आस्थाका लागि सयौं किलोमिटर, सकियो हडियाबाबा धार्मिक उत्सव

नेपालगन्ज–६ स्थित रामनगरमा रहेको हडियाबाबा मन्दिरमा सोमबार पुग्दा सयौं भक्तजनहरु समूहमा बसेर भजनकिर्तन गर्दै थिए । कोरोनाको जोखिमको त्रास त्यहाँ देखिंदैन थियो । भक्तजन आफ्नै धुनमा समूह बनाएर भगवानको भजन गर्दै नाच्दै थिए । चिसो मौसम रहेकाले आगो ताप्ने व्यवस्था थियो भने बस्नका लागि पराल बिछ्याइएको थियो ।


तीन दशक बढी देखि हडियाबाबामा धार्मिक उत्सव मनाउँदै आइएको छ । पूर्णिमाको तेस्रो दिनदेखि हडियाबाबाको पुण्य स्मृतिमा ६ दिनसम्म मेला लाग्ने गरेको हो । मेलामा नेपाल तथा भारतका विभिन्न ठाउँबाट सयौं किलोमिटर यात्रा गरेको भक्तजनहरु आउने गरेको श्री १००८ हडियाबाबा आश्रम व्यवस्थापन समितिका सदस्य माधवराम बर्माले जानकारी दिएका छन् ।
‘भारत उत्तरप्रदेशको अयोध्याबाट सात दिन साइकल चलाएर हडियाबाबा धार्मिक उत्सवमा सहभागी हुन आएको हुँ’, धार्मिक उत्सवमा भेटिएका इन्द्रदासले भने । उनले धार्मिक आस्थाका कारण गत बर्ष पनि धार्मिक उत्सवमा सहभागी हुन आएको जानकारी दिए ।


विगतका बर्ष जस्तो यस बर्ष भक्तजन भने धार्मिक उत्सवमा सहभागी हुन आएका थिएनन् । ‘गत बर्ष भन्दा आधा जसो भक्तजन कम भएको छ’, श्री १००८ हडियाबाबा आश्रम व्यवस्थापन समितिका सदस्य बर्माले भने, ‘करिब ५ सयको हाराहारीमा यस बर्ष भक्तजन धार्मिक उत्सवका लागि आउनु भएको हो ।’

धार्मिक उत्सव सोमबार सकिएको छ । उत्सवमा आउने भक्तजनहरुलाई खाना, पिन र बासको व्यवस्था आश्रमले नै गर्दै आएको छ । त्यसका लागि स्थानीय व्यक्तिहरुले आर्थिक तथा जिन्सी सहयोग गर्दै आएका छन् । सोमबार भक्तजनहरुलाई दक्षिणा तथा कम्बल वितरण गरी बिदाई गरिएको आश्रमका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिएका छन् ।


नेपालको बाँके, बर्दिया, दाङ्ग तथा भारतका विभिन्न ठाउँबाट आएका ४ सय ७५ भक्तजनलाई बिदाई गरिएको आश्रम व्यवस्थापन समितिका सदस्य बर्माले जानकारी दिएका छन् । गत बर्ष उत्सवमा धार्मिक नाट्य हुने गरेपनि यसपटक गरिएन । यसपटक पुजाआजा, भजन, कृतन बाहेक प्रवचन मात्र भएको हो ।

उत्सवमा सहभागी कोहलपुरका गोकुल चौधरीले हरेक बर्ष हडियाबाबाको पुण्यतिथिमा आउने गरेको जानकारी दिए । ‘आस्थाका कारण यस बर्ष कोरोनाको जोखिम रहेपनि सहभागिताका लागि आएको हुँ’, उनले भने ।


धार्मिक उत्सवमा कसैलाई पनि औपचारिक रुपमा निम्तो भने दिइने गरिएको छैन । दशकौंको परम्परा रहेकाले आफै भक्तजन प्रत्येक बर्ष आउने गरेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया