सही पढ्नुभयो यही नै लेखिएको छ कि नलगाउनुस् बुर्का र नओढ्नुस् हिजाब किनभने जुन तरिकाले आजभोलि बुर्का र हिजाब लगाइन्छ त्यो शरीयतमा हराम छ, यसरी बुर्का र हिजाब लगाउन जुन तरिकाले लगाइएको देखिन्छ समाजमा त्यसरी जायज छैन । यसरी शरीयतको बरखिलाफ गएर फैशनका लागि लगाउने बुर्का र हिजाब लगाउनुको कुनै औचित्य नै छैन । त्यस कारण आज बुर्काभित्र र बुर्का बाहिर शीर्षक अन्तर्गत शरीयतले बुर्का लगाउन दिएको आदेशको कारण र आजभोलिको चलनचल्तीमा लगाउने गरिएका बुर्का वा हिजाब बारे जानकारी गराउनु हो ।


थाहा छ, यहाँ लेखिएका कुरा धेरैलाई मन नपर्ला धेरैको चित्त बुझ्दैनन् होला । तर यो लेख कसैलाई मन परोस् वा कसैको चित्त दुखोस् भन्ने उद्देश्यले यो पोस्ट लेखिएको होइन । यसको एउटै उद्देश्य छ कि सबै समक्ष सही जानकारी पुगोस् र भइरहेका गलतीहरुमा सुधार होस् ।
बुर्का अर्थात नकाब (हिजाब) भनेको आफ्नो शरीरलाई परपुरुषको हेराईबाट बचाउन लगाइने एक प्रकारको पहिरन हो । जुनकि आजभोलिका महिलाहरुका लागि फैसन भइसकेछ ।

आजभोलि जुन खालका डिजाइनदार फुलबुट्टे वाला शरीरका अंगहरु प्रष्ट झल्किने बुर्का लगाएर बजारमा हिड्दा हेर्न नचाहनेहरुको आंखा पनि उनीहरुको डिजाइनर बुर्काका कारण पर्न जान्छ । पुरै शरीरको बनोट प्रष्ट देखिने गरेका नकाब लगाउने ती महिलाहरुका घरका पुरुष पनि त्यस्तै हुन्छन् । जसले शरीयतको लागि लगाइने बुर्काको मजाक बनाएर हिड्ने महिलाहरुलाई रोक्न सकिरहेछैन ।


अझ केही त पाईन्ट शर्ट र स्कर्टमा नि हिजाब लगाएर यसरी हिड्छन् मानौं फेसन शो मा रैम्प वाक गर्दै हुन् । तिनका आफन्त पनि यस विषयमा मौन बस्छन् एक शब्द बोल्दैनन् कि यसरी शरीयतको मजाक नउडाइदेऊ भनी ।


अनि कोही त यस्ता अवसरवादीहरु रहिछन् जसले अरु बेला काँधमा दोपट्टासम्म हाल्दैनिन् दोपट्टालाई बोझ भन्छिन् । तर तिनैले फेरी मुस्लिमको नाममा हाइलाइट हुन् मीडियमा आउन र अवसर लिन बुर्का र नकाब अनि हिजाब लगाएर मुस्लिम हुं भनी प्रर्दशन गर्न पछि पर्दैनिन् । शरीरमा बुर्का हुन्छ तर मुख देखाउने गरी अनि शरीरमा हिजाब हुन्छ तर डिजाइनर लुगा देखाउने गरी ।


तपाईले बुर्का (नकाब) र हिजाब लगाउनुहोस् वा नलगाउनुहोस्, लगाउने वा नलगाउने तपाईको इच्छा । भनाइको तात्पर्य यो छ कि बुर्का नकाब वा हिजाब लगाउनु छ भने शरीयतले भने अनुसार लगाउनुहोस् अन्यथा नलगाउनुहोस् तर बुर्का नकाब र हिजाबको बेहुर्मती चाहिं नगर्दिनुस् । शरीयतले सुरक्षाका लागि दिएको आदेशलाई अवसरकार्डका रुपमा प्रयोग न गर्दिनुस् त्यसको दुरुपयोग नगर्दिनुस् । बरु नकाब र हिजाब नै नलगाउनुहोस् ।

आखिर के हो त यो बुर्का भनेको ?
हजुर बुर्का भनेको खास गरी मुस्लिम समुदायका महिलाहरुले विभिन्न रंग (विशेष गरी कालो रंग)को पुरै शरीर ढाक्ने गरी बनाइएको एकथरीको खुकुलो (लूज सिलाइएको) पहिरन हो । अनि यो कुनै खास रंग वा डिजाइनको नै हुनुपर्छ भन्ने छैन । बरु परपुरुषको हेराइबाट बच्नको लागि सुरक्षा हेतु लगाइने एक खालको खुकुलो पारी सिलाइएको लुगा हो ।

बुर्का कस्तो हुनु पर्ने त ?
यदि शरीयते इस्लामको कुरा गर्ने हो भने शयीयत अनुसार बुर्का शरीरको बनावट र पुरै शरीर ढाक्ने गरी खुकुलो सिलाइएको हुनुपर्छ । जसले गर्दा महिलाको अंगको बनावट जाहेर न होस् । जब शरीरको बनोट देख्दिन् तब मानिसहरुको त्यति ध्यानाकर्षण पनि हुदैंन् । तर आजभोलि बुर्का फेशनको रुप लगाइन्छ जसको सिलाई अनि बनावट यस्तो हुन्छ जसले शरीरको अंग जाहेर त गर्छ नै, साथै त्यसमा यति र यसरी बुट्टा र कढाई गरिएको हुन्छ जसले गर्दा मानिसहरु स्वतः आकर्षित भइहाल्छन् अनि नचाहदां नचाहदैं महिलालाई हेर्न बाध्य हुन्छन् । त्यस कारण बुर्का कालो नीलो सेतो रातो जुन रंगको भए पनि लगाइसकेपछि शरीरको कुनै अंग र बनावट थाहा नहुने गरी खुकुलो र लूज सिलाइएको हुनुपर्छ ।


बुर्का किन लगाउने गरिन्छ ?
मानिसका लागि धन सम्पति अर्थात सुनचांदी र रुपैयाँ पैसा आदि महत्वपूर्ण र मुल्यवान वस्तु हुन् जसलाई लुकाएर सुरक्षित साथ राखिन्छ । किनकि खुल्ला ठाउँमा राख्दा चोरी हुने डर हुन्छ । त्यसकारण जति सक्यो लुकाएर राख्ने गरिन्छ ताकि कसैले हेर्न नसकोस् । शरीयते इस्लाममा महिलालाई पनि हरेक तवरले महत्त्वपूर्ण र अनमोल भनिएछ । त्यस कारण अनमोल कुरालाई कसैको आंखा नलागोस् कसैले चोर्न न सकोस् भनी सुरक्षित साथ ढाकेर कसैले नदेखिने गरी राख्नुपर्छ । जसलाई अर्को शब्दमा भन्ने हो भने पर्दा गर्नु पनि भनिन्छ । अनि यस विषयमा कुरानपाक आयात नै नाजिल गरिएको छ ।


अलकुरानः सुरह नूर आयात ३०ः३१
“३०ः मुसलमान पुरुषहरुलाई आदेश देऊ आफ्नो आँखा (नजर) केही झुकाएर राखून् र आफ्नो गोप्यांगहरुको हिफजत गरुन् यो उनीहरुका लागि नै राम्रो हो निःसंदेह अल्लाहलाई उनीहरुको सबै कार्य बारे जानकारी छ ।
३१ःर मुसलमान महिलाहरुलाई आदेश देऊ आफ्ना आंखा (नजर) केही झुकाएर राखून् र आफ्नो अस्मिताको रक्षा गरुन् र आफ्ना श्रंगार नदेखाऊन् तर जति आफै जाहेर छ र उनी आफ्ना छातीमाथि दोपट्टा हालून् र आफ्ना श्रंगार जाहेर नगरुन् ।

बुर्का लगाएमा
बुर्का लगाएमा एक त शरीयतको पालना हुन्छ जसले गर्दा पुण्य प्राप्त हुन्छ अल्लाह खुशी र राजी हुन्छ । बुर्का लगाउँदा समाजमा पनि सम्मान मिल्छ र आखिरतमा पनि किनकि मोर्डन केटीलाई हेरेर एकछिन रमाउने त धेरै हुन्छन् तर विवाहका लागि शालीन, सभ्य, संस्कारी हयादार र सपर्दादार केटी नै मन पराउँछन् । अर्को बुर्का खराब नियतका व्यक्तिहरुको आँखा लाग्दैन । जसले गर्दा कारणवस घरबाहिर निस्किदा सार्वजनिक स्थलमा हुने यौनदुव्र्यहार, छेडछाड र बलात्कार जस्ता घटनाबाट जोगिन्छ । शरीर बुर्काले ढाक्दा लगाएका गरगहना पनि ढाकिन्छ । शरीरमा लगाइएका गरगहना ढाकियो भने चोर लुटेराहरुले हेर्न सक्दैनन् न देखे भने चोरी हुने लुटपाट हुने डर हँुदैन । शरीर ढाकेर हिड्दा यो फाईदा हुन्छ कि सनलाइट (शरीरमा सोझै पर्ने सुर्यका किरणबाट) र खुल्ला शरीरमा धुलोले पार्ने नकारात्मक असरबाट जोगिन्छ । चर्मरोग विशेषज्ञ एंव डाक्टरहरुको भनाइ अनुसार कपाल र अनुहार नछोप्दा अर्थात बुर्का नलगाएर हिड्दा सुर्यको किरण सीधा कपालमा पर्दा कपाल रफ्फ भइहाल्छ र कपाल खुल्ला राख्दा धूलो पर्नले चायाँ पनि बढी पर्छ । साथै अनुहारमा सुर्यको किरण सीधा पर्दा अनुहारलाई डडाल्दिन्छ साथै खुल्ला अनुहारमा धूलो बस्नले डन्टीफोर आउँछ । छाला सम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ । त्यसकारण बाहिर निस्किंदा सकभर पुरै जिउ ढाकेर छोपेर मात्र निस्किने गर्नुपर्छ । यसो गर्दा कुनै खालका नकारात्मक असर र छाला सम्बन्धी रोग लाग्ने सम्भावना कमै हुन्छ ।

किन नलगाउने बुर्का ?
शरीयते इस्लामले बुर्का नै लगाउने आदेश दिएको छैन तर शरीयतले यो प्रष्ट भनेछ कि महिला र पुरुष दुबैका लागि कि आफ्नो शरीरलाई ढाकेर राख । जस्तै पुरुषका लागि भनिएछ कि परनारीको हेराइबाट बच्नका लागि आफ्नो संवेदनशील अंगहरु ढाकेर राख्नुस् कि कम्मर देखि घुंडासम्मको भाग नदेखियोस् । अनि महिलाहरुले शरीरलाई परपुरुषको हेराइबाट बचाउन यसरी ढाक्नुहोस् की अनुहारका साथै शरीरको बनावट समेत नदेखियोस् ।


तर आजभोलिको फैशनयुगमा शरीयतको आदेशलाई समेत फैशन बनाईदिएछन् । अहिले जुनखाले बुर्का लगाइन्छ अनि जसरी हिजाब लगाइन्छ त्यो सरासर हराम छ अर्थात इस्लाममा यस्तो खाले बुर्का लगाउनु जायज छैन । जसलाई लगाएर शरीयतको पालना नै हँुदैन उल्टो परपुरुषहरु आंखा अझ बढी लाग्छ । पुरुष त पुरुष केहीले त यस्तो टाइट शरीरमै टाँसिएको बुर्का लगाएकी हुन्छिन् कि शरीरको अंग अंग जाहेर भइरहेको हुन्छ । अझ त्यसमाथि कसै कसैले त नेट (जाली) को चुनरी ओढेकी हुन्छिन् कि कपाल पुरै देखिन्छ भने कसैले जर्जटको दोपट्टा ओढ्छिन् जुन बेला बेलामा आफै टाउकोबाट खसेर कांधमा आइहाल्छ । भने कसै कसैले एक त शरीरमै टांसिने गरी बुर्का लगाएकी हुन्छिन् त्यसमाथि हिजाब यति सानो की काँधसम्म नि पुग्दैन छाती पुरै देखिरहेको हुन्छ मुख खुल्ला नै हुन्छ । कति त यस्ता पनि देखिन्छन् शरीरमा नकाब हुन्छ तर रिक्सामा पुरै अनुहार खुल्ला गरी पान र गुटखा चपाएर सडकमा प्याच्च प्याच्च थुक्ने गर्छिन् । कुनै रैली, जूलुस, स्टेज कार्यक्रम, महोत्सव वा सांस्कृतिक कार्यक्रम भयो भने त्यहां आफुलाई मुस्लिम हुं भनी मीडियामा हाईलाइट हुन र अवसर लिनका लागि बुर्का र हिजाब लगाएर फ्रन्टलाईनमा बस्छिन् भनाइको अर्थ अहिले बुर्का र हिजाब शरीयतका लागि नभएर अवसरकार्डका रुपमा प्रयोग गर्ने चलन बढेको छ ।

झट्ट हेर्दा त शरीरमा बुर्का हुन्छ तर शरीरका पुरै अंग र अनुहार देखिने गरी त्यसमा पनि डिजाइनदार बुट्टेदार जम्किने दम्किने खालका जसले गर्दा परपुरुष आकर्षित हुन्छन् र शरीयतले परपुरुषको हेराईबाट बचाउनका लागि नै शरीर ढाक्ने आदेश दिएको छ । तर शरीयतको आदेश विपरीत लगाईने फैशनवाला बुर्का र हिजाब लगाएर शरीयतको बदनाम र बुर्काको मजाक उडाउने हक कसैलाई छैन । त्यस कारण बरु नलगाउनुहोस् बुर्का र नओढ्नुहोस् हिजाब ।

प्रतिक्रिया

प्रतिक्रिया