कोरोनाले जनप्रतिनिधिको मृत्यु भएपछि नेपालगन्ज उपमहानगर र वडा बन्द

नेपालगन्ज–२का जनप्रतिनिधिको कोरोनाका कारण सोमबार विहान निधन भएको छ । वडा नं. २ का वडा सदस्य शान्तिदेवी परियारको उपचारको क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । उनको निधन पछि आज मंगलबार नेपालगन्ज उपमहानगरपालिका सहित २३ वटै वडाको कामकाज बन्द गरिएको छ ।


वडा सदस्य परियारमा कार्तिक ४ गते कोरोना पुष्टि भएको थियो । त्यसयता निरन्तर उपचारमा रहेपनि उनको स्वास्थ्य सुधार हुन सकेको थिएन । उनको सोमबार नै अन्यष्टि गरिएको छ । यो सँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

होम तथा अस्पतालमा आइसोलेसन बसेका ४४ जना निको भएर सोमबार डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार, हालसम्म २ हजार ९ सय २९ जनाले कोरोना जितिसकेका छन् । जिल्लाका विभिन्न आइसोलेशनमा रहेका २९ पुरुष र १५ महिला निको भई घर फर्किएका छन् । योसँगै बाँकेमा कोरोना सङ्क्रमण निको हुनेको संख्या दुई हजार ९२८ पुगेको छ । स्वास्थ्य कार्यालका स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार बाँकेमा बिरामी निको हुने दर ९२ दशमलव ४२ प्रतिशत रहेको छ । अहिले जिल्लाका विभिन्न आइसोलेशनमा बाँकेका २०७ र अन्य जिल्लाका १३ गरी २२० जना रहेका छन् ।

यसैबीच, आजै भेरी अस्पतालमा गरीएको स्वाब परीक्षणमा थप ५३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पतालद्वारा सोमबार दिउँसो जारी गरीएको विवरणअनुसार विभिन्न जिल्लाका ५३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । अस्पतालका अनुसार थपिएका नयाँ सङ्क्रमितमध्ये सबैभन्दा बढी २८ जना बाँकेका रहेका छन् भने २० जना बर्दियाका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया