नेपालगन्ज म्याराथनका आयोजकले यसअघिका ५ संस्करणमा शायद यतिको झमेला बेहर्नु परेको थिएन ।


अहिले यस प्रतियोगितामा सारा मुलुकका दृष्टि छ । कारण, कोरोना महामारीकै बिच नेपालमा आयोजना हुने बृहत खेल गतिविधिको रुपमा नेपालगन्ज म्याराथन दर्ज भएको छ । यसको सफलता वा असफलतासँग नेपाली खेलकुद चलायमान हुने वा अझै केही पर्खिने भन्ने तय गर्ने भएकाले पनि आयोजकका सामू अवसरका चाङसँगै चुनौतीका भीमकाय पहाडहरु खडा छन् ।
विश्वका अन्य राष्ट्रमा खेलकुदा गतिविधिले विस्तारै पुरानो लय पक्डिसक्दा पनि हामीकहाँ अझै पर्ख र हेरको अवस्था छ । केहीअघि मात्रै सरकारले खेल प्रतियोगिताका लागि प्रशिक्षणको अनुमति प्रदान गरेको छ । यस मानेमा पनि नेपालगन्ज शहर जो आफैंमा खेलाडीको शहरका रुपमा परिचित छ, उसले यसलाई पुनः एक प्रमाणित गर्ने अवसर पाएको छ ।


नेतृत्वको उदय हुने नै सङ्कटका बेला हो । सामान्य अवस्थामा त जोसुकैले पनि जस्तोसुकै काम फत्ते गर्न सक्छन् । कोरोना सङ्कटको कालो बादलका बिच पनि सम्भावनाका सेतो चाँदीको घेरा पहिल्याउनु नै नेतृत्वको दूरदृष्टिको द्योतक हो । नेपालगन्ज शहर र यसका बासी अहिले नेपाली खेलकुद गतिविधिलाई गति र दिशा दिने त्यही चाँदीको घेरा बनेर आएका छन् ।


खेलकुद र नेपालगन्जको साइनो सम्बन्ध निकै पुरानो हो । केही अघिकै कुरा गर्ने हो भने पनि हरेक दुई वर्षमा अयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदलाई तोकिएकै मितिमा सम्पन्न गर्ने श्रेय पनि नेपालगन्ज शहरले पाएको छ । आठौं राष्ट्रिय खेलकुदको सफल आयोजना गरेर नेपालगन्जले आर्जन गरेको विश्वासलाई फेरि एकपटक प्रमाणित गर्ने अवसरको रुपमा पनि आएको छ ‘नेपालगन्ज म्याराथन’ । आठौं राष्ट्रिय खेलकुदपछि चलायमान भएको नेपाली खेलकुदले मुलुकमा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागपछि थप गति लिएको थियो । संयोग कस्तो जुरेको छ भने कोरोना महामारीपछि झण्डै ९ महिनायता ठप्प रहेको मुलुकको आन्तरिक खेल गतिविधि पुनः नेपालगन्जबाटै शुरु हुँदैछ । त्यसकारण पनि यसको सफलताको कामना नेपालगन्जबासीले मात्रै हैन खेलकुदलाई मन पराउने असंख्य नेपालीले गरेका छन् । यो दुर्लभ एवं ऐतिहासिक क्षणको साक्षी हुनु नेपालगन्जबासीकै लागि पनि सुखानुभूति हो ।


यसपटक नेपालगन्ज म्याराथनको गरिमा प्रतियोगिताको निरन्तरताले मात्रै बढाएको छैन । आगामी वर्ष आयोजना हुने टोकियो ओलम्पिकको छनोटका रुपमा पनि प्रतियोगितालाई मान्यता प्राप्त हुनु अर्को सुखद पक्ष हो । प्रतियोगिता आयोजना भन्दा पनि त्यसको निरन्तरता प्रमुख हो भन्ने यसले पनि देखाएको छ । किनभने जुनसुकै प्रतियोगिता कसैको लहड र सनकका भरमा केही संस्करणसम्म तान्न सकिन्छ तर एउटै गति र उचाइमा प्रतियोगितालाई निरन्तर आयोजना गरिरहनु चाहिं साधना बराबर नै हो । त्यसका लागि तन्मयपूवर्क र मन, वचन र कर्मले लाग्नेका लागि जोखिम पनि उत्तिकै हुन्छ । जोखिमको चरण पार गर्दै कोभिडकालमा समेत प्रतियोगिताको निरन्तरता र अझ थप उचाइ चुलिंदै जानुले पनि नेपालगन्ज म्याराथनका पर्दा पछाडिका नायकहरुको साधना स्पष्ट भएको छ । तत्कालीन सशस्त्र विद्रोही माओवादी र सरकारबिच भएको विस्तृत शान्ति सम्झौताको सम्झनामा कुनै समय शान्तिको प्रतीकको आलोकमा उदय भएको नेपालगन्ज म्याराथनको स्वरुप परिवर्तन भएर अहिले खेलकुलदको विस्तृत र सघन विस्तारमा जोडिएको छ । समयक्रमसँगै नेपालगन्ज म्याराथनलाई पनि मुलकको परिवर्तित राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक अवस्था अनुरुप ढाल्ने मात्रै नभएर नेतृत्व प्रदान गर्ने अवसर पनि जुरेको छ ।


एथ्लेटिक्सलाई खेलकुदको राजा मानिन्छ । यसर्थ ठप्प रहेको खेल गतिविधिको पुनः बोहनी गर्न एथ्लेटिक्स अन्तर्गतकै म्याराथनलाई रोज्नु आफैंमा सुखद हो । यो सुखद समाचारको विस्तार र रुपान्तरण धारा नेपालगन्ज म्याराथनको सफलतासँग जोडिएकाले पनि यसमा अन्य कुनै कुराको गुञ्जाइस हुन हुँदैन । नेपालगन्ज शहर र नेपालगन्जबासीलाई अग्रिम शुभकामना र बधार्ई । (पत्रकार आचार्य वरिष्ठ रेडियोकर्मी हुन्)

प्रतिक्रिया

प्रतिक्रिया