
बाँकेको खजुरा बजारस्थित आधुनिक सुविधा सम्पन्न सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले आज शुक्रबारबाट थप सेवा प्रारम्भ गर्ने भएको छ । अस्पतालले आजबाट सर्जरी सेवा सुरु गर्न लागेको अस्पतालका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद आचार्यले जानकारी दिएका छन् ।
अस्पतालमा आज औपचारिक कार्यक्रम बीच संघीय सांसद नन्दलाल रोकायले अपरेशन थियटरको शुभारम्भ गर्ने छन् । अस्पतालले अपरेशन थियटर शुभारम्भ लगत्तै आजबाटै सेवा दिनेछ । ‘शुभारम्भ लगत्तै २÷३ वटा अपरेशन गर्ने तयारी गरेका छौं’, अस्पतालका कार्यकारी निर्देशक डा. आचार्यले भने ।
अस्पतालमा यसअघि ओपिडि, किमोथेरापी सेवा सञ्चालनमा रहेको थियो । अब अस्पतालमा रेडियोथेरापी सेवा सुरु गर्न बाँकी रहेको छ । ‘एक बर्षभित्र रेडियोथेरापी सेवा सञ्चालनमा ल्याउने हाम्रो योजना छ’, कार्यकारी निर्देशक डा. आचार्यले भने, ‘त्यसका लागि पहल भैरहेको छ ।’ रेडियोथेरापीका लागि आवश्यक पर्ने मेसिनरीको लागत झण्डै १६ करोड पर्ने बताइएको छ । ‘रेडियोथेरापी सुरु गर्ने हो भने क्यान्सरका बिरामी कुनै पनि सेवा लिन अन्त जानु पर्र्दैन’, कार्यकारी निर्देशक डा. आचार्यले भने ।
अस्पतालमा प्रदेश नं. ५, ६ र ७ का बिरामीहरु उपचारका लागि आउने गर्दछन् । दैनिक २० जनाको अनुपातमा बिरामीहरु उपचारका लागि आउने गरेका छन् । हाल अस्पतालमा ५४ जना कर्मचारी कार्यरत रहेका छन् ।
देशकै सुविधा सम्पन्न क्याबिन सहितका ५९ शैय्या जडान भैसकेको क्यान्सर अस्पतालमा ल्याब, एक्सरे मेसिन, रेडियोलोजी ब्लक, अत्याधिक सुविधा सम्पन्न अपरेशन थियटर तयार छ ।
२०६५ सालमा हाल खजुरा गाउँपालिकाका अध्यक्ष रहेका किस्मत कुमार कक्षपतिको अगुवाईमा संगठित स्थानीयबासीले महायज्ञ लगाएर क्यान्सर अस्पताल बनाउने मिसन सुरु गरेका थिए । अस्पतालका लागि समुदायले ४ विघा जग्गा र धनधाञ्यान्चल महायज्ञमार्फत सवा तीन करोड रुपैयाँ उपलब्ध गराएको छ । अस्पतालले हाल १ सय शैय्याको मान्यता पाइसकेको छ । अस्पतालले २०७५ साल असारमा बहिरंग सेवा सुरु गरेको थियो ।
आज निःशुल्क सर्जरी
बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा आज शुक्रबार निःशुल्क सर्जरी सेवा दिइने भएको छ । अस्पतालले आज शुक्रबार सर्जरी सेवा शुभारम्भको अवसरमा निःशुल्क सर्जरी सेवा दिन लागेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद आचार्यले सर्जरी सेवा शुभारम्भको अवसरमा शरीरमा गाँठा गुठी भएका, मासु पलाएका बिरामीहरुको निःशुल्क सर्जरी गरिने जानकारी दिएका छन् ।