ६८ जनाको कोभिडका कारण मृत्यु भएको छ । शनिबार राती मात्रै नेपालगन्ज उपमहानगरपालिकाका शाखा अधिकृत दान बहादुर विष्टको मृत्यु भएको छ । बिहीबार कोरोना पुष्टि भएका उनको भेरी अस्पताल नेपालगन्जमा उपचारकै क्रममा मृत्यु भैसकेको छ ।


पछिल्लो समय कोभिडका सिरियस बिरामीलाई रेम्डिभिसिर तथा प्लाज्मा थेरापी दिइने गरेको छ । प्लाज्मा पूर्व कोभिड संक्रमितबाट लिइने भएकाले निःशुल्क रहेको छ । तर, रेम्डिभिसिर भने ‘ब्ल्याक मार्केट’बाट खरिद गर्नुपर्ने अवस्था छ । उपचारका लागि आवश्यक औषधी समेत बिरामी आफैले जोहो गर्नुपर्छ ।


लक्षण बिनाका संक्रमितलाई कोभिड केही होइन भने जस्तो लागेपनि लक्षण सहितका बिरामीलाई यसले निकै गाह्रो बनाएको छ । कोरोना एक पटक लागेपछि अर्को पटक दोहोरिदैन भन्ने पनि भ्रम मात्रै हो । बाँकेका पत्रकार खगेन्द्र दाहाल एक पटक कोरोना निको भई प्लाज्मा दान गरेपछि पुन कोरोना पोजेटिभ भएका छन् । लक्षण सहितको कोरोना भएका उनी भन्छन्, ‘कोरोना निकै जटिल छ धेरै दुख पाइयो ।’ पहिलो पटक संक्रमित हुँदा उनमा लक्षण नभएपछि होटलमा हाइसोलेसनमा बसेका थिए । दोस्रो पटक श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए ।

पत्रकार दाहाल मात्रै होइन लक्षण सहितका संक्रमितलाई कोरोनाका कारण निकै स्वास्थ्य समस्या झेल्नु परिरहेको छ । कतिपयको उपचारमै मृत्यु हुने गरेको छ । हाल सबै क्षेत्र करिब खुलिसकेको अवस्थामा कोरोनाको जोखिम बढ्दै गएको छ । तर, सुरक्षा मापदण्डमा भने लापरवाही भैरहेको पाइन्छ ।


नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर आफै पनि कोरोना संक्रमित भएकी थिइन् । हाल कोरोना निको भएकी उनले प्लाज्मा दान समेत गरेकी छन् । ‘कोरोनाको जोखिम छ, तर त्यही कारणले घरभित्रै बसिरहन सक्ने अवस्था रहेन’, उपप्रमुख थापा भन्छिन्, ‘त्यसैले सुरक्षा मापदण्डमा लापरवाही नगर्नु कोरोनाबाट बच्ने प्रभावकारी उपाय हो ।’


कोरोनाका कारण नेपालगन्ज उपमहानगरपालिकाले १ जनप्रतिनिधि र २ जना कर्मचारी गुमाइसकेको छ । जनप्रतिनिधिहरु पनि संक्रमित भैरहेका छन् । स्वास्थ्यकर्मी, प्रहरी, कर्मचारी लगायत कोरोना संक्रमित भएका छन् । सामाजिक दुरी र सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना नगर्दा तथा गर्न सक्ने अवस्था नरहँदा पनि कोभिड फैलिरहेको हो ।


नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर जोखिम भएपनि नियमित काम भने नरोकिने बताउँछिन् । शाखा अधिकृतको निधनका कारण शोकमा आइतबार बन्द रहेको कार्यालय आज सोमबारबाट पुन सञ्चालनमा आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया