कोरोना: दाङका ४८ वर्षीय पुरुषको गयो ज्यान

५४ पुग्यो बाँकेमा उपचार क्रममा ज्यान जाने संक्रमित संख्या


कोरोना संक्रमित भइ बाँकेमा उपचारका लागि अस्पताल पुग्ने ५४ जनाको ज्यान गएको छ । बाँकेका कोरोना फोकल नरेश श्रेष्ठका अनुसार, जिल्ला भित्रका ३३ जना र उपचारका लागि आउने बाँके बाहिर विभिन्न जिल्लाका २१ जनाको कोभिड अस्पतालमा मृत्यु भएको हो ।
त्यसक्रममा आइतवार मात्रै चार जनाको ज्यान गएको छ । बाँके खजुराका ४० वर्षीय पुरुष, नेपालगन्ज– १६ जयसपुरकी ७० वर्षीया महिला, टिकापुर– १ कैलालीका ६० वर्षीय पुरुष र दाङ तुलसीपुर– ९ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । दाङका पुरुषको राती ११ः१३ बजे ज्यान गएको हो । मृतकहरु सबैको शव व्यवस्थापन जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले गरेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन श्रेष्ठका अनुसार, आइतबार बाँकेका विभिन्न स्थानका ९ महिला र १२ पुरुष गरी २१ जनामा कोरोना संक्रमण देखिएको छ । श्रेष्ठका अनुसार, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा ४ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा १७ जना गरी २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सङ्गै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार १६८ पुगेको छ । संक्रमितमध्ये ३३ जनाको ज्यान गइसकेको छ भने, २ हजार ८८६ जना निको भएर डिस्चार्ज भइसकेका छन । जिल्लामा सक्रिय संक्रमितको संख्या २५३ पुगेको छ ।
त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा आइतवार सो संख्यामा संक्रमण पुष्टि भएको जनाएको हो ।
मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १ हजार ६ सय २२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं जिल्लामा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १ सय ६४ जना गरी उपत्यकामा सो संख्यामा संक्रमित थपिएको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ६ सय २० जना छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ जना छन् ।

प्रतिक्रिया

प्रतिक्रिया