भनिन्छ सास रहे सम्म आश पलाउँछ । यसकै जीवन्त उदाहरण हुन् नेपालगन्जकी एक जना संघर्षशील महिला जो कहिल्यै हार मानिनन् सधैं परिस्थितिसँग जुध्दै अगाडि बढ्दै गइन् । उनले राजनैतिक क्षेत्रमा २०५९ मा नेपाली काग्रेंस पार्टीकी सकृय सदस्य भइन् साथै विभिन्न संघ संस्थासंग जोडिएर महिला अधिकार स्थापित गर्न, गराउन, महिला सशक्तिकरणका लागि समुदाय स्तरमा कार्यक्रम आयोजना गर्न गराउन सहयोगी भूमिका निर्वाह गरिन् र महिला हिंसा न्यूनीकरणमा निरन्तर लागिरहिन् । उनलाई उनको गाउँघरमा जहाँ उनको पतिको पत्नी भनेर चिनिन्थ्यो त्यही उनी आफ्नो पहिचान बनाउन सफल भइन् र आज उनलाई फलानाको पत्नी न भनेर नेताइन वा उनकै नाम अर्थात आमना बागवान भनी चिनिन्छ । उनले स्थानीय चुनावमा नेपाली कांग्रेस पार्टीबाटै गाउँपालिकामा महिला सदस्यमा उम्मेदवार पनि भइन् तर जित्न हासिल गर्न सफल हुन सकिनन् ।


उनी पढेलेखेकी नभएपनि उनको सकृयता, लगनशीलता र उदारताका कारण नै उनको नाम र फोटो सहित विभिन्न परियोजना अन्तर्गत दातृ निकाय सम्म उनको कथा अन्तरराष्ट्रिय स्तरमै पुगेछ । तर, उनी हाल राजनीति र सामाजिक कृयाकलापहरुलाई छाडेर व्यापारमा लागिछिन् । उनको घर नेपालगन्ज उपमहानगरपालिकाको इन्द्रपुर बन्जारे गाउँमा भएपनि हाल उनको खजुराको शहादतपुरमा सानो खाजा पसल छ । उनले सामाजिक र राजनीतिकबाट किन टाढा भइन् ? खाजा पसल खोल्न किन रुचाइन् ? समाजले उनको यस निर्णयलाई कसरी लिएछ ? उनको अगामी योजना के छ ? यिनै विषयमा केन्द्रीत रहेर छलफल गरी यो अन्तरवार्ता साझा गरिएको छ ।


तपाईले आफ्नो परिचय दिनुस् ?
मेरो नाम आमना बागवान हो म विगत करिब १६÷१७ वर्ष देखि नेपाली कांग्रेस पार्टीसंग आबद्ध रहेकीछु । अनि सामाजिक क्षेत्रमा विभिन्न संघसंस्थासँग जुडेर समाजमा महिलाहरुका लागि विभिन्न परियोजना चलाउन आवश्यक सल्लाह सुझाव र सहयोग गर्दै आएकी छु । साथै महिला हिंसा न्यूनीकरणका लागि महिलाहरुको वकालत गर्न उनीहरुलाई न्याय दिलाउन सम्बन्धित निकायसम्म पुर्याउने, समाजमा सचेतना फैलाउने जस्ता कुरा म गर्दै आएकी छु ।
तपाईको राजनीतिक अनुभव कस्तो रह्यो ?
म नेपाली कांग्रेस पार्टीसंग आबद्ध रही धेरै वर्षदेखि सकृय सदस्य छु । अनि यस पालिको स्थानीय चुनावमा गा.पा.सदस्यमा चुनाव पनि लडे तर स्थानीय स्तरमा चुनाव लड्दा र अहिले सम्मको आबद्धताले यो कुरा प्रष्ट भयो कि यो राजनीति चाहि ठुलाबडाका लागि मात्र रहेछ । हामी जस्ता महिलाहरु प्रसार प्रसार र रैलीसम्म मात्र सीमित हुन्छिन् । उनीहरु सरोकारवाला बीच कुनै अस्तित्व रहेको हँुदैनन् बरु पुरुषलाई अनि अनि गन्तीमा ल्याउँछन् तर महिलालाई फिटिक्कै ल्याउदैंनन् । अझ आर्थिक स्थिति कमजोर भयो भने झन् कुनै अहमियत हँुदैन । रैली, आमसभा आदि परेको बेलामा भीड जम्मा गर्ने वा भीडमा जम्मा हुने काम बाहेक केही हँुदैन ।


तपाईको सामाजिक अनुभव कस्तो रह्यो ?
मैले राजनीति र सामाजिक कार्य संगसंगै थालेकी हुँ । राजनीति सकृय सदस्य भएनि खासै काम नभएकोले सामाजिक क्षेत्रमा बढी समय खर्चिए । विभिन्न संघ संस्थाले आयोजना गर्ने कार्यक्रमका लागि सहयोगी भूमिका निभाउँदै गरे । जस्तै कुनै सचेतनामूलक कार्यक्रम आयोजना हुन लाग्यो भने सहभागीहरु जुटाउने, कार्यक्रमको व्यस्थापन गर्ने, अनि कुनै तालिमको आयोजना हुन लागेको बेलामा सो तालिम लिएर आफ्नो जीवनमा केही फाइदा लिन सक्ने र समुदायलाई फाइदा दिन सक्ने व्यक्ति छनौट गर्न सहयोग गर्ने काम गर्दै आइरहेकी छु ।

तपाई आफ्नो राजनैतिक र सामाजिक कार्यबाट सन्तुष्ट हुनुभयो ?
हेर्नुस्, राजनीतिको कुरा गर्ने हो भने यो धनीमानीहरुको लागि उपयुक्त क्षेत्र हो जसले लगानी गर्न सक्छ उसले फाइदा लिने हो । म न धनी छु न पढेलेखिकी छु सो मेरो लागि राजनीति बुझ्न सक्नुहुन्छ । रह्यो कुरा सामाजिक कार्यको त म जब जुन संस्थाले कुनै कार्यक्रम आयोजन गथ्र्याे त्यसमा सहभागी जुटाउने, कार्यक्रमको व्यवस्थापन गर्ने कुनै घटना घट्यो भने त्यसबारे जानकारी गराउने र पीडितलाई न्याय दिलाउन सम्बन्धित निकाय सम्म पुर्याउने काम गर्थे । जसमा पीडितले न्याय पाउँदा वा कार्यक्रम सफल भएमा म पनि सन्तुष्ट हुने गर्थे । यति गरे बापत कहिले काही सम्बन्धित संस्था फोन खर्च वा खाजा अथवा रिक्साभाडा बापत २००÷४०० रुपैयाँ दिन्थे । तर त्यतिले पुग्दैनथ्यो आफैले खर्च गर्नुपथ्र्याे । अनि घरबाट खर्च लिएर समाज सेवा गर्दा गाली पनि खाइन्थ्यो । एकखालको सोच थियो कि समाजमा परिवर्तन गर्न केही त गर्नुपर्छ भनेर लागेकी थिए । तर घरपरिवार र बच्चाबच्ची भएपछि घरबाट लगानी गरेर समाज सेवा गर्न गाह्रो नै हुन्छ । म पनि सोच्न बाध्य भए कि यस्तो के गरु कि सेवा पनि होस् त आम्दनी पनि होस् सो होटेल खोले भने यो सम्भव हुन्छ भनी निश्चय गरे । अतः बच्चाहरुलाई पालनपोषण गर्न घर चलाउन कमाउनु पर्ने हँुदा निरुडे बैंकबाट ३५ हजार रुपैयाँ ऋण लिएर मैले एक वर्ष भइसक्यो खाजा पहल खोलेर बसेकी छु ।

तपाईले खाजा पसल नै किन खोल्नुभयो ?
मेरो मनमा सेवाभाव रहेकोले मैले खाजा पसल नै खोलेर बसे । बैंकबाट निकालेको ३५ हजार रूपैयाँले होटेलका लागि चाहिने भाँडाकँुडा, मसला, चिनी चियापत्ती, पिठो बेसन, प्याज आदि आवश्यक सरसामान किने र पसलको भाडा तिरे । अनि पसल संचालन गरें किनकि म अरुलाई सेवा पुगोस् भनी चाहना भएको व्यक्ति त्यस कारण मैले सोचे कि यदि मैले खाजा पसल खोले भने एकातिर त आम्दनी हुन्छ अर्कोतिर भोकाहरुको पेट भरिन्छ । अनि भोकाएकाहरुको पेट भर्नु नि एक थरिले पुण्यकै काम हो । मैले यदि अरु कुनै पसल खोल्थे जस्तै कस्मेटिक वा किराना अथवा अन्य कुनै खालको पहल भए मलाई आम्दनी त हुन्थ्यो तर मैले दिएको सेवाप्रति मलाई सन्तुष्टि हुदैन थियो । अहिले खाजा पसल खोलिसकेपछि सन्तुष्टि पनि भइरहेछ आम्दनी पनि भइरहेछ ।

कसरी सन्तुष्टि भइरहेछ अझ प्रष्ट पारिदिए हुन्थ्यो ?
मेरो पसल खजुराको शहादतपुर गाउँभित्र छ । जहाँ आसपास कैयौं ईट्टाभट्टाहरु रहेका छन् अनि त्यहाँ काम गर्ने मजदूरहरु प्रायः बाहिरबाट आएकाहरू छन् । जो मजदूर हरु दिनभरी मिहेनत गर्छन् ईट्टा भट्टामा अब दिनभरी मिहेनत गरी त्यसपछि उनीहरुलाई खाना बनाउन सक्ने जाँगर लाग्दैन । उनीहरु साँझ काम सकेर मेरो खाजा पसलमा आउँछन् अनि पसलमा पकाएको ताजा खानेकुरा ब्रेडपकौडा, खुर्सानी पकौडा, प्याज पकौडा, कबाब उसिनेको अण्डा, जेरी र चिया खान्छन् कोही कोही त रोटी पकाएर ल्याउँछन् अनि पकौडा संगै खाएर गुजारा गर्छन् । मेरो पसल समुदायका अन्य व्यक्ति र परिवार भन्दा बढी मजदूरहरु आउने गर्छन् मैले खास गरी मजदूरहरुलाई लक्षित गरी खाजा पसल खोलेकी हुं । मेरो पसल खुलेदेखि मजदूरहरु पनि खुशी छन् ।

उनीहरुको प्रतिक्रिया कस्तो हुन्छ त ?
उनीहरु खुशी हुदैं भन्छन् कि तपाईले पसल खोलेकोले हामीहरुलाई सजिलो भएछ । खाना पकाउनु पर्ने झन्झट हँुदैन । कहिले काहीं पकाउन जाँगर नलाग्दा भोकै सुत्नु पथ्र्याे भने कहिले सुख्खा रोटी खाएर किनभने तरकारी किन्ने र बनाउने मेसो मिल्दैन्थ्यो कहिले साहुले ज्याला नदिएकोले किन्न नसक्ने अवस्था हुन्थ्यो । तर पसल खुले देखि मजदूरहरुलाई भोकै सुत्नुपर्दैन म उधारोमा पनि उनीहरु खाजा खुवाउने गरिरहेछु जब उनीहरु ज्याला पाउँछन् तब तिर्छन् उनीहरुलाई धेरै सहजता भएको छ ।

अनि उधारोमा सामान दिंदा त हिसाब किताब राख्न खातामा लेख्नुपर्छ । तर तपाईले भन्नुभयो कि तपाईलाई पढ्न आउदैन भने कसरी हिसाब राख्नुहुन्छ त ?
म नपढे पनि पहिला विभिन्न समुहमा बसेर बचत गर्थे धेरै जसोको लेखाजोखा मैले नै राख्थे । कसले कुन महिनामा किस्ता बुझायो कसले बुझाएनन् सब हिसाब म नै राख्थे । त्यस कारण म आफैले लेख्न त सक्दिन तर रकमको अंक चाहिं बुझ्छु । यस कारण मेरो पतिले हिसाब किताब लेख्नुहुन्छ । हामी पति पत्नी मिलेर यो पसल संचालन गरेका छौं ।

उसो भए तपाईको पति पनि पसलमा बस्नु हुन्छ ?
हजुर, म नास्ता तयार गर्छु पतिले ग्राहकहरुलाई तयार खाजा अर्डर अनुसार दिनुहुन्छ अनि उधारो गरेकाहरुको हिसाब पनि उहांले नै राख्नु हुन्छ । म पसलभित्रको काम हेर्छु पतिले पसलका लागि चाहिने सरसामान किनेर ल्याउनु हुन्छ । हामी दुबै जनाले मिलेर पसल चलाउदैंछौं ।

पसलबाट भएको आम्दनीले पुग्छ त ?
हेर्नुस् , सानो खाजा पसल छ त्यस कारण धेरै आम्दनी न भएनि बैंकको किस्ता बुझाउन पसल भाडा तिर्न र घर परिवार चलाउन पुगिरहेछ । पसल चलिरहेको बेला दैनिक ४०००÷५००० सम्म आम्दनी पनि हुन्छ । तर वर्षातमा भट्टा बन्द भएपछि चार पांच महिना हाम्रो होटेल पनि ठप्प भइहाल्छ । तर पनि हामी पसल बन्द गर्दैनौं बरु थोरै खाजा बनाएर बेच्दछौं । जुनकि ४००० बाट २००÷३०० सम्म झरिहाल्छ ।

पसल खोल्ने कुनै निर्धारित समय छ ?
वर्षको कुरा गरौं त चार महिना सम्म त ठप्प नै हुन्छ । तर पसल चलेको बेलमा बिहान ४ बजे उठेर कुचो लगाइ, चुल्हो पोतेर भाडाकुडा धोएर नुवाइधुवाइ गर्छु । अनि पकौडाहरुको पीठो मुच्छु जेरीको घोल तयार पार्छु । सब ठीकठाक पारेर ६ बजे नास्ता तयार गरिसक्छु । १० बजे सम्म बिहिनको खाजा सकिन्छ त्यसपछि फेरी भाडाकुडा धोइ पखाली सफा गर्छु अनि सांझको खाजाको तयारी सुरु गर्छु । सब ठीक पारीसकेपछि एक बजे देखि फेरी खाजा बनाउन सुरु गर्छ साझंको खाजा राति सम्म चल्छ । ९ बजे सम्म पसल बन्द गरी पसलका भाडाकुडा सफा गर्छु अनि रातिको खाना बनाउन बस्छु खाना बनाएर खादां सम्म कम्तिमा ११ बजिहाल्छ अनि खाना खाएर हामी दुबै जना सुत्छौं ।

पहिले र अहिलेको अवस्थामा केही फरक छ ?
पहिलेको अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ । पहिला त पैसाको खाँचो पर्दा अरुको मुख ताकेर बस्नु पर्दथ्र्याे । सानो सानो इच्छाहरु मनभित्रै मार्नु पर्ने हुन्थ्यो । बच्चाहरुका आवश्यकता पुरा गर्न पनि गाह्रो हुन्थ्यो । अहिले त हात दुई चार हजार रुपैयाँ हुन्छ आफुले चाहेको कुरा किन्न सकिरहेकीछु । बच्चाहरुका लागि पनि आवश्यक कुराहरु जुटाउन सक्ने भएकीछु । पहिला त अरुले दिइदिए हुन्थ्यो भन्ने अवस्था थियो अहिले आवश्यकता परेकाहरुलाई चाहिने बेला मैले नि केही केही मद्दत गर्न सक्ने भएकीछु ।

समाजमा तपाईको यो कदमलाई कसरी लिइरहेछन् ?
समाज त यस्तै हो राम्रो गरे नि कुरा काट्छ नराम्रो गरे नि कुरा काट्ने नै हो । हामीले यो ठाउँमा पसल बढी चल्छ भनी सोचेर खोल्यौं । अब पसलमा बिहानै खाजा तयार गर्नु पर्ने र राति पनि काम गर्नु पर्ने हुँदा आफ्नो गाउँ जान भ्याउदिन् । गए भने ग्राहकले खोजेको समयमा खाजा तयार गर्न सक्दिन त्यसकारण पसलमै बस्छौं हामी । घरमा जेठो छोरा, बुहारी, नाति नातिना, माइलो छोरा र छोरी जो अहिले १५ वर्षकी भइन् बस्छिन् । समाजमा जसले बुझेछन् तिनले त सकारात्मक कुरा नै गर्छन् र भन्छन् केही छैन । जहाँ रोजगार चल्छ त्यहीं बस्दा फरक पर्दैन घरमा अरु परिवार त छदैंछ । तर जो नकारात्मक सोचका छन् उनीहरुले भन्छन् कि पैसा कमाउनु नै यिनीहरुको लागि सबभन्दा ठूलो कुरा हो । जवान छोरीलाई घरमा छाडेर आफुहरु अर्को गाउँठाउँमा बस्छन् । उनीहरुको कुरा सुनेर पनि नसुने झै गर्छ किनभने मेरो बच्चाहरुको भविष्य बारे मैले सोच्ने हो । तिनीहरुका लागि मैले गर्नुपर्ने हो त्यसकारण भन्नेले भन्दै गरुन् एकदिन आफै चुप लाग्नेछन् ।

तपाई र राजनीतिक सामाजिक क्षेत्रमा लामो समय कार्य गर्नु भएको छ अब तपाईको अगामी योजना के छ ?
राजनीतिक र सामाजिक क्षेत्रलाई मैले पुर्ण रुपमा छाडेकी छैन् । त्यस कारण अब राजनीतिमा स्थानीय स्तरमा राम्रो व्यक्ति उम्मेदवार भए उसलाई सपोर्ट गर्नेछु उस्तै पर्यो भने प्रचार गर्नै पर्यो भने पार्टी जुन भएनि व्यक्तिलाई महत्व दिनेछु । अनि सामाजिक क्षेत्रमा नि पीडितहरुलाई न्याय दिलाउन पहल गर्नेछु । बाँच्नका लागि आयस्रोत हुनु सबभन्दा बढी आवश्यक रहेकोले आफ्नो आम्दनी बढाउनका लागि यसै पसललाई अझ् बढाउनेछु र खाजाका अन्य परिकार पनि तयार गरी आफ्नो पसललाई ठुलो बनाउनेछु ।

अन्तमा केही भन्नु पर्नेछ भने ?
म यति भन्न चाहन्छु कि मानिसले यदि अठोट गरोस् र आफ्नो लक्ष्य प्राप्त गर्न लगनशील र मिहेनत गर्छ भने अवश्य नै सफल हुन्छ । त्यस कारण परिस्थिति जे जस्तो भएनि कहिले पनि हरेश खानु हँुदैन । बरु इमान्दारी र लगनशीलताका साथ लाग्नुपर्छ सफलता एक दिनमै प्राप्त नभए पनि एक दिन अवश्य नै प्राप्त हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया