सरकारले सहकारीलाई किसानको धान खरिदका लागि प्रोत्साहन गर्ने नीति लिएपछि बाँकेका ६ वटा सहकारीले धान खरिद प्रक्रिया अगाडि बढाएका छन् । सरकारले समयमै धान खरिद समर्थन मूल्य तोकेपछि उत्साहित किसानहरुको भावना अनुसार, धान खरिदका लागि सहकारीहरुले प्रक्रिया अगाडि बढाएका हुन् ।
जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीका अनुसार, सहकारी संघ मार्फत किसानहरुको उत्पादनका आधारमा कम्तिमा ५० वटा सहकारीले सबै स्थानीय तहबाट धान खरिदको योजना बनाइएको छ ।
‘एक लाख क्वीन्टल धान खरिदको योजना बनाइएको छ’, जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष सुवेदीले दैनिक नेपालगन्जसँग भने, ‘कतिपय प्राविधिक कारणले धेरै सहकारीले धान खरिद कार्य अगाडि बढाउन सकिरहेका छैनन् ।’ उनका अनुसार, कतिपय सहकारीले गोदाम घर निर्माण गरिरहेका छन् भने कतिपयले धान खरिदका लागि आवश्यक पर्ने नापजोखका उपकरणहरु खरिद कार्य अगाडि बढाएका छन् ।
बाँकेमा कतिपय सहकारीले धान खरिद कार्य अगाडि बढाइसकेका छन् । एभरेष्ट कृषि सहकारी संस्था बैजनाथले बिहीबारसम्म ७ हजार क्वीन्टल धान खरिद गरिसकेको जनाएको छ । ‘सरकारले तोकेकै मूल्यमा सहकारीहरुले धान खरिद गरिरहेका छन्’, संघका अध्यक्ष सुवेदीका अनुसार, साकार कृषि सहकारी संस्थाले १ हजार ५ सय क्वीन्टल धान खरिद लक्ष्य राखेर खरिद कार्य अगाडि बढाएको छ भने साना किसान कृषि सहकारी संस्थाले २ हजार क्वीन्टल खरिद गर्दैछ ।
खजुरा सहकारी संस्था लिमिटेडले ५ सय क्वीन्टल बीउ धान खरिद गर्दैछ भने कोहलपुर सहकारी संस्था लिमिटेडले २ हजार क्वीन्टल धान खरिद गर्ने जनाएको छ । ‘साना किसान कृषि सहकारी संस्था कम्दीले पनि धान खरिद प्रक्रिया अगाडि बढाएको छ’, अध्यक्ष सुवेदीले भने, ‘किसानहरुलाई पायक पर्ने तत् ठाउँका सहकारी संस्थाहरुलाई धान खरिदका लागि प्रेरित गरिएको छ ।’
सरकारले यस बर्ष समयमै धानको समर्थन मूल्य तोकेपछि किसानहरु उत्साहित भएका थिए । मौसम अनुकुल भएपछि यस बर्ष बाँकेमा धानको उत्पादन पनि बढेको छ भने समयमै कटान पनि भएको छ । सरकारले यस बर्ष धानको समर्थन मूल्य २ हजार ७ सय ३५ देखि २ हजार ८ सय ८५ सम्म तोकिदिएको छ । तर, किसानहरुले ६ देखि ९ सय रुपैयाँसम्म कम मूल्यमा व्यापारीलाई बेच्न बाध्य भएको समाचार बाहिर आइरहेपछि सहकारीहरुले सरकारले तोकेको मूल्यमा धान किन्न लागेका हुन् ।
सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद नगर्दा बाँकेका किसान सस्तो मूल्यमा धान खरिद गर्न बाध्य भएको बताउँछन् । सरकारको स्वामित्वमा रहेको खाद्य कम्पनीले देशभर ६० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेर एक अर्ब ७९ करोड ३१ लाख ५५ हजार बजेट विनियोजन गरेको छ ।
श्यामजिरामा किसान चिन्तित
श्यामजीरा धानको उत्पादन विगतका बर्षहरुदेखि घट्दै गएकोमा किसानहरु चिन्तित भएका छन् । बाँके र बर्दियामा उल्लेख्य मात्रामा उत्पादन हुने श्यामजीरा धानको भात नरम र स्वादिलो हुने गर्दछ । श्यामजीरा उत्पादनका लागि मेहनत बढी र उत्पादन भने कम हुने किसान बताउँछन् । यसले गर्दा अन्य जातका धान उत्पादनमा कृषकको आकर्षण बढ्दै गएको छ ।
अगुवा किसान समेत रहेका पत्रकार विजय बर्मा श्यामजीराको बाँके र बर्दियाको मौलिक उत्पादन श्यामजीराको उत्पादन घट्दै गएकोमा चिन्ता व्यक्त गर्दछन् । उनी श्यामजीराको उत्पादनका लागि यसमा देखिएको वंशानुगत समस्याको सुधार, उत्पादन वृद्धिको विधि र आफ्नै मौलिकतामा रहन सक्ने जस्ता विषयमा कृषि क्षेत्रमा संलग्न सरोकारवालाको ध्यान जानु पर्ने बताउँछन् ।