नेपालमा सडक आन्दोलनको पीडादायी इतिहास हेर्ने हो भने कहाली लाग्दो छ । बिगतका सत्तरी बर्ष त नेपालले सडकबाट मात्रै प्रयोग खोजेको छ । राणाशासन देखि अहिलेको नेकपा शासनसम्म नेपाली जनताले राखेको अपेक्षा ठ्याक्कै यहि हो र यसमा यो काम भयो या भएन भनेर आजसम्म यी थुप्रै आन्दोलन हाँकेकाहरुले भन्न सकेका पनि छैनन् भने काम गरेर नै नेपाली जनताको अपेक्षा पुरा गर्ने त झन कुरै आएन । नेपाललाई आजसम्म कसैले पनि नेपाल बनाउँछु भनेर भनेको सुिनएन । सधैं नेपाललाई सिँगापुर, स्वीजरल्याण्ड आदी इत्यादी बनाउँछु भनेर सपनाका कुटिराहरु बाँड्नेहरुको हालिमुहाली रहि रह्यो । तर उनीहरुका बिकासे सपनाका पोकाहरुमा न हिजो नेपाल थियो न आज छ ? यो मात्रै नदेखे नसुनेको परीको कथा हालेर आकाशको चन्द्रमा झार्ने कथा जनतालाई सुनाउने अति महत्वकाँक्षी बनाउने र पटक पटक सडकमा आइ रहन बाध्य बनाउने अनि त्यहि अस्थिरताको वातावरणमा सधैं आफ्नो राजनीतिक दोकान चलाउने, नेपाललाई नीहित स्वार्थका लागि दोहन गर्ने काम भै रहेको छ ।


अहिले सडकमा हिजो प्रजातन्त्र खायो, बहुदल खायो, हाम्रा सब अधिकार खायो भनेर दिल्ली र यूरोपियन यूनियनका कुना कन्तरामा बसेर योजना बनाउनेहरु र तीनका सन्तानहरु राजा आउ भन्दै उफ्रिएका छन् । रसिया र चीनबाट फोटोकपी गरेर ल्याएका पान्नाहरुले नेपाललाई स्वीट्जरल्याण्ड र सिँगापुर बनाउने कथाहरु मिथ्या हुन थाले पछि अर्को बबन्डर मचाएर आफ्नो गल्ती ढाकछोप गर्ने प्रयत्न गर्दै छन् । आफु घर बसेर छोराछोरीलाई सडकमा पठाउने कथति कामरेहरुको सबैभन्दा चर्को स्वर आज सडकमा सुनिएको छ । अनि कतिपय बुद्धिजिवीहरु नेपाललाई हिन्दूराष्ट्र बनाउन जनमत संग्रह गर्नु पर्छ भनेरसडकबाट नागरीक सरकारको अलाप पनि गर्दै हिँडेको सुनिन्छ ।


नेपालमा अहिले चलेको भनेको राजा आउको जरो कहाँसम्म पुगेको छ भन्ने कुरा त समयले नै स्पष्ट पार्ला तर यसबाट प्राप्त के हुन्छ भन्ने बारेमा भने कसैसँग ठ्याक्कै उत्तर पाइँदैन । वर्तमान सत्ताको मझेरीमा राँइफाँइ गरेर बु्रकुसी मारेकाहरुका भने यत्ति कै मा मुटु पोलेको छ । कतै आफ्नो खाइपाइ आएको रजगजमा घुनपुत्लो लाग्ने हो कि भनेर आफ्ना झिमौरी र अरिङ्गालका गोलामा ढुङ्गा हान्न शुरु गरिसकेका छन् । लौन अब मेरो मात्रै होइन तिम्रा पनि बलेंसीमा आउने भए केहि त गर भनेर बैठकका शिलसिला पनि चलेका छन् ।


देशमा आजसम्म आएका जतिपनि तन्त्रहरुलाई नियाल्ने हो भने नेपालको वैदेशिक मामिला देखि देशलाई दिर्घकालिन हित हुने किसिमका स्वतन्त्र रुपमा आन्तरिक विकास भएको भनेको पञ्चायतकालमा नै हो । त्यो पनि २०४० उता मात्रै । त्यस यताका सबैतन्त्रमा देखिएको भनेको परतन्त्रता र गुलामबाद नै हो । यी ३७ बर्षमा त नेपालको हरेक क्षेत्रमा तेजोबध गर्ने मात्रै काम भएको छ । नेपालीत्वको चीरहरण गर्ने मात्रै काम भएको छ । नेपाली मौलिकतालाई नियोजित रुपमा नै सत्तोसराप गर्न मै आफुलाई गौरवान्वित मान्ने र सभ्य भएको डिङ्ग हाँक्ने काम भएको छ ।

अहिलेराजा आए पछि देश फेरि बचिहाल्छ भन्नेहरुसँग कुनै पत्यारलाग्दो उत्तर छैन । हिजो एकाध दर्जन मान्छे लिएर रत्नपार्कका छेउछाउमा लाठी खानेहरु आज फेरि राजाको बुइ चढेर अहिले तर मार्नेहरुको बटुको खोस्छौं भन्दै गर्दा हिजो त्यहि राजाले माखो मार्न नसकेको इतिहास पढेर सुनाउने आँट गर्दैनन् । तीन करोड जनताको देशमा पन्ध्र प्रतिशत जनता पनि सडकमा नआउँदै आत्मसर्मपण गरेका राजा आज पनि मन्दिरतिर जाने बाहेक यिनीहरुलाई घाँस हाल्न तयार भएका देखिँदैनन् । हिजो उनै राजाले पुर्नस्थापित गरिदिएको संसदमा टीका लगाएर ज्यानमाराहरुलाई भित्र्याएकाहरुले सडकका जनताले नमागेको कुरा ल्याउन कसैको इसारामा अँध्यारा कोठामा बसेर बीना वैध तरिकाले राजतन्त्र फालेको कुरालाई सर्मथन गर्ने राप्रपा उनीहरुसँगै चोचोमोचो जोड्दै सरकारको मन्त्री खान दौडेको यति छिटो बिर्सिसकेका होलान् भन्न कसरी सकिन्छ र ? झण्डै अढाइ सय बर्षको इतिहास बोकेको संस्थालाई कु गरेकाहरुको बिरोधसम्म पनि गर्न नसकेकाहरु नै आज तीनै राजालाई गद्दीमा ल्याएर राख्छौं भनेको कसरी पत्याउँछन् राजाले ?


जहाँसम्म हिन्दूराष्ट्रको कुरा हो यसमा कुनै कसैसँग बिमती राखी राख्न पर्ने कारण छैन । नेपाल त हिन्दू मात्रै होइन समस्त सनातनको केन्द्रबिन्दु नै हो । वेदभूमि, तपोभूमि नेपाल त बौद्ध, किराँत, जैन र बोन धर्मको पनि मूल भूमि हो । यसमा यी पाँचवटै धर्मका अनुयायीहरुले मज्जाले गर्व गर्ने ठाउँ छ । यहाँको सँस्कृति र सभ्यता नै यिनै धर्मका देन हुन । यो भूमिको सृजना कुनै पनि यी पाँचवटा धर्म बाहेककाहरुको उपज होइन । तर यहाँको वास्तविकता, यहाँको मौलिकता, यहाँको गर्विलो इतिहास मेटाउन राजनीति गर्नेहरु देखि विदेशी सभ्यतामा रमाउँदै उतैको कलो खानेहरु समेत लागेका छन् । यहाँको सहृदयतामा कित्ताकाट र घृणाबादको बनमारा रोपेर नेपालको हितैषी बनेको या राष्ट्रभक्त बनेको पतलुन खोलेर कट्टू माथि कण्ठलँगोटी (टाइ) र कोट लाए जस्तै देखिएका छन् ।


केहि चर्चको रहोकरममा पढेकाहरु भने निकै उत्ताउलो बन्दै नेपाली सभ्यतालाई गाली गलौच नै गर्ने पाखण्डको पराकाष्ठामा पुगेका छन् । उनीहरु भन्दै छन् कि यहाँ त हिन्दूराष्ट्र हुनै सक्दैन । मेरो त्यस्ता उत्ताउलाहरुलाई प्रश्न छ कि के यहाँ हिन्दू राज्य नभए यूके र अमेरिकामा हुन्छ त ? यि महासयहरु बसेकोदेशहरुकोराष्ट्रप्रमुख चर्चको संरक्षक भएको कस्तो व्यवस्था हो त ? बुझेका छैनन् नेपाली जनताले भन्ने भ्रम छ यिनीहरुलाई र ?

संसारका दूइ अर्ब हिन्दूको आस्थाको देश यो पवित्र भूमि नेपाल बन्दा यस्तालाई किन टाउको दुखाइ भएको ?यी दलालहरूलाइ मिर्ची किन लाग्छ कुन्नी ? संसारका आधा सय बढि इस्लामिक देश र त्यो भन्दा बढि इसाइ देश हुँदा यिनीहरुलाई त्यहाँ धर्मको कुरा देखिँदैन अनि केहि लाख मात्रै जनसंख्या भएको इजरायल यहुदीको देश हुँदा यिनीहरुलाई धर्म देखिँदैन । अनि इस्लामिक देशहरूबाट हिन्दु बौद्द धर्मालम्बिहरूको राज्यद्धारा नै बिस्थापन र तेजोबध गरिँदा एक शब्द निकाल्न नसक्ने पाखण्डीहरुले नेपालको बारेमा चर्चमा बसेर टिप्पणी गर्न सुहाउँदैन । नेपाल वेदभूमि हो, त्रिपिटक र मुन्धुम भूमि हो । ज्ञानको सागर यहिँको संस्कृतिबाट संसारमा फैलिएको हो भन्ने कुरा यिनका अकाहरूले समेत स्वीकार गरिसके तर यी तिनैको कलो खानेहरूलाई किन नपचेको ?यसमा सबैले सोच्नै पर्छ । धर्म निरपेक्ष भन्ने कतै हुँदैन । पन्थ निरपेक्ष भन्ने शब्दलाइ बङ्याउने ? के यी महासयहरुले इजरायललाई धर्मनिरपेक्ष बनाउनु पर्याे भनेर या अरबियन देशहरूमा हिन्दु बौद्दको अधिकार स्थापित गराउनु पर्याे भनेर भन्न सक्छन ? चुनौती छ यिनलाईत्यहाँको भूमिमा सार्वजनिक रुपमा उभिएर यो बोलेर या गरेर देखाउन । धेरै त के कुरा अरबियन देशमा बीना हलालको मासु काटेर देखाउन पनि चुनौती छ ?के नेपाल मात्रै भेटियो दुनियाँको प्रयोगशाला बनाउने ठाउँ ? के नेपालले आफ्नो मूल भुमिमा भएका धर्म , सँस्कार , सँस्कृति र सभ्यता बचाउन तिमीहरू जस्ता भुइँफुट्टा दलालहरूसँग अनुमति लिनु पर्ने हो ?
नेपालमा धेरै भयो अति भयो नेपालीत्वलाई गाली गलौच गरेको । अति भयो नेपालको पुर्नजागरणका प्रणेता पृथ्वीनारायण शाहलाई अपमान गरेको । उनैको पौरखमा बसेर, हुर्केर मोटाएर साँढे भएर उनकै शालिक तोड्दा गर्व गर्दै कसरी लाज पचाएर अनुहार देखाउँछन् भन्न सकिन्न ।


राजा फर्काउन जतिसुकै भजन गाए पनि नेपालमा राजा आउने र नआउने कुराले त्यति महत्व राख्दैन । हिजोका पञ्चहरु नै आजका गण्तन्त्रे भएका छन् । भोली यिनै राजतन्त्रको भखारीमा डाँकाहाल्न सबैभन्दा अगाडी आउँदैनन् भन्ने ग्यारेन्टी कहाँ छ अहिले उफ्रिनेहरुसँग ?यसका जतिसुकै खोटहरु होलान तर देश अब संघीयताबाट पछाडी फर्कन सक्दैन । नेपाल त दौडाएर या तलवार चलाएर जितेकालाई राजा बनाउने देश हो । यहाँ जनताले छानेर राजा राख्ने गरेका ऐतिहासिक दृष्टान्तहरु छन् । अनि कुपुत्रहरुलाई राजा बनाउनै पर्ने परम्परा फर्किन पर्छ भन्ने कुरा कसरी भन्ने ? अहिले भएका झण्डै चालिस हजार छोटे राजाहरुको मैखाना एउटा राजा आउँदैमा बन्द भैहाल्नेवाला पनि छैन । आज गणतन्त्रे नर्तकी भएर धन्दा गर्ने यी चालिस हजारले भोली दरबारीया नर्तकी भएर फेरि धन्दा चलाउने नै छन् । के दुइबर्ष पछि फेरि सडकमा आउने हो ? कहिलेसम्म सडकमा धाइरहने हो ? कुनै जवाफ छ त ?


त्यसैले आवश्यकता भनेको मुख्यत चारवटा क्षेत्रमा काम गर्नु पर्ने हो । (१) नेपालको मौलिक धर्म, सँस्कार, सँस्कृति र सभ्यताको क्षेत्र । (२) नेपाल केन्द्रित शिक्षा, सिप, भाषा, कला र साहित्यको क्षेत्र । (३) नेपाली आवश्यकता र यहाँ कै मलजलमा हुर्केको अर्थतन्त्र, उद्यमशीलता, रोजगारी र मौलिक कृषिको क्षेत्र । (४) नेपालको मुख्य आधार रहेको यो माटोको कसममा बाँधिएको यो धर्तीलाई सर्वाेपरि मान्ने राजनीति, राज्यतन्त्र, शासन, प्रशासन, सुरक्षा र न्याय को क्षेत्र ।


यति चारवटा क्षेत्रका आधारशीलाहरु नेपालकेन्द्रित भएर विस्तारित गर्न सकेमा मात्रै नेपालको जय कल्याण सम्भव छ । नैतिकता दीन इमान बेचेर अर्काको नक्कलमा खडा गरिएको समृद्धिका कथाहरु दिर्घकालसम्म रहन सक्दैनन् । विश्व इतिहासले देखाएको परिणाम पनि यहि हो । मात्रै एउटा असफल भै सकेका राजा फर्काउँदैमा शीतल निवास त खाली होला तर बाँकी सबै रहने भनेको उस्तै नै हो ।

प्रतिक्रिया

प्रतिक्रिया