पैसा देऊ त्यही न्याय हो : सहकारी पीडित


‘पैसा नहुँदा क्यान्सर पीडित छोरीको राम्रोसँग उपचार पनि गर्न पाइन’, यो भनाई हो सहकारी वित्तीय विकास संस्थाको ठगीमा परेकी सुनिता धोबीको । उनकी १८ बर्षीया छोरी प्रियंकाको क्यान्सरका कारण हालै मृत्यु भयो । तर, १२ लाख रुपैयाँ सहकारीमा जम्मा गरेकी उनले छोरीको उपचारमा आफैले बचत गरेको रकम खर्च गर्न भने पाइनन् । सुनिता मात्रै होइन सहकारीका सयौं जना पीडितहरुको आ–आफ्नै पीडा रहेको छ ।


व्यवसायिक कारोबार बाहेक मानिसहरु भविष्यका आफ्ना योजना र दुःखका बेलाका लागि बैंक तथा सहकारीमा पैसा गरेका हुन्छन् । त्यही पैसा आफैलाई आपद् पर्दा नपाउँदाको पीडा सहज अनुमान लगाउन कठिन छ । नेपालगन्जको सहकारी वित्तीय विकास संस्थामा भएको करोडौं अपचलन घटनाका पीडितहरुले अझै रकम फिर्ता पाउन सकेका छैनन् ।


गतबर्ष प्रहरीले अपचलन घटनाका अभियुक्त विरुद्ध मुद्दा दायर गर्यो । मुद्दा अदालतमा चलेको छ । कानुनी प्रक्रिया चलिरहेको छ । तर, त्यसले पीडितले न्यायको अनुभूति गर्न सकेका छैनन् । डेढ बर्ष अघि देखि नै सहकारी बन्दको अवस्थामा छ । घटनाका अभियुक्त अदालतमा हाजिर भएर धरौटीमा छुटिरहेका छन् । आफुले आर्थिक समस्या झेलिरहेका बेला रकम हिनामिनाको अभियोग लागेकाहरु धरौटीमा खुलेआम घुमिरहँदा सहकारीका पीडितलाई झन् पीडा थपेको छ ।


सहकारी वित्तीय विकास संस्थाका पीडितहरुले पटकपटक रकम फिर्ताको माग गर्दै प्रदर्शन गर्दै आएका छन् । उनीहरुले आइतबार पनि जिल्ला अदालत बाँके र जिल्ला प्रशासन कार्यालय बाँके अगाडि प्रदर्शन गर्दै आफ्नो रकम फिर्ता सुनिश्चित गर्न माग गरेका छन् ।

जिल्ला अदालत बाँकेमा बुधबार ४१ जना पूर्व कार्यसमिति, कर्मचारी लगायतलाई प्रतिवादी बनाएर गत बर्ष मुद्दा दायर गरिएको छ । मुद्दामा कुल ४३ करोड २ लाख ५३ हजार ९५ रुपैयाँ हिनामिना भएको निष्कर्ष सहितको मागदाबी सरकारी पक्षले गरेको छ । जसमा बचत रकमको दाबी गर्दै उजुरी गरेका १ हजार ९ जनाको २६ करोड ९६ लाख ५ हजार ५ सय ८२ रुपैयाँ पनि संलग्न छ । मुद्दामा बचतकर्ताहरुका सावाँ र ब्याज सहितको रकम भराई दिन अनुरोध गरिएको छ । थप पीडितहरु प्रहरीको सम्पर्कमा आइरहेको पीडित संघर्ष समितिको नेतृत्व गरिरहेका विजय गुप्ताले जानकारी दिएका छन् । सहकारीको ठगी मुद्दाका चार जना अझै फरार रहेका छन् । ९ जना जेलमा छन् त बाँकी धरौटी तिरेर निस्केको पीडितहरु बताउँछन् ।


आइतबार प्रशासनको गेटमा माइकमा पीडितहरु आफ्ना पीडा पोख्दै थिए । त्यही प्रदर्शनमा थिइन् सल्मा इद्रिसी । गोसागाउँकी सल्माको ४ लाख १० हजार रुपैयाँ सहकारीमा बचत थियो । एक्सिडेन्ट भएर खुट्टा भाँचिदा समेत उपचारका लागि आफ्नो पैसा पाउन नसकेको पीडा पोख्दै उनले भनिन्, ‘दोषीले पाउने सजाय एउटा पाटो होला, हामीले हाम्रो पैसा कहिले पाउने हो ?’ ३ वटा बच्चाकी आमा सल्मा बचतकर्तामाथि विश्वासघात भएको बताउँछिन् ।


हिरमिनियाकी कलावती लोधले छोरीको बिहेका लागि सहकारीमा २ लाख बचत गरेकी थिइन् । ‘छोरी २० बर्षकी भइन् । बिहे गर्ने बेला भयो, बिहेका लागि बचत गरेको पैसा कहिले पाउने निश्चित छैन’, प्रदर्शनमा सहभागी उनले निराशा व्यक्त गर्दै भनिन्, ‘पैसा नपाए छोरीको बिहे गर्न सक्ने अवस्था छैन ।’ उनको जस्तै समस्या कम्दीका ७० बर्षीय पुत्तन बागवानको पनि रहेको छ । छोरीको बिहेका लागि उनकै नाममा ३ लाख सहकारीमा जम्मा गरेका पुत्तन पैसा नहुँदा छोरीको बिहे गर्न नसकेको बताउँछन् ।

प्रदर्शन गरे पैसा पाइन्स कि भन्ने आशामा सहकारीका पीडितहरु अदालत र प्रशासन पुगेका हुन् । प्रदर्शनमा बैशाखी टेकेर राम मौर्य पनि पुगेका थिए । जग्गा बेचेर बचत गरेको ६ लाख रुपैयाँ सहकारीबाट फिर्ता पाउन नसकेका उनी जीवनयापन नै गर्न कठिन भैरहेको बताउँछन् ।
प्रदर्शनमा बोल्दै विजय गुप्तले सरकारले पीडितहरुको आवाज सुनेर राहत दिनुपर्ने धारणा राखे । ‘मुद्दा प्रक्रिया त लामो हुन्छ, त्यसैले सरकारले कुनै कोषबाट पीडितहरुलाई तत्कालका लागि भएपनि १÷१ लाख रुपैयाँ दिनुपर्छ’, उनले भने, ‘मुद्दाको किनारा लागेपछि सरकारले दिएको पैसा फिर्ता लिन सक्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया