देबेन्द्र राज पौडेल
गत बर्षभरी बाँकेका १२ जना गर्भवतिको मृत्यु भएकोमा चालु आ.व.मा चार महिनामै बाँकेका १२ जना आमाको ज्यान गएको हो
बाँकेमा आमाको मृत्युदर ह्वात्तै बढेको छ । बाँकेमा गत बर्ष ३० बढी आमाहरुको मृत्यु भएको थियो । जसमध्ये १२ जना बाँकेका थिए । चालु आ.व.को चार महिनामै १२ आमाको अस्पताल, घर तथा उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।
‘आमाको मृत्यु घटाउने प्रयास भैरहेका बेला यस बर्ष ह्वात्तै बढेको छ’, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीर जंग शाहले भने, ‘यो चिन्ताजनक विषय हो ।’ शाहले अस्पतालमा आमाको मृत्यु भएपछि त्यसको कारण खोजिएपनि उपचारका प्रक्रियामा लापरवाही भने नपाइएको बताए ।
कोरोना जोखिमका कारण भएको लकडाउनका बेला स्वास्थ्य सेवा प्रभावित रह्यो । मानिसहरु सकभर अस्पताल जान हिच्किचाउने तथा अस्पताल पनि संक्रमणको चपेटामा आएपछि सेवा प्रभावित रह्यो । कोरोना जोखिमका कारण नियमित रुपमा गर्भवतिको स्वास्थ्य चेकजाँच नहुँदा पनि मृत्युको संख्या बढेको अनुमान स्वास्थ्य क्षेत्रका अधिकारीहरु बताउँछन् ।
‘गर्भवतिको नियमित स्वास्थ्य चेकजाँच नहुँदा पनि गर्भवति आमाको स्वास्थ्य जटिल भएको हुनसक्छ’, एक स्वास्थ्यकर्मीले भने । ‘अस्पतालसम्म पुगेका आमाको मृत्यु अर्को चिन्ताको विषय हो’, स्वास्थ्यकर्मी भन्छन्, ‘नियमित स्वास्थ्य चेकजाँच नहुँदा, गर्भवतिको पोषणदेखि रेखदेखमा लापरवाही हुँदा पनि गर्भवति आमाको ज्यान जोखिममा पर्ने गरेको छ ।’ स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाह स्वास्थ्यको जिम्मेवारी पाएको स्थानीय तह गर्भवतिको स्वास्थ्यका सम्बन्धमा जिम्मेवार हुनुपर्ने बताउँछन् ।
सहज बन्दै उपचार सेवा !
स्वास्थ्य कार्यालयबाट हुने औषधी आपूर्तिमा समस्या
कोरोना संक्रमणको जोखिमका कारण प्रभावित रहेको स्वास्थ्य क्षेत्र बिस्तारै सुचारु भएको छ । कोरोना कहरका बेला अधिकांस साना स्वास्थ्य संस्थाहरु बन्द नै रहे । ठूला अस्पतालहरुमा समेत एक जना संक्रमित फेला परे शिल गरियो । कोरोनाको जोखिम अहिले पनि उत्तिकै छ । तर, हाल अस्पतालहरुमा कोरोना संक्रमित पुष्टि भएपनि बिरामी तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आइसोलेसन गरी स्वास्थ्य सेवा भने सुचारु नै राख्ने गरिएको छ ।
‘लकडाउन खुकुलो भएसँगै स्वास्थ्य सेवा सहज बन्दै गएको छ’, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह भन्छन्, ‘अवस्था पहिले जस्तो जस्तै जिल्लाका स्वास्थ्य संस्थाहरुले सेवा दिइरहेका छन् ।’
कोरोनाका कारण विभिन्न खालका खोप पनि प्रभावित रह्यो । ‘चैत्र, बैशाख, जेठमा खोप लगायतका कार्यक्रम प्रभावित रहे’, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाह भन्छन्, ‘अहिले अवस्था केही सहज छ ।’
जिल्लामा खोप गत बर्षको तुलनामा घटेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । भिटामिन ए, क्षयरोग लगायतका औषधी नियमित छैनन् । ‘कहिले कुन त कहिले कुन औषध अभाव झेलिरहनु परेको छ’, स्वास्थ्य कार्यालयका एक अधिकारीले भने, ‘संघबाट प्रदेशमा औषधि आपूर्तिको जिम्मा गएपछि समस्या झन् थपिएको छ ।’ हाल स्वास्थ्य कार्यालयमा वितरणका लागि आउने औषधी प्रदेश आपूर्ति केन्द्र बुटवलबाट आउने गरेको छ । यसअघि क्षेत्रीय मेडिकल सेन्टर नेपालगन्जबाट औषधीको आपूर्ति हुने गर्दथ्यो ।