महामारीका रुपमा फैलिएको कोरोना संक्रमण बिस्तार बढ्दै गएपछि भेरी अस्पतालको कोभिड विशेष आइसोलेसनलाई क्षमता दोब्बर बिस्तार गरिएको छ । स्थानीय स्तरमै ७२ शैय्याको कोभिड विशेष आइसोलेसन तयार गरिएको भेरीमा क्षमता दोब्बर बिस्तार गरिएको हो ।
‘सम्भवत यसै साताबाट थप ७० शैय्या सञ्चालनमा आउनेछ’, भेरी अस्पताल प्रमुख डा. प्रकाश थापाले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि आवश्यक सबै तयारी अन्तिममा पुगेको छ ।’ डा. थापाले स्थानीय स्तरमै साधनस्रोतको व्यवस्थापन गरी कोभिड विशेष आइसोलेसनको क्षमता दोब्बर गरिएको जानकारी दिए ।
पुरानै पूर्वाधार र साधनस्रोतको व्यवस्थापन गरी ७० शैय्याको आइसोलेसन थप बिस्तार गर्न लागिएको भेरीका कोभिड विशेष अस्पताल व्यवस्थापन समितिका संयोजक डा. श्याम सुन्दर यादवले जानकारी दिए । उनका अनुसार, अस्पतालले उपयोग गर्न छाडेका पुराना फर्निचरलाई मर्मत गरी शैय्या तयार गरिएको छ भने गोदाम कक्ष लगायतका ठाउँको मर्मत सम्भार गरी आइसोलेसन कक्ष निर्माण गरिएको छ । ‘२÷४ बर्ष मज्जासँग स्तरीय कोभिड अस्पताल सञ्चालन हुनसक्ने गरी सबै व्यवस्थापन मिलाइएको छ’, कोभिड आइसोलेसनका लागि अहोरात्र सक्रिय डा. यादवले दैनिक नेपालगन्जसँग भने, ‘अस्पतालले स्थानीय स्रोत परिचालन गरी युजलेस स्टकचर र म्याटेरियलबाट कोभिड अस्पतालको राम्रो व्यवस्थापन गरिरहेको छ ।’
७२ शैय्याको आइसोलेसन भरीभराउ भएपछि थप ७० शैय्या बिस्तारमा स्थानीय स्तरको स्रोत साधन व्यवस्थापन गरिएको हो । त्यसका लागि जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले जिल्ला समन्वय समिति बाँके अन्तर्गत रहेको आकस्मिक कोषबाट झण्डै ८० लाख रुपैयाँ रकम माग गरेको छ । ‘बाँकी स्थानीय तहबाट लिइएको छ’, डा. यादवले सेन्टरका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले त्यसका लागि आवश्यक समन्वय गरेको जानकारी दिंदै भने, ‘स्थानीय सरकारदेखि लायन्स क्लब, रोटरी क्लबहरुले पनि सहयोग गरिरहेका छन् ।’
आइसोलेसन तयारीका लागि बागेश्वरी गुठीका उपाध्यक्ष विजय कुमार गुप्ताको संयोजकत्वमा उपभोक्ता समिति गठन गरिएको छ । ‘रंगरोगन लगायतका केही काम मात्रै बाँकी रहेका छन्’, यसैसाता सञ्चालनका लागि ७० शैय्या तयार भैसक्ने जानकारी दिंदै उपभोक्ता समितिका संयोजक गुप्ताले दैनिक नेपालगन्जसँग भने, ‘रकम आउने विश्वासका आधारमा विभिन्न ठाउँबाट सामान ल्याएर निकै छिटो काम गरिएको हो ।’
अस्पताल प्रमुख डा. थापाका अनुसार, कोभिड अघि एउटा मात्रै भेन्टिलेटर रहेको भेरीमा अहिले चार वटा भेन्टिलेटर सञ्चालनमा आएका छन् । ‘थप दुई वटा आउँदै छ भने अस्पतालले सात वटा भेन्टिलेटर खरिद प्रक्रिया अगाडि बढाइसकेको छ ।’ पूर्वाधारका अनुपातमा दक्ष जनशक्ति थप्ने काम पनि भैरहेको जानकारी दिंदै अस्पताल प्रमुख डा. थापाले दैनिक नेपालगन्जसँग भने, ‘कोभिडसँगै अस्पताल अगाडि बढ्न सशक्त बनाइँदै छ ।’ डा. थापाले बुटवल पश्चिम सबैले जोखिमका बिरामीलाई भेरी पठाउने गरेको प्रसंग उठाउँदै भने, ‘त्यसका लागि अस्पताल दरिलो गरी तयार गर्नुको विकल्प छैन ।’
‘स्तरीय सेवा’
जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर बाँकेले कोरोना संक्रमण विरुद्ध सजगता अभाव बढ्दै गएपछि उपचारमा विशेष ध्यान दिइएको जनाएको छ । ‘सधै डण्डा चलाएर सम्भव भएन’, जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले दैनिक नेपालगन्जसँग भने, ‘त्यसैले उपचार व्यवस्थालाई विशेष जोड दिएका छौं ।’
उपचार अभावले कुनै पनि छटपटिनु नपरेको प्रसंग अघि सार्दै प्रजिअ कुरुम्वाङले भने, ‘बेडदेखि भेन्टिलेटरसम्मको व्यवस्थापन यथोचित र स्तरीय छ ।’ त्यसका लागि भेरी अस्पतालदेखि निजी क्षेत्रको नेपालगन्ज मेडिकल कलेजसम्म अहोरात्र खटेको कुरुम्वाङले जानकारी दिए ।
सीमित साधनस्रोत बीच पनि स्तरीय उपचारमा स्वास्थ्यकर्मीहरु अहोरात्र खटेको प्रसङ्ग उठाउँदै प्रजिअ कुरुम्वाङले प्लाज्मा डोनेसनमा समेत निरन्तर अग्रसरता बढेको बताए । ‘बाँकेमा कोभिडका बीच सबै क्षेत्रको समन्वय असाध्यै उत्साहजनक रहेको छ’, सेन्टर संयोजक समेत रहेका प्रजिअ कुरुम्वाङले प्लाज्मा डोनेसनमा स्वयं अग्रसरता समेत पाइएको जानकारी दिंदै भने, ‘कोभिड अस्पताल बनाउँदा होस् वा उपचारमा प्लाज्माको आवश्यकता पर्दा होस् सबैको सहयोग प्राप्त छ ।’