पाटे बाघको आक्रमणबाट बर्दियामा साला–भिनाजुको ज्यान गयो, एक सातामा बाघले ४ जनाको ज्यान लिएको हो
भावुक योगी
पाटे बाघको आक्रमणबाट नेपाल भारत सीमा क्षेत्रसंग जोडिएको बर्दियाको मधुवन नगरपालिकामा मंगलबार दिउँसो दुई जनाको ज्यान गएको छ ।
नेपाल भारत सिमा नजिक मधुवन नगरपालिका ३ मा पर्ने पुरानो भन्सार कार्यालय धनौरा नजिक बेलझुण्डी सामुदायिक वनमा पाटे बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिनुभयो ।
मंगलबार विहानै सामुदायिक वनमा च्याउ खोज्न गएका मधुवन नगरपालिका ३ मुक्तकमैया बस्तीका २७ वर्षीय दिनेश चौधरी दिउँसोसम्म नआएपछि आफन्तहरु खोजी गर्न जाने क्रममा २६ वर्षीय रमेश थारुलाई पनि बाघले आक्रमण गरेको डिभिजन वन प्रमुख वाग्लेले बताउनुभयो ।
प्रहरी र स्थानियले खोजी गर्ने क्रममा दुई जनाको शव जंगलभित्र फेला पारेको स्थानिय हरि गुरुङ्गले बताउनुभयो । सामुदायिक जंगलमा विहानै गएका दिनेश थारु दिउँसोसम्म पनि नआएपछि गाउँका दुई जना स्थानिय युवा खोजी गर्न गएका थिए ।
जंगलमा विहान हराएका दिनेशलाई खोजी गर्न गएका मध्ये रमेश थारुलाई बाघले आक्रमण गरेपछि प्रहरी सहितको टोली खोजी गर्न जाँदा दुबै जना मृत अवस्थामा शव फेला परेको मधुवन नगरपालिका ३ का वडाध्यक्ष नारायण मल्लले बताउनुभयो ।
बाघको आक्रमणमा परि ज्यान गुमाएका दुबै जना नातामा साला–भिनाजु पर्छन् । ‘मान्छे मार्ने बाघ तत्काल मार्नुपर्ने माग गर्दैछन्, शव नबुझ्ने आफन्तहरु माग गर्दैछन्’ मधुवन ३ का वडाध्यक्ष नारायण मल्लले भन्नुभयो । एक सातामै आफ्नो वडाका ४ जनालाई मार्ने बाघ तत्काल नियन्त्रणमा लिनुपर्ने वडा अध्यक्ष मल्लले माग गर्नुभयो ।
एक साताअघि बाघको आक्रमणमा परि सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन ३ की एक महिलाको ज्यान गएको थियो । यस्तै झण्डै ३ हप्ता अघि माछा मार्न गएका मधुवन नगरपालिकाकै एक किशोरको पनि बाघको आक्रमणमा परी ज्यान गएको थियो ।
साढे एक वर्षअघिदेखि अहिलेसम्म बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्र र जिल्ला बन क्षेत्रमा पाटे बाघको आक्रमण परि ९ जनाको ज्यान गएको छ । पछिल्लो समय पाटे बाघले घाँस दाउरा लिन जंगल गएका स्थानीयलाई आक्रमण गर्नुका साथै गाउँमै पसेर पनि स्थानीयको ज्यान लिने गरेको छ ।