
नेपाल देश भूगोलमा सानो छ भन्छन् तर नेपालभन्दा पनि साना देशहरु संसारमा सयभन्दा धेरै छन् । कसरी नेपाल मात्रै सानो देश हो, यो आखाँको नानी जत्रो देश हो भनेर भन्ने दुस्साहस गरे ? कसले यो सानोको भ्रम नेपालीहरुमा फैलायो यसको खोज र अनुसन्धान हुन जरुरी छ । नेपालको भूगोललाई छिमेकीहरुको भूगोलसँग दाँजेर मात्रै यसको भूगोलको ब्याख्या गर्ने अधिकार कुन चाँहि दिवादिया मानसिकता बोकेको बुद्धिजीवीले पायो यसको पनि खोजी अवश्य गर्न जरुरी छ । नेपाललाई सधैं गरिब र अविकसित देश भनेर आज पर्यन्त भन्दै र पढाउँदै आइएको छ । यो दुषित र घृणित कामको शुरुआत कसले गरेको हो ? यसलाई वैधानिक बनाउनेहरु कसका प्यादा थिए भन्ने पनि खोजी गर्नै पर्छ । नेपाल त एउटा कालखण्डमा बिकासको केन्द्र बिन्दु पनि थियो भन्ने कुरालाई किन लुकाइयो ? नेपालीहरु गरिब भनेर कसरी भनियो ? के के आधारहरु हुन गरिबीका ? के आफ्नो घरखेत बेचेर या आफ्नो बारी बाँझो राखेर अर्काको काममा जाने र बहुराष्ट्रिय कम्पनीको समान किनेर उपभोग गर्ने या दुध बेचेर चिसो खाने वा विदेशीका मदिराहरु पिउनेहरुतयार गरेर नै आजको गरिबीको अन्त्य हो त ? यसको पनि अनुसन्धान जरुरी छ ।
कुनै पनि देशको सार्वभौमसत्ता कहिल्यै पनि सानो हुँदैन । भूगोल या त्यस देशको अर्थतन्त्रको आकारले मात्रै कसैको सार्वभौमसत्ता कम या बेसी भन्ने मानसिकता भनेको त वर्तमान युगको अति भौतिकवादी सोंच र यसका पक्षधरहरुको अहंङ्कार मात्रै हो । नेपालको सार्वभौमसत्ता अमेरिका या चीन या इण्डिया कसैको भन्दा पनि कम हुनै सक्दैन । तर पछिल्ला दिनहरुमा यी देशहरुको मनसाय नेपालको सार्वभौमसत्तालाई न्यून आँकेर हेर्ने नै रहेको यिनीहरुले नेपालको सीमाका बारेमा व्यक्त गरेका अभिव्यक्तिहरु र विज्ञप्तिहरुले देखाइरहेका छन् ।
नेपालको अविच्छिन्न भूमि पश्चिम सीमानाको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई दक्षिणको छिमेकीले आफ्नो कब्जामा राख्दै त्यहाँ तमाम भौतिक संरचनाहरु बनाएको मात्रै छैन आफ्नो सैन्य अखडा समेत बनाएको छ । नेपालको दक्षिण सीमामा धेरै ठाउँमा आज पनि नेपालको भूमि अतिक्रमण गर्ने हातहतियार सहित सुरक्षा फौजहरु नेपाली भूमिमा प्रवेश गर्ने र नेपाली नागरिगहरुलाई कुट्नेपिट्ने मार्ने गरेका घटनाहरु बेग्रेति छन् भने यो क्रम आज पनि रोकिएका छैनन् । यी मुद्दाहरुलाई नेपालका राजनीतिक पार्टीहरुले आफ्नो राजनीतिक सिद्धान्त मिलेकै भरमा वा वारीपारी बस्ने समुदायहरुको भाषा धर्म आदी मिलेकै भरमा भोटबैंकको चिन्तन गर्दै प्रतिकार गर्न र राज्यको तहबाट बिरोध गर्ने आँट नगरेका उदाहरणहरु धेरै छन् ।
नेपालको तीन तिरको मात्रै यो बेथा होइन । नेपालको उत्तर तर्फको छिमेकी चीन भनेको पनि नेपालको सार्वभौमसत्ताको सम्बन्धमा उस्तै उस्तै व्यवहार गर्ने छिमेकीको रुपमा देखिँदै आएको छ । स्वभावले नै ब्यापारीक मानसिकता बोकेको र राष्ट्रिय नीति नै अन्य कुरालाई भन्दा ब्यापारलाई नै बढि महत्व दिने गरेको चीनले सामान्य रुपमा हेर्दा नेपालको आन्तरिक मामिलामा दक्षिणको छिमेकीले जस्तो कुनै पनि किसिमको सूक्ष्म व्यवस्थापन गरेको देखिँदैन जसलाई नेपाली राजनीतिका गल्ली चोक चौताराहरुमा चीन निकै भलाद्मी, नेपालको सार्वभौमसत्तालाई सम्मान गर्ने गरेको भनेर उसको छवि बनाइएको छ । तर कुनै समय सगरमाथा नै आफ्नो भन्ने गरेको चीनियाँ हरकत र नेपालको उत्तर तर्फका बिभिन्न दुर्गम स्थानहरु लगायत हुम्लामा गाउँ नै तिब्बततिर लगेका घटना देखि हालैको नेपाली सीमाना भित्रै पसेर आठ नौ वटा घरहरु नै बनाएको भन्ने समाचारहरुले चीनले नेपालको सार्वभौमसत्तालाई सम्मान गरेको छ भन्न मिल्ने ठाउँ रहेको छैन । यसमा नेपालमा रहेका चीनलाई आफ्नो मित्र मान्नेहरु र चीनका माओलाई आफ्नो आर्दश मान्नेहरुले चिनका यस्ता नेपालको सार्वभौमसत्ता माथि गरिएका अतिक्रमणहरुलाई ढाकछोप गर्ने र सकेसम्म प्रचार हुन नदिने गरेको पनि पाइन्छ । कतिपय नेपालका मिडिया हाउसहरु र मिडियाकर्मीहरु समेतलाई इण्डियाको प्रलोभनमा परेर चीनको बिरोधमा लेखेको पनि भन्ने गरिन्छ । तर यहाँ त हिजोको त्यो रसियामा होस या चीनमा आजपनि नेपालका कम्यूनिष्टहरुका छोराछोरीहरुका लागि छात्रबृतिका अघोषित कोटा राखिएका छन् । इण्डियाले पनि घोषित रुपमा नै यस्ता कोटाहरु बाँड्ने देखि बिभिन्न खाले सहयोगका प्याकेजहरु बाँड्ने गरेको छ ।
साँच्चिकै नै भन्ने हो भने त यी दुवै छिमेकीहरुका नीति खुला या गोप्य रुपमा नेपालीहरुलाई सहयोग गरेको नाममा वा अन्य कुनै पनि बहानामा नेपाललाई हेप्ने नै हो भनेर किन नबुझ्ने ? कालापानी लिपुलेक देखि सुस्ता र भद्रपुर सम्म इण्डियाले नेपालको भूभाग मिचेको छ । त्यहिँका सेना प्रमुख नेपालको त्यो भूमिको बारेमा कसैको (चीनको) उक्साहटमा नेपालले आफ्नो भनेको भनेर भन्छन् तर उनकै प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्टपति सी ले चार बर्ष अघि अर्काको भूमिमा ब्यापारिक नाका खोल्ने सम्झौता गरेर दुबै देशले नेपालको सार्वभौमसत्ता माथि संयुक्त रुपमा आक्रमण गरेको शायद स्वीकार गर्दैनन् । उनी त नेपालको भ्रमणमा आएका बेला हाम्रा कसैले पनि उनको त्यो बयानबाजीसच्चाउन लगाउँदैन बरु उल्टो पदबी दिएर सलाम ठोक्छन् ।
नेपालका देखावटी रुपमा उत्तरतिरलाई आर्दश मान्ने केहि राजनीतिक पार्टीहरु इण्डियन विस्तारबादको विरोध गरेर यहाँ राष्ट्रबादको भकारी भर्ने गर्छन् । चीनले उत्तरतिरबाट सयौं किलोमीटर भूभाग मिच्दा चीनको यो विस्तारबादको बारेमा कुनै कम्यूनिष्टहरू होस या सत्ताधारी प्रतिपक्ष बोल्नै चाहँदैन किन ? के चीनसँग यिनीहरू सबैको सेटिङ भएको हो ? के चीनले भूभाग मिच्दा राष्ट्रबाद र सार्वभौमसत्ता खतरामा पर्दैन त ?
नेपाल सधैं यी दुइ शक्तिशाली र विशाल देशहरूको चपेटामा पर्दै आफ्नो अस्तित्वको रक्षा गर्न पर्ने बाध्यतामा छ । यसलाई नै बुझेर बडामहाराज पृथ्बीनारायण शाहले नेपाललाई दुइ ढुङ्गा बीचको तरूलको रूपमा ब्याख्या गर्दै ढुङ्गाको शक्ति र यसको निर्जिवताको प्रहारबाट तरूल रूपि नेपालले आफुलार्ई बचाइ राख्न निरन्तर होशियारीका साथ सह अस्तित्व र सहसम्बन्ध राख्नु पर्ने कुरा अढाइसय बर्ष अधि नै बताउनु भएको थियो । नेपालले सामरीक रूपमा यी दुइ राष्ट्रुसँग लडेर आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न सक्दैन भन्ने कुराको हेक्का २५० बर्ष अगाडी नै हाम्रा राष्ट्र निमार्तालाइ थाह थियो । यसबाट वहाँको दुरदर्शीता कति थियो भन्ने कुरा वर्तमान नेपालले यी छिमेकीहरुबाट भोगेको साँध मिचाहा प्रबृतिले नै पुष्टि गरिसकेको छ ।
आज देश चलाउने र आलोपालो देश चलाइरहेका राजनीतिक पार्टीहरूले र यिनका सरकारहरूले नेपालको अकाट्य विदेश नीतिलाई पङ्गु बनाएका छन् । राजा महेन्द्रले आफ्ना पूर्खा पृथ्बी नारायण शाहको नीतिलाई ब्यवहारिक रूपमा लागू गरेका थिए । नेपालको विदेश नीति र नेपालको कुटनीतिको स्वर्णिम युग भनेर चिनिने राजा महेन्द्रको शासनकाल नै हो जहाँ उनले नेपालको विदेश नीति असङ्लग्न हुने मार्ग तय गर्दै यसलाई लागू गरेका थिए । यसैको परिणाम थियो कि नेपालमा संसारका सबै देश चाहे जुनसुकै सिद्दान्त वा बादबाट परिचालित हुन उनीहरूले एकै तरिकाले आपसी प्रतिष्पर्धा कै रूपमा नेपाललाई सहयोग गरेर नेपालको बिकासमा बिभिन्न पूर्वाधारहरूको निर्माणमा सहयोगगरेका थिए । तत्कालिन इण्डियन शासकहरूको नेपाललाई इण्डियामा मिसाउने षडयन्त्रलाई चिर्न र त्यसबाट नेपाललाई स्वतन्त्र राख्न नेपालका उनै राजा महेन्द्रको नेतृत्व र असङ्लग्न नीति कै कारण सम्भव भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ । उनको त्यो साहसिक नीति र नेतृत्वलाई नपचाएको इण्डियाको योजनामा नेपालमा बनारसी काँङ्ग्रेस र कलकत्ते कम्यूनिष्टहरूको तानाबाना बुनिएको र उहि इण्डियनहरूको लगानी र निगरानिमा नेपालमा उपद्रव मच्चाएको कुरा पनि लुकेको छैन । यस्तो षडयन्त्रका प्यादाहरूकै कारण आज फेरि नेपालको अस्तित्व धरापमा परेको छ । कहिले उत्तर त कहिले दक्षिणको पाउमा लम्पसार पर्ने र एकातिर टाँसिएर नेपाली अस्मिता र नेपालको सार्वभौमसत्ता नै मिचिँदा मौन समर्थन गर्ने काम यिनीहरूले पटकपटक गरेका छन् । यो स्वाभिमानी नेपालीका लागि लाजमर्दाे कुरा हो ।
हामी न चीन न त इण्डिया नै कसैको पनि पक्षका होइनौं । हामी हजारौं बर्ष देिख नै स्वतन्त्र र सार्वभौम रहेका नेपाली हौ। मात्रै नेपाल पक्षकाहौं । हामीलाई कुनै पनि देशले हाम्रो भूभाग मिचेको र हामीलाई भूगोल र अर्थतन्त्रमा सानो भएकै आधारमा हेपेको सैह्य छैन । हामी स्वतन्त्र र सार्वभौम देशको हैसियतमा संसारका सबै देशहरूसँग र यी स्वघोषित (सार्वभौमसत्ता समान भएकोले ) ठूला छिमेकीहरुसँग बराबरीको हैसियतमा सम्बन्ध राख्न चाहन्छौं । हामी कुनै पनि छिमेकी देशको सेना वा सेनाको प्रमुख या राजनीतिक पार्टी वा सरकारले थिचोमिचो गरेर नेपाललाई हेपेर नै जान सकिन्छ भन्ने भ्रम नपाल्न पनि अनुरोध गर्न चाहँन्छौं । नेपालका सबै राजनीितक दलहरूलाई पनि आफ्नो चेत खोल भन्न चाहन्छौं कि कोहि कसै छिमेकी देशहरूसँग बिचार र सिद्दान्त मिलेकै भरमा राष्ट्रको सार्वभौमसत्तासँग सौदाबाजी गर्ने र छिमेकी देशको जस्तोसुकै कुकर्ममा पनि मौन बस्ने बेसर्मी ब्यवहार गरेर नेपाली सार्वभौमसत्ता र अस्मिताको उपहास नगर ।सधैं हेक्का राख आफ्नो राष्ट्र भन्दा ठूलो न तिम्रो पार्टी हो न त तिम्रो सिद्दान्त हो ।