भ्रष्ट फसाउन अख्तियारको स्टिङ्ग, निगरानी पछि कार्यालय बाहिर घुस

कुनै बेला सरकारी कार्यालयका कर्मचारीले कार्यालयमै हाकाहाकी घुस माग्थ्ये । कागजी प्रक्रियाको कमी तथा कानुन विपरितको कार्य गर्नका लागि कर्मचारीले कार्यालयमै घुस लिने गरेका थिए । अख्तियारले सरकारी कार्यालयमा निगरानी बढाएपछि कार्यालयमै घुस लिने कार्यमा कमी आएको छ । कार्यालयमा घुस लिन छाडेपनि घुसमा भने कमी आउन सकेको छैन । अख्तियारको डरले कार्यालय बाहिर नै घुस लेनदेन भैरहेको पाइन्छ । अख्तियारले पछिल्ला दिन पटकपटक कार्यालय बाहिर नै रंगेहात घुस सहित कर्मचारीलाई पक्राउ गर्दै आएको छ ।


कार्यालय बाहिर घुस लिन थालेपछि अख्तियारले पनि सोही अनुसार आफ्नो रणनीति बदलेको छ । अख्तियारले भ्रष्ट कर्मचारीलाई ट्रयापमा पार्न स्टिङ्ग अपरेशनलाई प्राथमिकता दिने गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान बुटवलको सम्पर्क कार्यालय नेपालगन्जले तीन बर्षमा २९ वटा स्टिङ्ग अपरेशन गरेको छ । आ.व. २०७४÷०७५ देखि २०७६÷०७७ सम्म अख्तियारले बाँकेमा १५ वटा स्टिङ्ग अपरेशन गरेको छ । सोही अवधीमा बर्दियामा ७ र दाङ्गमा ६ वटा स्टिङ्ग अपरेशन गरी भ्रष्ट कर्मचारीलाई रंगेहात पक्राउ गरिएको छ । चालु आ.ब.को हालसम्म ३ वटा स्टिङ्ग अपरेशन भइसकेको अख्तियारले जानकारी दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख भेषराज रिजाल सरकारी कार्यालयहरुमा भ्रष्टाचार नियन्त्रणका लागि निगरानी राखिरहेको बताउँछन् । ‘कानुन विपरित भ्रष्टाचारको कार्य कार्यालय भित्र होस् वा बाहिर हामीले नियन्त्रणमा लिइरहेका छौं’, उनले भने ।

गत आ.व.मा ४४ प्रतिशत मुद्दा फस्र्यौट

अख्तियार दुरुपयोग अनुसन्धान बुटवलको सम्पर्क कार्यालय नेपालगन्जले गत आ.व. २०७६÷०७७ मा ४४ प्रतिशत भन्दा मुद्दा फस्र्यौट गरेको छ । अख्तियारका अनुसार, ४४.३५ प्रतिशत मुद्दा फस्र्यौट भएको जानकारी दिएको छ । उक्त आ.व.मा ५ सय ७५ उजुरी परेका थिए जसमध्ये २ सय ५५ वटा उजुरीको छानविन सकिएको हो ।


अख्तियारमा आ.व. २०७५÷०७६ मा ५ सय ४२ वटा उजुरी परेकामा ३ सय १६ वटा उजुरीको छानबिन भई फस्र्यौट भएको छ भने आ.व. २०७४÷०७५ मा ६ सय १ उजुरी मध्ये ४ सय २९ अर्थात् ७१.७८ प्रतिशत फस्र्यौट भएका छन् ।


त्यसैगरी चालु आ.व.को कात्तिक मसान्तसम्म यस कार्यालयमा ५१५ उजुरी दर्ता भई १०२ उजुरी अर्थात १९.५ प्रतिशत उजुरी फछ्यौट भइसकेको छ । बाँकी उजुरीको अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख भेषराज रिजालले बताएका छन् । विस्तृत अनुसन्धान तर्फ चालु आ.व. मा ५६ वटा उजुरी मध्ये ४ वटा उजुरीको अनुसन्धान तहकिकात कार्य सम्पन्न भई आयोगमा पेश भईसकेको र बाँकी ५२ उजुरी उपर अनुसन्धान भईरहेको अख्तियारले जानकारी दिएको छ ।

‘नैतिकवान भए भ्रष्टाचार नियन्त्रण’

भेषराज रिजाल
कार्यालय प्रमुख
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल
सम्पर्क कार्यालय नेपालगन्ज

भ्रष्टाचारीले तरिका बदले कसरी कारवाहीको दायरामा ल्याउनुहुन्छ ?
अख्तियारले सरकारी कार्यालयमा निगरानी बढाएपछि कार्यालयमै हुने भ्रष्टाचार घटेको छ । तर पनि कार्यालय बाहिर अनैतिक रुपमा भ्रष्टाचार गर्ने कार्य भैरहेको छ । त्यसलाई कारवाहीको दायरामा हामीले प्रविधिको प्रयोग गरेका छौं । स्टिङ्ग अपरेशन त्यसमा प्रभावकारी भैरहेको छ । हाम्रो रणनीति पनि बदलेका छौं । निगरानी थप बढाएका छौं । भ्रष्टाचारको उजुरी तथा शंकास्पद ठाउँमा हाम्रो निगरानी र कारवाही जारी रहेको छ । हामीले सूचना प्रविधिको प्रयोग समेत गरिरहेका छौं ।

स्टिङ्ग नै भ्रष्टाचार नियन्त्रणको उपाय हो त ?
होइन, स्टिङ्ग अपरेशनले दोषीलाई कारवाहीको दायरामा ल्याउने हो । यसले भ्रष्टाचार निमूल पार्छ भन्ने होइन । भ्रष्टाचार निमूल पार्न सेवाग्राही र कर्मचारी नै जिम्मेवार नागरिक बन्नु पर्छ । नैतिकवान हुनुपर्छ ।
आयोगले खासगरी तीन वटा काम गर्छ । दण्डात्मक, प्रवद्र्धनात्मक र निरोधात्मक । पहिलो भ्रष्टाचारको उजुरी लिने, छानविन गर्ने र कारवाहीका दायरामा ल्याउने । दोस्रो भ्रष्टाचार विरुद्ध प्रवद्र्धनात्मक कार्य गर्ने, जनचेतना जगाउने । तेस्रो भनेको निरोधात्मक, त्यसमा आफैले निगरानी गर्ने, निरीक्षण गर्ने, कारवाहीका लागि सम्बन्धित निकायमा पठाउने तथा नीतिगत सुझाव दिने काम पर्दछ ।

नियन्त्रणको प्रभावकारी उपाय ?
भ्रष्टाचार नियन्त्रणको प्रभावकारी उपाय भनेको जनता आफै सचेत हुनु हो । कर्मचारी नैतिकवान हुनुपर्छ । सेवाग्राहीले आफ्नो काम गराउनका लागि घुस दिनु र कर्मचारीले कानुन विपरित कार्य गर्न आर्थिक लाभ लिनु दुवै भ्रष्टाचार हो । यस्तो पाइएमा दुवैलाई कारवाही हुन्छ । तर, अधिकांस घटनामा सेवाग्राही नै घुसको उजुरी लिएर आउने गरेका छन् । भ्रष्टाचार निर्मूल पार्न कर्मचारी तथा सेवाग्राहीले आफ्नो सोंच परिवर्तन गर्नुपर्छ । कर्मचारीले घुस लिन्न, अनैतिक काम गर्दिन तथा सेवाग्राहीले कानुन अनुसार आफ्नो काम गराउँछु, घुस दिन्न भन्नेमा प्रतिबद्ध हुनुपर्छ ।
पछिल्ला दिन अनलाइन सिष्टम, नागरिक बडापत्र लगायतले पनि घुस लिने, दिने कार्यमा कमी आएको छ ।


अन्त्यमा
मुख्य कुरा सचेतना जरुरी भयो । सचेतना र जागरण भयो भने घुस लिनु हुँदैन, दिनु हुँदैन भन्ने चेत मानिसमा हुन्छ । यसले आयोगको उद्देश्य पूरा हुन्छ, सभ्य समाज बन्दछ ।

प्रतिक्रिया

प्रतिक्रिया