अस्पतालमा भर्ना भएका बिरामीहरूलाई औषधि ख्वाउने, सुई लगाउने तथा बेला–बेलामा रक्तचाप अर्थात ब्लडप्रेसर नाप्ने सेतो गाउनमा सजिएका महिलाहरूलाई नर्स भनिन्छ । सामान्य अवस्थामा नर्सको काम यत्ति नै हो भन्ने हामीले बुझेका छौं । नर्सको काम, कर्तव्य र अधिकार अस्पतालभित्र पनि उनको योग्यता र पदले निर्धारण गरेको हुन्छ ।


नर्सिङ अध्ययनमा विभिन्न तह हुन्छन् । अ.न.मी., स्टाफ नर्स (पी सी एल नर्सिङ), बी एन र एम एन गरी सामान्य तालिमदेखि मास्टर डिग्री सम्मको अध्ययन अन्य संकायमा जस्तै यसमा पनि हुन्छ । त्यसैगरी नर्सको पद सिस्टरदेखि मेट्रोनसम्म वा पाँचौं तहदेखि एघारौं तहसम्म हुन्छ ।
मानव स्वास्थ्यमा नर्सको भूमिका अतुलनीय र सह्रनीय छ । रोग निवारक स्वास्थ्य सेवाको कुरा गर्ने हो भने गम्भीर र चिन्ताजनक अवस्थामा रहेका बिरामीहरूलाई अस्पतालमा भर्ना गर्नुपर्ने हुन्छ । उनीहरूको नियमित परीक्षण गर्नुपर्ने, सही मात्रा र समयमा औषधि दिनुपर्ने तथा पोषण र पानीको मात्रा पनि परीक्षण गर्नुपर्ने हुन्छ । कतिपय बिरामी मानसिक सन्तुलन गुमेको, शारीरिक रूपले अशक्त, दुर्गन्धित, आफ्ना मानिस नभएका तथा अत्यन्त पीडामा रहेका पनि हुन्छन् । त्यस्तो अवस्थामा उपचारमा संलग्न चिकित्सकले दिएको औषधि मात्र पर्याप्त हुँदैन । बरु बिरामीलाई औषधीसंगै सम्पूर्ण स्याहार गर्ने, रोगका बारेमा बताउने, परामर्श दिने र पाएको जीवनको कदर गरी बाँच्नुपर्छ भन्ने उत्साह र भावना समेत सिर्जना गर्ने, प्रेरणा दिने र चौबीसै घन्टा प्रत्यक्ष निगरानीको जिम्मेवारी बहन गर्नुपर्छ जुन काम गर्ने नर्सहरू नै हुन् ।
त्यसका साथै वार्डको सम्पूर्ण वातावरणको व्यवस्थापन गर्ने जिम्मेवारी पनि नर्सकै हुन्छ । स्वास्थ्य क्षेत्रमा नर्सहरु बिनाको सेवा कल्पना नै गर्न सकिंदैन् । नेपालमा मात्र होइन् संसारका हरेक मुलुकमा नर्सको महत्व र भुमिका उत्तिकै रहेको पाइन्छ ।


त्यस कारण आज हामी यही पेशासंग आबद्ध रही विगत १७ वर्ष देखि निरन्तर यस क्षेत्रमा सेवारत रहेकी नेपालगन्ज वार्ड नं. ३ बुवा स्वर्गीय उमर फारुकीकी छोरी अर्थात एक जना ३७ वर्षीय अविवाहित मुस्लिम महिला कोहेनूर फारुकीसँग उहाँको कार्यानुभव बारे गरिएका कुराकानी उहाँको अनुमतिमा साझा गर्दैछौं ।


अस्सलामो अलैकुम
वालैकुम अस्सलाम
आरामै हुनुहुन्छ?
हजुर आरामै छु ।


तपाईको कार्य व्यस्तता कतातिर के कति छ?
म पेशा र जिम्मेवारीले नर्स हुँ त्यस कारण स्वास्थ्य क्षेत्रमा विशेष गरी लागेकी छु । अनि एउटा ब्यूटीपार्लर पनि खोलेकी छु । जसमा मेरी बहिनी र एक जना स्टाफ बस्छिन् ।

तपाईले नर्सिंग कहिले र कुन तह उत्तिर्ण गर्नुभयो ?
हजुर, मैले नर्सिंगमा बी एन वि.स. २०६० सालमा व्यक्तिगत लगानीमा पास गरे । व्यक्तिगत लगानी यस कारण भने किनकि त्यतिखेर कोटाको व्यवस्था थिएन् सो मेरो बुवाले आफ्नो लगानी लगाएर पढाउनुभयो । मलाई करिब १७ वर्ष भयो यो क्षेत्रमा कार्यरत रहेको ।

तपाईको पेशाबाट तपाई सन्तुष्ट हुनुहुन्छ ?
हजुर म आफ्नो पेशाबाट एकदमै सन्तुष्ट छु यदि असन्तुष्ट भएकी भए त किन यतिका वर्ष यही क्षेत्रमा कार्य गर्थे । तर केही कुरामा अथवा यस क्षेत्रा रहेका केही व्यवस्थाबाट असन्तुष्ट छु ।

उसो भए यस क्षेत्रमा त्यो कुन कुरा हो जसमा तपाईलाई असन्तुष्टि छ ?
हेर्नुस्, नर्सिंगको पढाइ गर्नु त्यति सहज हुदैंन । जीवनदान दिन आफुले योगदान दिने क्षेत्र हो । तर यति मिहेनत र लाखौंको आर्थिक लगानी गरी पढेर आउँदा उनीहरुलाई एक दमै थोरै तलबमा काम गर्नुपर्छ । किनभने यो क्षेत्रमा जहाँ गयो दुई वर्ष तीन वर्षको कार्यानुभव माग्छ त्यही कार्यानुभवका लागि पनि मिहेनत अनुसार ज्याला नपाई सुरुआतमा मात्र रु.२००० वा रु.३००० पनि काम गर्नुपर्छ । अनि खास गरी प्राईवेट अस्पतालमा त अझ् श्रमको मुल्यांकन गरिदैंन । मलाई त्यही कुराले चित्त बुझ्दैन् । ठीक छ उससंग कार्यानुभव नभए नि उसले दिनरात खटेर गर्ने मिहेनतको त आर्थिक मुल्यांकन गरिनुपर्छ कम से कम ।

हालसम्म तपाईको कार्य अनुभव कस्तो रह्यो ?
मेरो कार्यानुभव सुरुवातको त्यस्तै थियो जस्तो अरु पढेर आउने नर्सिंगका विद्मार्थीहरुको हुन्छ सुरुआतमा आर्थिक मुल्यांकन थिएन् । तर निरन्तर काम गरिरहँदा मेरो काम र लगनशीलताको मुल्यांकन गरियो आर्थिक रुपमा पनि अनि पदीय रुपमा पनि ।

तपाईको योगदानको आर्थिक र पदीय रुपमा मुल्यांकन कसरी गरियो अलि प्रष्ट पार्नुहुन्छ कि ?
आर्थिक मुल्यांकन गरियो भन्नाले मेरो मिहेनत अनुसार तलबको व्यवस्था गरियो अनि पदीय रुपमा भन्दा खेरि मलाई अस्पतालमा विभिन्न डिपार्टमेंटमा इन्चार्ज बनाइयो । अब अहिलैकै कुरा गर्ने हो भने मलाई अहिले पी.आइ.सी.यू (एक्ष्ऋग्) को इन्चार्ज बनाइएछ । जसमा आउने बिरामीहरुलाई निको भइ फर्किन मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी र दायित्वहरु हर सम्भव पुरा गर्ने प्रयास गरिरहेकी हुन्छु ।

यो पेशालाई अझ प्रभावकारी बनाउन गर्नुपर्ने के छ ?
अब हरेक क्षेत्रमा समावेशीको कुरा चलिरहँदा यो पेशामा पनि अन्य पछाडि परेका समुदायलाई अगाडि ल्याउन पढ्नका लागि सरकारले मुस्लिम मधेशी दलित लगायत पछि परेका समुदायका लागि निशुल्क पढ्न पाउने भनी कोटाको व्यवस्था गर्नुपर्छ । अनि नर्सहरुसंग गरिने व्यवहारमा सुधार गरिनुपर्छ । जस्तै नर्सहरुको कुरा गर्ने हो भने कहीं कतै केही अलिकति बिग्रियो कारणवश कुनै कुरामा ढिला भयो भने सबभन्दा पहिला बिरामीका कुरुवाहरुको तिता शब्द सुन्नुपर्छ त्यसपछि डाक्टरले नि आफ्ना रिस नर्समाथि नै खनिन्छन् । त्यस कारण नर्सहरुसंग सभ्य न नरमभाषामा कुरा गर्नुपर्छ ।

तपाई विगत १७ वर्ष देखि यो स्वास्थ्य सेवामा प्रत्यक्ष कार्य गरी रहनु भएछ । यस दौरान समुदायमा स्वास्थ्य सम्बन्धी चेतना कस्तो पाउनुभयो ?
पहिला पहिला त मानिसहरु स्वास्थ्य सम्बन्धी धेरै लापरवाही गर्थे डाक्डर कहां जचाउन जादैनथे । घरमै घरेलु उपचार वा उपाय अपनाउने गर्थे । प्रजनन स्वास्थ्य र गर्भवती जांच र सुत्केरी आदिमा पनि धेरै लापरवाह थिए । तर अहिले त्यस्तो छैन् अहिले त रोग लाग्न साथ डाक्टरकोमा जचाउन आउछंन् । बिरामीलाई निको हुन दिएको सल्लाहहरु मान्छन् । प्रजनन स्वास्थ्य बारे पनि जागरूक भएछन् । गर्भवतीहरुको नियमित चेकजांच गराउंछन् सुत्केरी पनि घरमा नगराई अस्पतालमा गराउंछन् । तर एउटा कुराको बारेमा अधुरो ज्ञान भएको जस्तो देख्दा चित्त दुख्छ ।

कस्तो खाले अधुरो ज्ञान देखेर चित्त दुख्छ ?
हेर्नुस् , सबै कुरामा जागरूक छन् र सकभर डाक्डरले बताएका उपायहरु पनि मान्छन् तर मेरै समुदायका र अन्य समुदायका नि अहिले पनि केही व्यक्तिहरु यस्ता आउंछन् जसले परिवार नियोजनको साधन अपनाउदैंन् अनि बसेको अनस्पेक्टेड गर्भलाई गर्भपतन गराउन आउंछन् । गर्भपतन गराउनु भन्दा त परिवार नियोजनका साधन अपनाए तपाईलाई पनि कष्ट सहनु पर्दैन् र एउटा अबोध शिशु जसको कुनै दोष हुदैंन् त्यसको ज्यान पनि जोगिन्छ भनी उनीहरुलाई भन्दा उनीहरु भन्छन् कि परिवार नियोजन साधन अपनाउनु पाप हो त्यस कारण अपनाउँदैनौं । म तिनीहरुलाई भन्छु कि एउटा अबोध शिशुको ज्यान लिनु पुण्य पक्कै होइन । त्यसकारण एउटा बच्चाको ज्यान लिनुको सट्टा परिवार नियोजनको साधन अपनाउनुहोस् । तर मान्दैन्न् यही कुराले मन दुखि हुन्छ ।

यो बाहेक तपाईलाई दुखी तुल्याउने क्षण वा अवस्था छन् की ?
यो बाहेक बढी दुख लाग्ने त्यतिबेला हो जब नर्सहरु दिनरात खटेर बिरामीहरुको सेवा गर्छिन् बिरामीहरुको स्याहार गर्छिन् । सरुवा रोगका रोगीहरुलाई पनि घृणा नगरीकन हेरचाह गर्छिन् । तर यति गर्दागर्दै पनि जब बिरामी र बिरामीका कुरुवाहरुले उनीहरुको मिहनेतको कदर नगरी झर्केर कुरा गर्छन् । आफ्नो बिरामीलाई मात्र हेर्न अह्राउछंन् । अर्को सिकिस्त बिरामी हुदां त्यसको समस्यालाई नहेरी पहिला आफ्नो बिरामीलाई हेर्न झगडा गर्छन् , तब मन एकदमै दुखी हुन्छ ।

अनि नर्सहरुका लागि खुशीको क्षण कहिले हुन्छ ?
हुन त डाक्डरलाई भगवान भन्छन् तर ती डाक्डरहरु यहाँसम्म कि पुरै स्वास्थ्य क्षेत्र नै नर्स बिना अपुरो अधुरो हुन्छ । एउटा डाक्टरको सफल शल्यक्रियामा, एउटा गर्भवतीको सुत्केरी गराउनमा नर्सहरुको अहम् भुमिका रहेको हुन्छ । डाक्डर ले त शल्यक्रिया गरेर गइहाल्छन् त्यसपछि हेरचाह, समयानुसार समय समयमा औषधी खुवाउने जिम्मेवारीहरु नर्सकै हुन्छ । सुत्केरी गराउनु पुर्वको तयारी र सुत्केरी पछिको सरसफाई आदि गर्ने नर्स नै हुन्छिन् । त्यसकारण कुनै शल्यक्रिया सफल भएको बेला खुशी लाग्छ, कुनै गर्भवतीको सफलता साथ सुत्केरी पश्चात कसैले पुनर्जीवन पाएको खुशी लाग्छ । अस्पतालमा भर्ना रहेका बिरामीहरु निको भएर घर फर्किंदा खुशी लाग्छ । त्यतिबेला नर्सहरुलाई लाग्छ कि आफुले सही पेशा अपनाएकीछु ।

यस क्षेत्रमा यदि सुधार गर्नु परे के सुधार भइ दिए राम्रो हुन्थ्यो ?
हामीलाई अरु थोक केही चाहिदैंन त्यही हो नर्सहरुको मिहनेत अनुसार आर्थिक मुल्यांकन गरियोस र अनि बिरामी र बिरामीका कुरुवाहरुले हाम्रो समस्या बुझिदिनुपर्छ हामी रातिको ड्युटी गर्दा आफु जागेर बिरामीको हेरचाह गर्छौं आफ्नो थकाइको परवाह नगरीकन बिरामीहरुलाई निको हुन सहयोगी भुमिका हरक्षण निर्वाह गरेकै हुन्छौं । किनकि हामी बिरामीलाई निको बनाउन सहयोगी भएरै बसेकाछौं त्यस कारण बिरामी वा बिरामीका कुरुवाहरुले हामीलाई दबाव दिएर, झर्केर वा असभ्य व्यवहार नगरी बरु हामीहरुको काममा सहयोग गरिदिन हामीले भनेका वा दिएका सल्लाहहरुलाई व्यवहारमा उतारेर सहयोगी भुमिका निर्वाह गरिदिए हामीलाई पुग्छ ।

अन्तमा समुदायका लागि केही सुझाव छ भने ?
म आफु नर्स हुँदाहँुदै ब्यूटीपार्लर पनि खोलेकी छु । जसमा बहिनी र समुदायका अन्य महिलाहरुलाई कर्मचारी राखेकी छु । उनीहरुले मिलेर पार्लर चलाउँछन् । हाम्रो पार्लरमा अरुलाई ब्यूटीशियनको तालिम पनि दिइन्छ । फुलकोर्सको ३० हजार लिईन्छ जसमा ६ महिनाको सिक्ने समय अवधी हुन्छ र यदि कसैले त्यति समय सिक्न सकेन् भने हामी उसलाई सिक्न थप समय पनि दिन्छौं । त्यस कारण म समुदायलाई यति भन्न चाहन्छु कि छोरीहरुलाई पनि अगाडि बढ्ने अवसर दिनुस् । उनीहरुमा पनि क्षमता दक्षता हुन्छ त्यस कारण उनीहरुलाई उनका क्षमता दक्षता अनुसार योगदान दिने अवसर प्रदान गर्नुस् । छोरीहरुलाई शिक्षा दिनुस् । आफ्नो स्वास्थ्यको ख्याल राख्नुस् ।

प्रतिक्रिया

प्रतिक्रिया