विश्व भरी नै महिलाहिंसा विरुद्ध १६ दिने अभियान मनाइ राख्दा हामीले ती महिलाहरुको कुरा मात्र गर्छौं जो कुनै न कुनै देशका नागरिक हुन्छिन् । उनीहरुको समस्या र उनीहरुमाथि हुने हिंसाको चर्चा गर्छौं । तर आज यहां यस्ता महिलाहरुका बारेमा चर्चा गर्न आवश्यक छ जो महिला भौगोलिक पहिचान बिहीन छिन् । उनीसंग राष्ट्रीयता दर्शाउने कुनै चीज छैन् । कुनै देशको नागरिकता नै छैन् जबकी उनको जन्म नेपालमै भएको छ ।

हुन त विभिन्न संघ संस्थाहरुले बेलाबेलामा तलाकी महिला, एकल महिला, हिंसापीडित महिला र एसिड अट्याक पीडित महिला भनेर शीर्षकमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गर्छन् । तर पहिचान बिना बाच्दै गरेकी यी महिला बारे न त कुनै संघसंस्थाले पहल गरेछ न त उनीहरुको बारेमा सरकारले कुनै चासो र चिन्ता व्यक्त गरेछ । अरु त के गरौं यहां सम्म कि अहिले ती महिलाहरु बारे कहीं कतै सरकारी तथा गैरसरकारी निकायमा कुनै अभिलेख पनि छैन् ।

हामीले विश्व स्तरमा हेर्ने हो भने देश भनेको भौगोलिक हिसाबले छुट्टियाइएको भूभाग वा सिमाकंन गरिएका क्षेत्र हो । राष्ट्र भनेको त्यो भुमीभित्र बसोबास गर्ने व्यक्तिहरुको राष्ट्रीय पहिचान हो । तर नेपाल अधिकांश यस्ता नेपाली चेलीहरु छिन् जो भौगोलिक पहिचान बिहीन छिन् उनीसंग कुनै राष्ट्रीयताको पहिचान छैन् । यी तिनै चेलीहरु हुन् जसको विवाह नेपाल र छिमेकी मुलुक भारतमा गरियो । वंशलाई अगाडि बढाउने र एक अर्काको सहयोगी भइ सुखदुखमा साथ  दिन विवाह हुनु र गर्नु प्रकृतिको नियम हो । तर विवाह गरेर माइतमा छोड्ने , सम्बन्ध विच्छेद गर्ने , कुटपिट गरी घर निकाला गर्ने जस्ता कार्यका कारण आज कैयौं महिला पहिचान बिनाको जीवन बिताउन बाध्य छिन् ।

नेपालगंजकै कुरा गर्ने हो भने यहां विभिन्न ठांउमा यस्ती महिला धेरै संख्यामा छिन् ।
जसको विवाह भारतमा भयो तर घरेलुहिंसा छोरी जन्माउने कारणले उनीहरु आफु र आफ्ना बच्चाहरु सहित माईतीमा बसेर कष्टपुर्ण जीवन बिताईरहेकीछिन् । भारतमा मात्र विवाह भएकी महिला मात्र होईन् नेपालकै चेली नेपालमै विवाह भएको हुदां पनि उनीहरुसंग अहिले कुनै भौगोलिक पहिचान छैन् । खास कुरा यो छ कि यी सबै महिला एउटै ठांउ एउटै टोलकी हुन् । जब एक टोलमा चार जना भेटाईन् भने देशभरी कति महिला छिन् होला । हामीले नेपालगंजकी यी महिलाहरुसंग प्रत्यक्ष भेटघाट गरी उनीहरु अवस्था बारे बुझ्दा उनीहरुको प्रतिक्रिया उनीहरुको अनुमति लिइ साझा गरेका छौं ।

नेपालगंज परसपुर बस्ने १९ वर्षीय लक्ष्मी पासीको विवाह नेपालगंज, परसपुर थुकैला घर भएका थुकयीसंग भयो जो मजदूर थिए । उनको विवाह १० वर्षको उमेरमा भयो । अनि जस्तो कि तराईमा प्रचलन छ विवाहको केही वर्षपछि गौना दिने । उनको गौना ५ वर्ष पछि १५ वर्षको उमेरमा भयो गौनामा जादां उनी २ दिन पतिको घरमा बसिन् । गौना पश्चात थौना हुन्छ जुनकि एक वा दुई वर्षपछि दिईन्छ तर अहिले थौना दिन बाकी नै थियो त्यही बीचको पतिको मृत्यु भइहाल्यो । अब उनीसंग न विवाहदर्ता छ न त नागरिकता नै उनले मात्र ५ कक्षा सम्म शिक्षा हासिल गरेकीछिन् । उनी भर्खर १९ वर्षकी भइछिन् उनको सामु अहिले पहाड सरह जीवन छ तर त्यस बारे कुनै बाटो छैन् कि अब अगाडि कसरी जीवन बित्ने होला । केही समय अघि उनले सिलाइकटाइ सिकेकीछिन् ।

उनी भन्छिन् ” विवाह त भयो त सफल हुन सकेन् । विवाह भएर पनि मसंग वैवाहिक जीवनको अनुभव नै छैन् । उल्टो विवाह भएकै कारण अहिले नागरिकता बनाउन समस्या भइरहेछ । पतिको घरमा बसेकै छैन् अनि पति नै रहेपछि कुन आधारले पतिको घर जाने यो भन्न कि विवाहदर्ता नागरिकता बनाइदिनुस् भनी किनभने उनीहरुलाई पनि डर होला कि अंश दाबी गर्छिन् कि भनेर त्यसकारण गईन् । माईतबाट बनाउन प्रयास गर्दा विवाह दर्ता माग्छ । अब मसंग नागरिकता नहेकोले यदि म केही गर्न खोजे पछि चाहेर नि गर्न सकि रहेकीछैन् । सिलाइकटाइ सिकेछु पसल खोल्न दर्ता गर्नु पर्दा पनि नागरिकता नै चाहिन्छ अनि बैंकबाट ऋण लिन खोज्दा पनि नागरिकता नै चाहिन्छ । मसंग नागरिकता नहुदां न नेपाली आमाबुवाकी छोरी भ एपनि मसंग कुनै आधार नै छैन् कि म नेपाली हुं । “

यसै गरी परसपुरकै  ३१ वर्षीय मीना यादवको  १५ वर्षको उमेरमा विवाह भएको ७ सालमा गौना  ७ वर्ष सम्म बसिन् । २ वर्ष देखि उनीमाथि पतिले सम्बन्ध विच्छेदको मुद्दा लगाएछन् । अदालतमा न्यायधीशले सोधे कि कुनै कमी कमजोरी छ जसको जवाफमा पतिले कुनै कमीकमजोरी नभएको बताए । उनका पतिले आफै सम्बन्ध विच्छेदको मुद्दा लगाएरछन् जबकि उनी पतिसंगै गुजारा गर्न चाहन्छिन् ।

मीना यादव भन्छिन् कि “मेरो  मागी विवाह भयो  दुबै परिवारको मन्जुरीले पतिको पनि सहमति थियो । घर गएर सात वर्ष जति बस्दा केही समय मात्र राम्ररी बित्यो त्यसपछि हिंसा सुरु भयो तर  माईत परिवारलाई दुख न होस् भनी सहेर बसे । तर एक एक दिन पतिले मलाई माइत नजिक ल्याएर छाडे अनि भने कि अब यहीं बस उता काम छैन् तिम्रो । म यता बसिरहदां दुई वर्ष अघि अदालतको नोटिस आयो सम्बन्ध विच्छेदको मुद्दा बारे म छक्क परे रुनु र हास्नुको अवस्था थियो । त्यसपछि वकिल र न्यायधीशले मेलमिलापमा जानुपर्छ भनी मलाई एक महिनाका लागि पतिको घर पठाए । म त्यहां गइसकेपछि मसंग न कोही बोल्ने न म नजिक बस्ने म एक्लै बसिरहन्थे । भान्छामा खाना पकाउन जादां मलाई जान दिइदैन्थियो । म भाडा माझ्ने घर बढार्ने र गोबर उठाउने काम गर्थे त्यस बापत मलाई खाना दिईन्थ्यो । कहिले दिईन्थ्यो कहिले त्यो नाइ । उनीहरु यस्तो यस कारण गर्थे ताकि म रिसाएर वा आत्तिएर माइत आइहालुं र उनीहरुलाई भन्न भइ जाओस् कि यो गरी खाना चाहन्नि यस कारण न्यायधीशले तोकेको समय सम्म पनि बसिन ।

म सब सहेर पनि तोकिएको समय सम्म जसो तसो गरी बसे । समय सीमा पुरा भइसकेपछि हामी दुबै अदालत पुग्यौं । तर बसीरहेकै समय बीच नै पतिले अर्को मुद्दा लगाइसकेका थिए । अनि वकिलले बहस पश्चात भने अब तपाई माइत नै जानुस् किनभने पतिले अर्को मुद्दा लगाएका छन् अब संगै बस्न मिल्दैन् ।  म बस्ने इच्छा राखे पनि पतिले छोड्ने पुरै तयारी गरीसकेछन् । उनले आफ्नो सम्पूर्ण सम्पती आफन्तका नाममा नामसारी गरी आफ्नो नाममा थोरै जग्गा राखेर त्यही सम्पतीबाट अंश लिइ र छुटापत्र गर भनी दबाब दिदैछन् । यो कस्तो समाज हो जहां जब मन लाग्यो विवाह गर्यो जब मन लाग्यो छोडपत्र गरी हाल्यो । न्यायिक निकाय पनि उस्तै छ पतिको इच्छालाई मात्र सर्वोपरी राखेर फैसला गर्छ जब म बस्न तयार छु भने न्यायालयले मलाई बस्ने वातावरण मिलाउनुको सट्टा उल्टा भनिन्छ जे पाईरहेछ्यौ त्यो लिएर सम्बन्ध विच्छेद गर । हाम्रो हिन्दु परम्परा अनुसार पति पत्नीको वैवाहिक सम्बन्ध त सात जुनीको हुन्छ तर यहां त त्यसको पनि कुनै अर्थ नै छैन् । मेरो न्यायालयमाथिबाट विश्वास नै उठिस्कयो ।”

परसपुर कै ३७ वर्षीय झन्डारा यादवको विवाह करिब १५ वर्षको उमेरमा नेपालगंजको अकलघरवाबाट भयो । ५ वर्षपछि उनको गौना गयो उनी गौना थौना पश्चात ६ वर्ष सम्म पतिको घरमा बस्दा एउटा छोराको जन्म पनि भयो । तर केही दिनमै छोराको मृत्यु भयो जसको उनलाई धेरै दुख भयो र त्यही कारण उनी बिरामी भइहालिन् । उनी बिरामी भइसकेपछि उपचार गराउनुको सट्टा उनलाई माइत लगेर छाडियो ।

करिब दश वर्ष देखि माइतमै बस्दै आएकी झन्डारा यादव भन्छिन् ” म करिब दश वर्ष देखि माइतमा कष्टपुर्ण जीवन बिताउन बाध्य छु किनकि मेरो घरमा अरु भाई बहिनी र उनीहरुको छोराछोरी बस्छन् । सबको आफ्नो परिवार छोराछोरी र तिनीहरुप्रतिको आ आफ्नै जिम्मेवारीहरु छन्  उनीहरु आफ्नो दुख हेरुन कि मेरो । पतिले मलाई माइत छाडेदेखि फर्केर हेरेछैन् । भन्छन् पति पत्नी बीच यस्तो गहिरो सम्बन्ध हुन्छ कि पत्नीलाई अर्धांगिनी भनिन्छ तर यो कस्तो पति हो जसको अर्धांगिनी अर्थात आधा अंग बिरामी हुदां उपचारै नगाई बेवारिशे पारिदिएको छ । के कुनै व्यक्तिको कुनै अंगमा दुखाइ वा समस्या हुदां उसले त्यो अंग नै फाल्दिन्छ कि उसको हेरचाह र उपचार गर्छ । समाज पनि उस्तै छ कसैले कसैको भलो चाहन्दैन्न् एउटालाई समस्या पर्दा अर्काले हेरेर बस्छन् । के समाजको यो जिम्मेवारी होईन् कि उसले पतिलाई पत्नीको र पत्नीलाई पतिको महत्व बुझाओस् ।आज म जस्तै तमाम महिला विवाह भएर पनि एकल जीवन बिताइरहेकीछिन् । यस बारे कसैले ध्यान दिदैंन् । कहिले मसंग न विवाहदर्ता छ न नागरिकता । “

परसपुरकी ३५ वर्षीय जेबा इद्रीसी  (सकिला) को विवाह १६ सालको उमेर भारतको बहराईच नवाबगंजमा भयो । उनको तीन सन्तान छन् । जेठी छोरी महेक १४ वर्षकी छिन् । सानी छोरी मुस्कान १२ वर्षकी छिन् र छोरा नौशाद ७ वर्षका छन् । छोरा ५ महिनाको गर्भमा छदां माइत आएको तब देखि बसिरहेकीछिन् । विवाह अघि नागरिकता बनाए पनि बच्चाहरु कुन देशका नागरिक कहलिने भनी उनका लागि मुख्य चिन्ताको विषय हो किन भने पतिले ७ वर्षदेखि खोजखबर नै लिएका छैन्न् बरु अर्को विवाह अहिले एउटा छोरा र एउटी छोरी अनि कान्छी पत्नीसंग मज्जाले बसेका छन् । उनी जयपुरमा कपडा सिलाउने टेलर्सको काम गरी राम्रै कमाइ गर्छन् त्यस कारण उनलाई कुनै दुख नै छैन् ।  यता माइत गरीब भएकोले बच्चाहरुलाई शिक्षादिक्षा पालनपोषण गर्न गाह्रो भइरहेछ । भने बढ्दै गरेकी छोरीहरुको विवाह खर्च बारे पनि चिन्ता छ ।

जेबा भन्छिन् ” ऊ छदां पनि म विधवा सरह जीवन बिताउन विवश छु । विवाह भएको थोरै समय मात्र राम्रो बित्यो । त्यसपछि पति अर्कै महिलातिर लागेर मलाई निहु खोजी कुटपिट गर्थे । कहिले दाईजोको लागि कुटपिट कहिले छोरी जन्माएकोमा । म दुई महिना पतिको घरमा बस्थे भने चार महिना माईतमा बस्थे किनकि कुटपिट गरी ऊ माइत लगेर छाड्दिन्थे । मेरो तीनै बच्चा माइतमै जन्मेछन् । सुत्केरी खर्च व्योहोर्न नपरोस् भनी बच्चा जन्मिने समयमा संधै माइत ल्याएर छाड्दिन्थे । तर जब छोरा गर्भमा ५ महिनाको थियो तब उसले यो भनेर माइत छाडेर गयो कि छोरा भयो भने आउने बाटो हुन्छ यस पालि पनि छोरी जन्मियो भने तिमीलाई तलाक छ ,तलाक छ, तलाक छ । खैर छोराको जन्म भयो उसलाई माइत परिवारले खबर पठाएपछि अस्पताल आयो बच्चालाई हेरेर गयो । तब देखि फर्केर आएन् किनकि मलाई माइत पठाएकै केही महिनामै उसले अर्को विवाह गरिसकेथियो । जस बारे न मलाई खबर थियो न मेरो माइती परिवारलाई नै खबर थियो । मेरो माईतमा आमाबुवा चार जना दाजुभाई र उनका बच्चा सहितको परिवार छ ।

घर सानै छ त्यस कारण एउटा खाटमा हामी चार जना आमा छोरा छोरीहरु संगै सुत्छौं खुट्टा पसार्न मिल्दैन् त कहिले कुर्सी कहिले मेच राखेर सुत्छु । अब बच्चाहरु ठुला हुदैंछन् अब त एउटै खाट सुत्दा उनीहरुलाई पनि खुट्टा पसार्न गाह्रो होला । अझ् यिनीहरु लाई पढाउने कसरी होला भनी चिन्ता हुन्छ नै साथै बढ्दै गइरहेकी छोरीहरु विवाह कसरी गर्नेहोला भनी अर्को चिन्ता सताइरहन्छ । यिनकै लागि मैले अर्को बिहे गरेकीछैन्, तर यिनको बुवालाई यस बारेमा कति पनि चिन्ता छैन् छोरा सात वर्षको भइसकेछ अहिले सम्म बुवाको मुख हेरेछैन् हेरोस् पनि कसरी जब बुवाले आफ्ना बच्चाहरु खोज खबर नै लिएको छैन् । ठीक छ ऊ आफ्नो जीवनमा मस्त आउन चाहदैंन् भने न आओस् ।

यति सम्म भएन कि मेरा बच्चा हुन कम्तिमा तिनको खाना खर्च, पढाइ खर्च नै पठाइ देओस् त्यो सम्म सोच आएन् उसलाई । मलाई एक्लैगरीब माइत परिवारमा तीन बच्चाहरुलाई हुर्काउन  कति गाह्रो भइरहेछ त्यो मलाई नै थाहा छ । बच्चाहरु पढाइ खर्च र दुखी बिरामी पर्दा केही आर्थिक सहयोग होस् भनी एउटा मदरसामा सरसफाई गर्ने काम सुरु गरें तर कोरोनाका कारण लागेको लकडाउनले गर्दा मदरसा बन्द छ । अब मदरसा बन्द भएपछि पढाइ नै नहुदां तलब पनि पाईएको छैन् । भाग्यमा पनि खै के लेखेछ ठीक छ बच्चाहरुको हेरचाह बुवाले गरेन भने म नै गर्छु भन्दा पनि अहिले अवस्था जटिल छ । “

यहां यसरी लेख्नुको मुख्य कारण यो छ कि नेपालमा जन्मेर पनि नेपाली नागरिकको हैसियतले कुनै अस्तित्व र पहिचान नभएकी  जब परसपुरको एउटै टोलमा चार जना महिला यसरी पहिचान बिना गुमनाम जीवन बिताइरहेकीछिन् भने नेपालगंज भरी कति महिला छिन् होला र नेपालगंज मात्र होईन् अन्य जिल्ला र देश भरी नै कति महिला छिन् होला । त्यस कारण यी भौगोलिक राष्ट्रीय पहिचान बिहीन महिलाहरुका विषयमा राज्यको गम्भीर ध्यानाकर्षण होस् ।

राज्यले यी राष्ट्रीय पहिचान बिहीन महिलाहरुको खोजी गर्न डाटा संकलन गरी अभिलेख राख्न आवश्यक छ । अभिलेखीकरण पश्चात उनीहरुलाई राष्ट्रीय पहिचान दिलाउन राज्य र अन्य जिम्मेवार निकाय र संघसंस्था पहलले गर्न र गराउन अति आवश्यक छ ।

प्रतिक्रिया

प्रतिक्रिया