समाजसेवामा समर्पित हुन अनेक क्षेत्र र पेशाहरु छन् तर स्वास्थ्य स्वयंसेविकाहरुले समाजमा दिने गरेका सेवा सरहानीय छ । भनिन्छ, Health is wealth स्वास्थ्य नै सम्पति हो । जब मानिस स्वास्थ्य रहन्छ अनि मात्र ऊ आफ्नो, आफ्नो परिवार समाज र देशका लागि केही गर्न सक्छ । यसै पेशासंग आबद्ध एक जना यस्ती मुस्लिम महिला जो बुर्काभित्र रहेर विगत २०६३ साल देखि स्वास्थ्य क्षेत्रमा स्वयंसेविका भइ समाजमा निस्वार्थ योगदान पुर्याउँदै आइरहेकी छिन् उनी हुन् हासिलो अनुहार र मीठोभाषी सबैसँग नरम व्यवहार गर्ने नेपालगन्ज नगरपालिका वार्ड नं. ३ की स्वयंसेविका कमरुननिशा अन्सारी । उनी दोहोरो जिम्मेवारी निर्वाह गर्दै आइरहेकी छिन् एक आफ्नो परिवारप्रतिको र अर्को समाजप्रति आफ्नो दायित्व । उनी भन्छिन् कि उनको यस पेशामा सम्मान छ तर मिहेनत अनुसार आर्थिक मुल्यांकन छैन ।
अस्सलामो अलैकुम
वालैकुम अस्सलाम
सन्चै हुनुहुन्छ ?
हजुर सन्चै छु कोरोनाकालमा सुरक्षित भइ बाँचिरहेछु ।
तपाईको कार्य व्यस्तता कतातिर छ ?
कार्य व्यस्तता त त्यही हो समाजमा हरेक व्यक्ति स्वास्थ्य रहोस् गर्भवती महिलाहरुको स्याहार हुन सकोस् र नवजात शिशु अनि गर्भवती महिला सुरक्षित र स्वास्थ्य रहुन् भनी उनीहरुलाई स्वास्थ्य सम्बंधित जानकारी दिनु सुरक्षित सुत्केरी गराउन अस्पताल जाऊन् भनी सरसल्लाह दिनुका साथै खाली समयमा घरमै लुगा सिलाउने काम गर्छु ।
स्वयंसेविकाहरुको मुख्य काम के हुन्छ ?
स्वंयसेविकाहरुको मुख्य काम पोलियो खोप, भिटामिन, र हात्तीपाईलेको औषधी कोही नछुट्ने गरी खुवाउनुका साथै गर्भमा बच्चा आएदेखि नियमित गर्भवती जाँच गराउने महिलाहरुलाई उत्प्रेरित गर्नु र परे भने आफै संगै लगेर जँचाउन लग्नु । यसका साथै किशोरीहरुलाई प्रजनन स्वास्थ्य बारे जानकारी दिनु र नवजात शिशु देखि पाँच वर्ष सम्मका बच्चाहरुको स्वास्थ्य जाँच गराउनु खोपहरु लगाउनु हो ।
तपाई जाँच गराउन लग्दाको अनुभव कस्तो हुन्छ ?
गर्भवती जचाउन लाग्दा अस्पताल सम्म जाँदा आउँदा रिक्सा भाडा आफै तिर्नुपर्छ । कहिले काहीं त गर्भवती महिलाहरुलाई लग्दा उनीहरुको रिक्साभाडा पनि आफै तिर्नुपर्छ यहाँसम्म कि अस्पतालमा जचाउँदा समय लाग्दा भोक लागेमा खाजाको खर्च आफै तिर्नुपर्छ । अब आफु संगै लग्दा एक्लै त खाजा खान सकिदैंन तसर्थ साथमा रहेकी महिलालाई समेत खाजा खुवाउनुपर्छ ।
भन्नाले स्वयंसेविकाहरुलाई यसका लागि कुनै रकम उपलब्ध गराईदैंन ?
हो हजुर, गर्भवती जचाउन अस्पताल जाँदा आउँदा लाग्ने खर्च स्वयं हामीले आफै ब्यहोर्नुपर्छ । यस बापत अर्थात रिक्साभाडा र खाजाका लागि सरकारले कुनै रकम उपलब्ध गराउँदैन । सरकारले दिने भनेको पोलियो खोप खुवाउँदा, भिटामिन खुवाउँदा, हात्तीपाईलेको औषधी खुवाउँदा दैनिक रु.४००÷५०० भत्ता मात्र हो ।
उसो भए सरकारले दिने भत्ता स्वयंसेविकाहरुको मिहेनत अनुसार पर्याप्त हुँदैन ?
हजुर, यदि हेर्ने हो भने ज्यालादारी गर्ने मजदूरहरुको ज्याला दैनिक रु. ८०० देखि रु १००० सम्म हुन्छ । जो बिहान ९ बजे देखि साँझ ५ बजे सम्म मात्र काम गर्छन् । तर स्वयंसेविकाहरुको कामको कुनै समय तोकिएको हुँदैन आफ्नो निद्राको प्रवाह नगरीकन सुत्केरी गराउन बोलाएको बेलामा आफ्ना घरका काम छाडेर भए पनि जानुपर्छ । खोपहरु खुवाउने दिनहरुमा त दिनभरी नै लाग्छ । अन्य दिनहरुमा त कसैको सुत्केरी गराउन अस्पताल जानु पर्यो भने अबेर राति नै घरमा ढोका ढ्कढ्काउन आइहाल्छन् । अनि रातभरि नै सुत्केरी गराउन अस्पतालमै बस्नुपर्छ । स्वयंसेविकाहरुको मिहेनत अनुसार आर्थिक मुल्यांकन न सरकारनले गरेछ र समुदायले गर्छ ।
के खोपका लागि र गर्भवती जाँच गराउन सल्लाह दिन घर घर जानुहुन्छ ?
खोपका लगाउनका खोपकेन्द्र आउनका लागि जानकारी गराउन घर घर जानुपर्छ । गर्भवतीहरुलाई नियमित जाँच गराउन सल्लाह दिन घर घर जानुपर्छ । हात्तीपाईलेको औषधी खुवाउन घर घर नै जानुपर्छ ।
यसरी घर घर जाँदा कस्तो व्यवहार गर्छन् समुदायकाले ?
धेरै जसोले राम्रै व्यवहार गर्छन् स सम्मान घरभित्र बोलाउँछन् । भनेका कुरा र दिने सल्लाहहरु ध्यानपूर्वक सुन्छन् । तर कोही कोही झर्को स्वाभावको हुन्छन् उनीहरुको घरमा जाँदा ढोकै नखोलि बाहिरबाटै सोध्छन् को हो भनेर । अनि स्वयंसेविका हुं खोपको लागि आएकी हुं भन्न न पाउदैं भनिहाल्छन् कि हाम्रो घरमा बच्चाहरु छैनन् । महिलाहरु छन् भनी सोध्दा भन्छन् माईतीघर गइछिन् पछि आउनु । यस्ता झर्को व्यवहारका व्यक्तिले यदि ढोका खोलिदिए भने हजार थरी कुरा सुनाउँछन् । भन्छन् मात्र खोप खुवाउछौं यति नै चिन्ता छ बच्चाहरुको भने उनीहरुको लागि पौष्टिक आहार ल्याएर देऊ । कोही कोही त भन्छन् सरकारले के के नै दिन्छ सब राम्रा औषधी तिमीहरु राख्छौ अनि बेचेर आम्दनी गर्छौ । जनतालाई मात्र खोप दिन्छौ । कुनै कुनै घरका मानिसहरुलाई बुझाउन गाह्रै हुन्छ ।
अनि त्यस्ता व्यक्तिहरुका घरका बच्चा र गर्भवतीहरुको जांच र खोप हुन्छ कि हँुदैन ?
अधिकांश त स्वयंसेविकाहरु कार्यरत हुँदा सहज मान्छन् किन भने उनीहरुलाई आफु अस्पताल जाँदा त्यति गाह्रो हुँदैन जचाउँदा । तर जो हामीसंग खोप लिन र हामीसंग जचाउन जान मान्दैनन् तिनीहरुलाई हामी सल्लाह दिन्छौं कि ठीक छ हामीसंग न जानुस् तर आफै अस्पताल वा प्राईवेट जहां सजिलो लाग्छ त्यहां लगेर गर्भवती जांच गराउनुहोस् र खोप लगाउनु होस् । अनि उनीहरु आफै जान्छन् तर धेरै जसो स्वयंसेविकाहरुकै साथ जानु नै सजिलो मान्छन् र जान्छन् ।
यो त समाजको हितमा गरेको कार्य अनुभव भयो तर पारिवारिक जिम्मेवारी पुरा गर्न कतिको सजिलो गाह्रो हुन्छ ?
समाजसेवा र घरको जिम्मेवारी साथसाथै पुरा गर्न सजिलो पक्कै हँुदैन । मेरी छोरी एक वर्षकी थिइ जब म स्वयंसेविका भएकी थिएँ अनि तीन वर्षको छोरा थियो । दुईटा साना साना बच्चाहरुको स्याहार गर्नुपर्ने पतिलाई काममा जानु पर्ने हुँदा उनलाई जानुअघि खाना नास्ता बनाएर दिनुपर्ने हुन्थ्यो । अनि बच्चाहरु स्कुल जान लागेपछि उनीहरुको लुगा किताब कापी व्यवस्थित गर्नुका साथै गृहकार्य गराउनु पर्ने जिम्मेवारी पनि आफुमाथि हुन्थ्यो । बिहान खोपकेन्द्रमा समयमै पुग्नका बच्चाहरु स्कुलको खाजा पतिको खानाका लागि राति नै तरकारीहरु केलाएर पिठो मुछेर राख्थे । राति नै कपडाहरुमा आइरन गर्थे । दिउँसो बच्चाहरु घर आइसकेपछि उनीहरु हेरचाह रातिको खानाको तयारी सब एक्लै गर्नुपथ्र्याे । यसरी एक्लै बच्चा, पति, घर, परिवार र समाजप्रतिको स्वयंसेविकाको जिम्मेवारी निर्वाह गर्न भने जस्तो सहज कहिल्यै रहेन । तर म आफ्नो कुनै जिम्मेवारीहरुबाट कहिले पन्छिने गरिन सधैं आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गरे र अहिले पनि गरिरहेकैछु ।
समाजमा काम गर्दाको अनुभवलाई मध्येनजर गर्दा अझै सरकारले केही गर्न आवश्यक लाग्छ भन्नाले कुनै कमी देख्नुभयो ?
हेर्नुस्, काम गर्दा कमी कमजोरी त जहाँ पनि हुन्छ तर ती कमी कमजोरीलाई सुधार गरी लगियो भने सकारात्मक असर अवश्य देखिन्छ । अब जस्तै अझै पनि धेरै परिवारमा स्वास्थ्य सम्बन्धी राम्रो ज्ञान छैन् जसले गर्दा सुत्केरी गराउँदा मातृशिशु मृत्यु हुने गर्छन् । त्यस कारण स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रमहरुको आवश्यकता छ । जसरी सरकारले कोरोनाबाट बच्न जनचेतनामूलक रेडियोमा जिगलहरु बजायो मोबाइलमा रिंगटोन राख्यो । त्यसरी नै अन्य रोगहरुबाट बच्न र बचाउन अपनाइने सावधानीहरुका बारे विभिन्न संचार माध्यमबाट जनतालाई बेलाबेलामा सचेत गराइ राख्नुपर्छ भनी मेरो मान्यता ।
तपाई बुर्का लगाएर स्वयंसेविकाको जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्छ । अन्यथा नलिदिए यस बारे एउटा जिज्ञासा छ कि यो कहिले देखि लगाइरहनु भएछ र कसले लगाउन भन्यो अनि तपाईलाई बुर्का लगाएर समुदायमा काम गर्दा गाह्रो हुन्छ वा हुदैन ?
म बुर्का बिहे भए देखि नै लगाइरहेकीछु । मलाई बुर्का लगाएर समुदायमा काम गर्न कति पनि गाह्रो भएछैन् । बरु नेपालगन्जको टलटलापूर्ण घाममा हिड्दा आफ्नो जिउ ढाकेकोले घामले शरीरमाथि असर गर्दैन् । अर्को कुरा म यो आफ्नो इच्छाले लगाइरहेकी छु मलाई कसैले बुर्का लगाउन कर गरेको छैन् । बुर्का लगाएर मुस्लिम समुदायभित्र काम गर्न सहज हुन्छ किनभने बुर्का लगाएकी महिलाहरुलाई सम्मानपूर्वक दृष्टिले हेरिन्छ ।
अन्तमा समुदायलाई कुनै सन्देश दिन चाहनुहुन्छ ?
हजुर, म यति भन्न चाहन्छु कि स्वास्थ्य रहनु सबैकोलाई जरुरी छ एउटा स्वास्थ्य मानिसले नै परिवार समुदाय र देशका लागि योगदान गर्न सक्छ । कुनै बिरामी मानिसले उसको इच्छा हुँदाहँुदै योगदान दिन सक्दैनन् । त्यस कारण सबैले सधैं आफ्नो स्वास्थ्यको ख्याल राख्नुस् सानातिना रोग जस्तै रुघाखोकी ज्वरो लागेमा लापरवाही नगर्नुस् समयमा नै जांच गराउनुहोस् । अनि आजको शिशु भोलिका कर्णधार हुन् तसर्थ बच्चा गर्भमा आउन साथ सावधानी अपनाउनुहोस् । गर्भवतीहरुलाई कुनै समस्या देखिए चेकजांच गराउन कन्जुस्यायी नगर्नुस् । समय समयमा बच्चाहरुलाई खोप र गर्भवतीहरुको नियमित जांच गराउनुहोस् । यदि कुनै स्वास्थ्य समस्या देखिए तुरुन्त अस्पताल जानुस् र डाक्टरले दिएका निर्देशन पालन र औषधीहरु सेवनपूर्ण रुपले गर्नुहोस् ।