यस्तो छ बाँकेमा भएको बालक र हिरासतमा थुनुवा मृत्यु प्रकरण

अधिकारकर्मीले गरे प्रशासनको ध्यानाकर्षण

बाँके डुडुवा गाउँपालिका–३ वनकट्टीका १२ बर्षिय सुनिल हरिजन र सोही ठाउँका ३५ बर्षिय बाबुलाल चमारको हिरासतमा भएको मृत्यु भएको बिषयमा नेपालगंज स्थित अधिकारकर्मीहरुले अनुगमन र घटनाको तथ्य संकलन गरेका छन् ।

गत कार्तिक ११ गते बिहान डुडुवाका १२ बर्षिय बालक सुनिल हरिजनको हत्या गरि पोखरीमा लास फालिएको अवस्थामा फेला परेको थियो भने सोहि घटनामा संलग्नताको आरोपमा अपराध अनुसन्धानमा प्रहरी हिरासतमा रहेका बाबुलाल चमारले प्रहरी हिरासत भित्रै झुण्डीएर आत्महत्या गरे पछि घटना बारे बिभिन्न टिकाटिप्पणी हुने गरेका छन् ।

यी दुई घटनाको सम्बन्धमा एडभोकेसी फोरमका वसन्त गौतम, फियान नेपालका सुरेश कुमार गौतम, मानव अधिकार एलाइन्सका प्रभात कुमार ठकुरी र इन्सेकका बिनोद पाण्डेले बुधवार संयुक्त रुपमा घटनाको अनुगमन गरेका थिए ।

अनुगमन पश्चात अधिकारकर्मीको टोलीले घटनाको बिषयमा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक सुवास खड्काको ध्यानाकर्षण गराएको जनाएका छन् ।

यस क्रममा अधिकारकर्मीको टोलीले प्रहरी प्रशासनको काम कारवाही कानून बमोजिमको हुन पर्ने, अपराध अनुसन्धानको हरेक चरणमा फौजदारी न्याय र मानव अधिकारको आधारभुत मुल्य मान्यताको अवलम्बन हुन पर्नेमा जोड दिएका थिए ।

कुनै अपराध घटेमा त्यसको प्रभावकारी अनुसन्धान हुनु पर्ने, अपराध पीडितलाई न्याय दिलाउने कुरासंगै अपराध अनुसन्धानको कार्य कानून सम्मत हुनु पर्ने अधिकारकर्मी बताएका छन् ।
कानूनले निर्धारण गरेका बिधि र प्रक्रिया बमोजिम प्रहरीले अपराधको अनुसन्धान, फौजदारी न्यायका स्थापित मान्यता अवलम्बनमा जोड दिएको अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए ।

यस्तो थियो घटना

घटनाको सिलसिला बाँके डुडुवा ३ का १२ बर्षिय बालक सुनिल हरिजनको मृत्युबाट भएको पाइन्छ । गत कार्तिक १० गते साँझ बिजय दशमीको दिन बालक सुनिल हरिजन घर नजिकै रहेको मन्दिरमा गएका थिए । मन्दिरमा भण्डारा लगाएको रमझम भएकाले फोटो खिच्न भनेर बालकले मोवाईल लिएर गएका रहेछन् ।

रातीसम्म छोरा घर नफर्के पछि घरका आमा बुवाले बालकलाई फोन गर्न थाले । सुरुवाती फोन सम्पर्कमा बालकले शौचालय गर्दै गरेको केही बेरमा घर फर्कने बताएका बताइन्छ । त्यस पछि भने परिवारको बालक सम्पर्क सम्पर्कमा आएनन । राती पर्दै जाँदा बालकका परिवारले धेरै पटक फोनमा सम्पर्क गर्न खोजे, भण्डारा लगाएको ठाउँ वरिपरि खोजे तर भेटाउन सकेनन । फोन सम्पर्क भएन । फोन स्वीच अफ भयो ।

हराएको छोरो खोज्ने क्रममा भोली पल्ट बिहान ७ बजे पछि गाउँ नजिकैको माछा तलाउमा उत्तानो परेको अवस्थामा मृत अवस्थामा बालक भेटिए । बालकको स्वभाविक मृत्यु नभई मुखभरि घाउखत देखिए पछि घटना प्रहरीसम्म पुग्यो । प्रहरीले घटनाको अनुसन्धान थाल्यो ।
यस क्रममा बालक हत्या घटनाको आशंकामा गाउँका ३५ बर्षिय बाबुलाल हरिजन चमार, १३ बर्षिय बिजय सोनकर, २१ बर्षिय अजय सोनी सहितका केहीे ब्यक्तिहरु कार्तिक ११ गते पक्राउ परे ।

घटनाको बिषयमा किटानी जाहेरी नपरेको अवस्थामा पक्राउ परेका ब्यक्तिहरुले प्रहरी उपर अभद्र ब्यवहार गरेको भन्दै अभद्र ब्यवहारमा प्रहरीले मुद्दा चलायो । ११ गते पक्राउ परेका उनीहरुलाई १४ गते मात्रै थुनुवा पुर्जि दिएर थुनामा राखेको प्रहरी हिरासतमा बसेकाहरु बताउछन् । यस बिचमा बालक हत्या घटनाको बारेमा धेरै ब्यक्तिसंग सोधपुछ ग¥यो ।

सोधपुछमा गाउँका बालकहरु सहित धेरै परे । घटनाको अनुसन्धान भए पनि कर्तब्य ज्यान मुद्दा भने चलेको छैन । पक्राउ परेका ३ जनालाई अभद्र ब्यवहारमा मुद्दा चलाइयो ।
बालक हत्या काण्डको प्रहरी अनुसन्धान चल्दै गर्दा २०७७ मंसिर ५ गते बिहान बालक हत्या आरोपमा पक्राउ परि अभद्र ब्यवहार मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका थुनुवा बाबुलाल रैदास चमार हिरासत कक्षको शौचालयमा झुण्डीएको अवस्थामा भेटिए ।
उनी बाबुलाल रैदास (दलित) समुदायको भए पनि हुलिया परिवर्तन गरि सरदार जस्तो गरि कपाल ढाक्ने गरि टाउकोमा कपडाले लपेटेको प्रहरीको भनाई छ । अनुगमनका क्रममा हेर्दा पनि त्यस्तै देखिएको थियो । उनले सरदारले जस्तै गरि टाउकोमा कपडा बेरेका थिए ।
संगै थुनामा रहेका अन्य थुनुवाहरुले आफुहरु जागेर शौचालय जान खोज्दा शौचालय भित्रबाट ढोका बन्द भएको पाए पछि सुरक्षार्थ खटिएका प्रहरीलाई खवर गरेको अधिकारकर्मीलाई बताएका छन् । अनुगमनका क्रममा शौचालयको झ्यालमा कपडाको पासो लगाई रैदास झुण्डिएको अवस्थामा पाइएको अधिकारकर्मीले जनाएका छन् ।

किन मरे होलान भनी अनुगमन टोलीले अन्य थुनुवाहरुसंग सोध्दा आफुहरुले यसै भन्न नसक्ने बताएका थिए । बाबुलाल रैदासले बालक हत्याको आरोप स्वीकार नगरेपछि प्रहरीले उनलाई अभद्र व्यवहार मुद्दा दर्ता गरेको आफन्तको आरोप छ । मृतकका ८५ बर्षिय बुवा पल्टु चमारले छोरालाई छाड्ने भनी घरबाट लगेको प्रहरीले कागजमा सहि गरी मृत छोरा बुझाएको आरोप लगाएका छन् । पक्राउ परे पछि आफुहरु छोरालाई भेट्न प्रहरी कार्यालयमा नगएको र छोरा छाड्ने भनेर प्रहरीले घरमा लास ल्याईदिएको उनको भनाई थियो ।

अधिकारकर्मीको टोलीले गत कार्तिक ११ गते घर नजिकै पानी पोखरीमा मृत अवस्थामा भेटिएका १२ बर्षिय बालक सुनिल हरिजनका परिवारसंग घटनाको बारेमा जानकारी लिएको थियो । मृत बालकका परिवारजनले बालकलाई कसैले क्रुर तरिकाले हत्या गरि पोखरीमा फालिदिएकोले घटनाको प्रभावकारी अनुसन्धानमा जोड दिएका छन् । हाम्रो बालकलाई गाउँकै मान्छेको संलग्नतामा मारेको आशंका छ । पीडित परिवारले अधिकारकर्मीलाई भनेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया