पृष्ठभूमिःअहिले हामी लैंगिक हिंसा विरुद्दको १६ दिने विश्वव्यापी अभियानमा छौँ यसै सन्दर्भमा केही नलेखी बस्न मनले मानेन । आजको समयमा कुनैपनी किसिमको हिंसा स्विकार्य हुँदैन । त्यसमा पनि कुनै एक लिंग बिशेषलाई लक्षित हिंसा त झन् क्षम्य हुने कुरै भएन । लैंगिक हिंसाको परिभाषा ठ्याक्कै यही नै हो भन्ने भन्दापनी यसको दायरा लाई सहि रुपमा सम्बोधन गर्ने प्रयास रहनेछ ।झ्वाट्ट ! हेर्दा सुन्दा लैंगिक हिंसा भन्ने बित्तिकै पुरुषबाट महिला पीडित भएको कल्पना गरिन्छ तर यो पूर्ण रुपेण सहि होइन । बहु–संख्यक घटनामा पुरुष पीडक र महिला पिडित हुने भएकोले पनि त्यस्तो छाप परेको हुनुपर्छ तर यदाकदा महिलाबाट पुरुषहरु पीडित भएका घटनाहरु पनि सुनिन्छन् । तसर्थ लैंगिक हिंसालाई अल्ली फराकिलो सोँच र धारणा बनाई बुझ्न र ग्रहण गर्न जरुरी छ।

शाब्दिक अर्थ केलाउने हो भने, अन्तर लिङ्गमा हुने सबैखाले हिंसा लाई यसले समेट्छ र सम्बोधन गर्छ ।अन्तर लिङ्गमा जो जोसुकैबाट हिंसाजन्य अपराधबाट पीडित हुन्छ भने त्यो लैंगिक हिंसा अन्तर्गत पर्छ । लैंगिक हिंसाको दायरा फराकिलो भएपनि संख्यात्मक रुपमा महिला नै बढी पीडित हुने गरेको तथ्यांकले गर्दा लैंगिक हिंसाको केन्द्रमा महिला नै हुनु स्वाभाविक हो ।समस्याः३० को दशकसम्म त हामी कहाँ महिलाहरुको स्थिती लाजमर्दो थियो । सदियौंदेखि व्याप्त पुरुष प्रधान मानसिकताले महिलालाई मान्छे भन्दापनि सेवा प्रदान गर्ने बस्तुको रुपमा मात्र लिने गरेको र पुरुषका हरेक ईच्छाहरु निशर्त पुरा गर्नु उनीहरुको एकमात्र काम हो अझ धर्म पनि हो भन्ने सम्मको अत्यन्त असमान र विभेदपूर्ण धारणा राख्ने गरिन्थ्यो ।

कालान्तरमा महिला प्रतिको दृष्टिकोणमा क्रमिक सुधार आएको देख्न सकिन्छ महिलाहरुको स्थितीमा आएको क्रमिक सुधारमा शिक्षाको ठुलो हात रहेकोमा दुईमत नहोला ।शिक्षाका कारण महिला–पुरुष दुबैमा सकारात्मक परिवर्तन आएको हुनुपर्छ यसबाट महिलावर्ग आफ्नो अधिकारप्रति र पुरुषवर्ग कर्तव्यप्रती सचेत भएको हुनुपर्छ । शिक्षाको उज्यालोले महिला–पुरुष दुबैलाई एक–अर्काको सम्मान गर्न सिकाउनु को साथै गुमनामीको अँध्यारोमा हराएका महिलाका हक–अधिकार स्थापित गर्न ठुलो भूमिका खेलेको छ । यति हुँदाहुँदै पनि कतिपय अवस्थामा विद्वतवर्ग पनि लैंगिक भेदभाव र हिंसामा संलग्न भएको पाइन्छ ।परापूर्व कालदेखि हाम्रो समाजमा चलिआएको लैंगिक ढाँचा अनुरुप महिलामाथि पुरुषहरु हरेक पक्षमा हावी हुँदै आएको सत्य नकार्न सकिदैन । जन्मिदा प्राकृतिक रुपमा प्राप्त हुने लिंगले सिंगो जीवन जिउँदासम्म पाउने हकाधिकार निर्धारण गर्ने अत्यन्त अन्यायपूर्ण परिपाटिका हामी पनि मतियार हौं ।

जन्मिदा पुरुष भएकै भरमा घरमुलिको ओहोदासंगै निर्णयाधिकार पाउने अनी महिला चाँही महिला भएर जन्मिनुको मुल्य चुलोचौका, घरधन्दा मै सिमित भएर दासी बनी चुकाउनु पर्ने ?कुनैपनि काम जन्मका आधारमा मात्रै कुनैपनि लिङ्ग बिशेषका लागि तोकिनु दुर्भाग्यपूर्ण हुँदाहुँदै पनि हाम्रो नेपाली परिवेशमा कतिपय कामहरु लिंग बिशेष कै लागि छुट्याईएको अवस्था छ । भात–भान्सा, घर–धन्दा, मेलापात आदी काम महिलाका लागि र आय–आर्जन, घर बाहिरको काम र महत्वपूर्ण निर्णयहरु लिने काम पुरुषका लागि चिन्हित गरिएको विभेदपूर्ण सामाजिक परिपाटि हामीले देखे–भोगेकै छौं ।अझैपनि हामी विपरित लिंगीलाई आफ्नो अधिनमा राखी उनीहरुलाई कजाउन र आफ्नो आदेशको पालक भएको हेर्न चाहन्छौं र त्यसैमा रमाइरहेका पनि छौं ।

शायद यही कारण पनि हामी लैंगिकताको सवालमा बाँकी संसार भन्दा धेरै पछाडि छौं यो परिदृष्यलाई बदल्न सकेनौ भने त्यो हाम्रो दुर्भाग्य हुनेछ ।समाधान ःसमय द्रुतगतीमा बदलिइरहेको छ, अन्तर लिङ्गिय व्यबहारमा आएको विश्व व्यापी परिवर्तनबाट हामी पनि अछुतो रहने कुरै भएन । समय–चक्र संगै आएको सकारात्मक परिवर्तनका संकेत पक्कै पनि मानव सभ्यताका लागि पनि अपरिहार्य छन् । हरेक मान्छेले विपरित लिंगी प्रतिको व्यबहारमा मात्रै सकारात्मकता ल्याइदिएर आपसमा सम्मान प्रकट गर्न सकेमात्र पनि लैंगिक भेदभाव संगै लैंगिक हिंसा ईतिहासका पानामा मात्र भेटिने अवस्था आउन सक्छ तर यसका लागि पहल जरुरी छ ।सुरुवात कसले गर्ने ?निःसन्देह सुरुवात अब आफैबाट र आजैबाट गर्नुपर्छ, धेरै ढिला भइसक्यो । विज्ञान र प्रविधिको क्षेत्रमा भएको अकल्पनीय बिकासको भरपुर फाइदा उठाउँदै अरु मान्छेहरु कहाँबाट कहाँ पुगिसके हामी भने श्रीमती घाम झुल्किदासम्म सुती भनेर जगल्ट्याउन तत्पर हुन्छौ ।

अरु मान्छेहरु चन्द्रमा र मंगल ग्रहमा जीवन खोज्दैछन तर हामीहरु अझैपनि श्रीमानको मोबाइलमा भएका शंकास्पद म्यासेजको खोजी मै तल्लिन हुन्छौं । जबसम्म एक अर्काप्रति प्रगाढ विश्वास स्थापित हुँदैन तबसम्म एक अर्काप्रति सम्मान भाव पनि आउँदैन अनी जबसम्म एक अर्काप्रती सम्मान प्रकट गर्न सकिदैन तबसम्म लैंगिक भेदभाव र त्यसबाट निम्तिने लैंगिक हिंसा यथावत रहनेछ ।आफ्नो आँखा अगाडिको काम जसले गरेपनि हुन्छ, काममा तेरो मेरो भन्नु हुँदैन र गर्नुपनि हुँदैन । श्रीमतीले कपडा धुँदै गर्दा श्रीमानले खाना पकाउनु र श्रीमान अशक्त हुँदा उनको जिम्मेवारी श्रीमतीले निभाउनु एक अर्काको काम प्रतिको सम्मान हो । यसमा खाना पकाएकै कारण श्रीमान जोइटिंग्रे र श्रीमानको काममा सघाएकै भरमा श्रीमती हावी भएको भन्न र सोच्न मिल्दैन । यिनै स–साना कुरालाई व्यबहारमा उतार्न सकेमात्र लैंगिक भेदभाव र सम्भावित हिंसा न्युनिकरणको पथमा ठोस कदम ठहरिने छ ।विश्वव्यापी अभ्यास हेर्ने हो भनेपनि लैंगिक भेदभाव नै लैंगिक हिंसाको जड हो भन्न सकिन्छ ।

भेदभाव नै कालान्तरमा हिंसाको कारक बनिदिन्छ तसर्थ हामी सबैले आ–आफ्नो स्तरबाट लैंगिक भेदभावलाई अन्तर लिङ्गी सम्मानमा बदल्न सक्यौं भने लैंगिक हिंसामा पक्कै कमी आउनेछ । यति मात्र गर्न सकेपनि लैंगिकताको सवालमा विश्व माझ नेपालको नाम ईज्जतका साथ उच्चारण गरिनेछ । आँफै सोच्नुस ! यो परिवर्तनको साक्षी बन्ने कि नबन्ने ?

प्रतिक्रिया

प्रतिक्रिया