बाँकेमा चार महिनामै झण्डै आठ सय बढी घरेलु उद्योग दर्ता भएको छ । कोभिडका कारण व्यवसायिक क्षेत्र अप्ठ्यारोमा परेको तथ्यांक तथा समाचारहरु आइरहँदा घरेलु तथा साना उद्योगका क्षेत्रमा भने उत्साहित रुपमा उद्योग दर्ता तथा नविकरण भैरहेको तथ्यांकले देखाएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत जयराम चौधरीले चालु् आ.व. ०७७/०७८ को पहिलो चौमासिकमा ७ सय ७२ वटा उद्योग दर्ता भएको जानकारी दिएका छन् । ‘वर्तमान असहज परिस्थितिमा पनि घरेलु तथा साना उद्योग स्थानापना हुनुुले व्यवसायिक क्षेत्रमा उत्साह रहेको देखाउँछ’, प्रमुख उद्योग अधिकृत चौधरीले भने ।

प्रदेश सरकारले गत भदौंमा निर्णय गरी घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गरेकाले पनि दर्तामा सहभागी हुने व्यवसायीको संख्या बढ्दै गएको हो । ‘प्रदेश तथा स्थानीय सरकारले घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएकाले पनि घरेलु उद्योगको संख्या बढ्दै गएको हो’, उनले भने । अनुदान सम्बन्धी व्यवस्थाले पनि घरेलु तथा साना उद्योगमा आकर्षण बढेको हो । चालु आ.व.को प्रथम चौमासिकमा १ सय ८ सय वटा उत्पादनमूलक, कृषि तथा वन्यजन्य ४ सय ६४, पर्यटनजन्य ५२, सेवामूलक १ सय ४८ वटा घरेलु तथा साना उद्योग दर्ता भएका हुन् ।
चालु आ.व.मा ४ सय ६२ वटा उद्योगले नविकरण पनि गराएका छन् । नविकरण भएका ४ सय ५९ उद्योगको सञ्चालक महिला र ३ सय ४३ सञ्चालक महिला रहेका छन् ।
यसैबीच, मंगलबार घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा छैठौं उद्योग दिवस भव्यताका साथ मनाइएको छ । नेपालगन्ज उप–महानगर पालिका तथा घरेलु तथा साना उद्योग महासंघले सहकार्य गरेको कार्यक्रम ‘उद्योग र रोजगार समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजना भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख धवल समशेर राणाबाट ३ लाख बराबरको राहत सामाग्री कोशेली घर नेपालगन्जलाई प्रदान गरिएको थियो । उत्कृष्ट कृषि उद्योगीमा नेपाल कृषक समुह जयसपुरलाई १५ लाख बराबरको कृषि राहत सामाग्री उपलब्ध गराउनुका साथै उत्कृष्ठ कृषक प्रमाण–पत्र दिइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख राणाले व्यवसायीले उठाएका प्रश्नको जवाफ दिँदै नगरपालिकाका विभिन्न कार्यालयबाट सिफारिस लिंदा असहज परिस्थिति हुने कुरालाई आगामी दिनमा सहज गर्दै लैजाने धारणा व्यक्त गरे ।
घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख जय राम चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज नगरपालिका प्रमुख डा. राणा, नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष मधु खड्का, नगरपालिका प्रशासकिय अधिकृत ओम ब. खड्का, १४ नं. वडा अध्यक्ष ओमकार मिश्र लगायत अतिथिको उपस्थिति थियो । उक्त कार्यक्रममा उद्योगी÷व्यवसायी जि.आर. भुसाल, ज्योतिलाल भण्डारी, मिना सुवेदी ढकाल, मिना डाँगी, दिपेन्द्र कुमार जोशी लगायत उद्योगी÷व्यवसायीले उद्योग व्यवसाय दर्ता प्रकृया, कर प्रणाली, रोजगारी, तालिम व्यवस्थापनका बारेमा व्यवसायीलाई परेका समस्याबारे प्रकाश पारेका थिए ।