कहिले खुल्ला लाइसेन्स ?, व्यवस्था कार्यालय आफै अव्यवस्थित

देबेन्द्र राज पौडेल

चालक अनुमति पत्र (लाइसेन्स)का लागि परीक्षा बन्द भएको झण्डै सात महिना भैसकेको छ । तर, अझै पनि लाइसेन्सका लागि कहिले देखि प्रक्रिया सुरु हुन्छ भन्ने निश्चित छैन । कोरोना फैलनबाट रोक्न लकडाउन गरिएका कारण करिब झण्डै आठ महिनादेखि लाइसेन्सको लिखित र प्रयोगात्मक दुवै परीक्षा लिने काम रोकिएको छ । लकडाउन खुलेपनि लाइसेन्स परीक्षा र ट्रायल भने खोलिएको छैन । सवारी कर, नवीकरण लगायत अन्य सरकारी सेवा सुरू भएपनि ट्रायल भने सुरू हुन नसकेको हो ।


कोरोना कहरका कारण गत चैत्र ९ गतेदेखि यातायात व्यवस्था कार्यालय नेपालगन्जले चालक अनुमति पत्रको सम्पूर्ण प्रक्रिया स्थगित गरेको थियो । ‘देशभर नै लाइसेन्सका लागि हुने प्रक्रिया स्थगित भएको हो’, यातायात व्यवस्था कार्यालय नेपालगन्जका निमित्त प्रमुख पुर्ण बहादुर खत्रीले जानकारी दिएका छन् ।


यातायात व्यवस्था कार्यालय नेपालगन्जका निमित्त प्रमुख पुर्ण बहादुर खत्रीले कोरोनाको जोखिम कायमै रहेकाले लाइसेन्स वितरणका लागि हुने प्रक्रिया सुरु हुन अझै केही समय लाग्ने बताउँछन् । ‘तत्काल विभागबाट लाइसेन्सका सम्बन्धमा कुनै निर्देशन आएको छैन’, उनी भन्छन्, ‘कोरोना नियन्त्रणमा आएपछि मात्रै लाइसेन्सको प्रक्रिया सुरु हुन सक्छ ।’

यातायात कार्यालय यतिबेला सवारी दर्ता र नवीकरण लगायतका अरु नै कामले व्यस्त रहेको छ । लाइसेन्सको प्रक्रिया नियमित हुँदा देशभरिमा दैनिक ६÷७ हजार जनाले ट्रायल दिने गरेका थिए । दैनिक ट्रायल पास र नवीकरण गरि लाइसेन्सको माग दैनिक ५ हजार हाराहारी छ ।
लाइसेन्सको प्रक्रिया सुचारु नहुँदा त्यसको प्रतिक्षामा रहेका भने समस्यामा रहेका छन् । चालक लाइसेन्सका लागि परीक्षा दिन चाहनेहरु यातायात कार्यालय कहिले खुल्छ भन्ने प्रश्न लिएर पुग्ने गरेका छन् ।

अव्यवस्थित कार्यालय


यातायात व्यवस्था कार्यालय नेपालगन्जमा दैनिक सयौंको भिड देख्न सकिन्छ । कोरोनाको जोखिम हुँदा पनि कार्यालयमा लाग्ने भीडमा भने कमी पाइँदैन । कार्यालय अगाडि सयौं सवारीहरु पार्किङ गरिएका हुन्छन् । भीडका कारण कार्यालयमा सेवाग्राहीले सामाजिक दुरी कायम गरेको पाइँदैन ।

‘कार्यालयले प्रदान गर्ने सेवाको प्रकृति अनुसारको स्थानमा कार्यालय र भवन दुवै छैनन्, जसले गर्दा व्यवस्थित रुपमा सेवा प्रवाह गर्न नसकिएको हो’, यातायात व्यवस्था कार्यालय नेपालगन्जका निमित्त प्रमुख पुर्ण बहादुर खत्री भन्छन्, ‘हामीले भवन बनाउनका लागि जग्गा उपलब्ध गराउन उपमहानगरसँग र भवनका लागि प्रदेश सरकारसँग अनुरोध गरेका छौं ।’


कार्यालय प्रमुख खत्री कोरोनाका बेला पनि कार्यालयमा भीडभाड नै हुने गरेको बताउँछन् । ‘हामीले भीड व्यवस्थापनको सक्दो प्रयास गरिरहेका छौं’, उनले भने, ‘त्यसका लागि राजश्व तिर्न टोकन सिष्टम लागु गरेका छौं ।’ उनले कार्यालयको क्षमता अनुसार, समयमै सेवा दिइरहेको बताउँछन् ।

कार्यालयका सेवाग्राही मात्रै होइन कर्मचारी पनि कोरोनाको जोखिममा रहेका छन् । ‘हामी सकेसम्म सुरक्षित भएर काम गरिरहेका छौं तर, भीड बढी हुने कार्यालय भएकाले जोखिम त छ’, उनी भन्छन् ।


यसअघि यातायात व्यवस्था कार्यालय कोहलपुर सार्ने भनिएपनि रोकिएको थियो । नेपालगन्जका अन्य ठाउँमा रहेको सरकारी भवन उपयुक्त नभएपछि कार्यालय सर्न सकेको छैन । ‘कामको प्रकृति र सेवाग्राहीको चाप अनुसार नयाँ व्यवस्थित भवन नै आवश्यक छ’, निमित्त प्रमुख खत्री भन्छन् ।

नेपालगन्ज उपमहानगरपालिका मार्फत कार्यालयले भवनका लागि जग्गा खोजिगरिरहेको छ । ‘केहीदिनभित्र जग्गाको टुङ्गो लाग्ला’, उनी भन्छन्, ‘भवनका लागि बजेट प्रदेश तथा संघीय सरकारबाट माग गरिनेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया