शैक्षिक संस्था भनेको त्यो पवित्र स्थान हो जहाँ एउटा काँचो माटो सरहको बच्चाले समाज र जीवन जगतसँग प्रत्यक्ष र अप्रत्यक्ष सरोकार राख्ने बिषयहरुको बारेमा शिक्षा हासिल गर्छ, आफ्नो दृष्टिकोण बनाउँछ । आफ्नो बुद्धि र विवेकको मार्गचित्र तयार गर्दछ । बिषयवस्तुलाई प्रस्तुत गर्न र त्यसलाई व्याख्या गर्न सिक्दछ । आफ्नो देशको भूगोल, इतिहास, आफ्नो देशका अमूल्य वस्तुहरु, आफ्नो देशको अस्मिता रक्षा र वीरताका कथाहरु देशका अमूल्य र ऐतिहासिक स्थानहरु र तीनको महत्व हुनका र गराउनका ऐतिहासिक नेपाली पात्रहरुको जीवन आदी सिक्ने र सिकाउने गरिन्छ । मानिस समाजिक प्राणी भएकोले समाजको मान र मर्यादाका आयामहरुलाई पहिचान गर्दछ सिक्दछ र भोलि आफ्नो जीवनको हरेक भोगाइमा त्यसलाई प्रयोग गर्न उ तम्तयार हुन्छ । एउटा मानिसको जीवनलाई सरल र सहज बनाउन संयमता, धैर्यता र निरन्तरताको पाठ सिकेर उ त्यहाँबाट निस्किन्छ । हाम्रो जस्तो भौगोलिक रुपमा बिसम रहेको देशका बालबालिकाहरुले त झन सामान्य चोटपटक वा सानेतिनो रुघाखोकी लागेमा गरिने घरेलु उपचारहरु र यसका लागि प्रयोग हुने वनस्पतीहरुको पहिचान पनि गरेको हुनुपर्छ भन्ने सिकेर निक्लेको हुनुपर्छ ।


तर वर्तमान अवस्थामा के हाम्रा शिक्षालयहरुले यस्ता विद्याथीृहरु तयार गरेका छन् त ? के आजका शिक्षालयबाट निस्केका पात्रहरुले आफ्नो जीवन र जगतलाई धैर्यता र संयमताका साथ बिताउन सकेका छन् त ? या फेरि ती पात्रहरुले सामान्य उपचार गर्न तौर तरिका जानेका छन् त ? के तिनीहरुले आफुले खाने गरेका वस्तुहरुको कच्चा पदार्थ कहाँबाट र कसरी आउँछ या उत्खनन् गरिन्छ भन्नेबारेमा सामान्य जानकारी राखेका छन् त ? के ती पात्रहरुले समाजिक मर्यादाहरु र विवेकको प्रयोग गर्ने गरेका छन् त ? पक्कै पनि यसो गर्ने ल्याकत आजका शिक्षालयबाट शिक्षित भएका पात्रहरुमा खासै छैन भन्न सकिन्छ ।

किन कि हामीले आधुनिकताको नाममा विदेशीका कुराहरुलाई मात्रै महत्व दियौं । विदेशी कम्पनीहरुका समान बेच्ने बजारीकरणका माध्यम हाम्रा बालबालिकालाई बनाएऔं । विद्यालयहरुलाई कम्पनीहरुको व्यवसाय प्रबद्र्धन गर्ने स्थानको रुपमा मात्रै बिकास गर्औं । उनीहरुका कुराहरुलाई मात्रै हाम्रा पाठ्यक्रमहरुमा राखेका छौं । विदेशीका र बजारिया सँस्कृतिलाई सभ्य र बिकसित सँस्कृतिको रुपमा पढाउनमा नै हामीलाई सधैं गर्वको अनूभूति भयो । आफ्नो भाषा, सँस्कृति आफ्नो सभ्यतामा सधै. हिनताबोथ गराएर यसलाई मास्न र तास्न मै हाम्रो बौद्धिकता खर्च गर्औं । हामीले महिलाहरुको प्राकृतिक प्रक्रिया मासिक धर्म ( महिनाबारी ) हुँदा विदेशी कम्पनीका प्याड त बाड्यौं तर यस्तो अवस्थामा शरिर कमजोर हुन्छ दूध घिऊ खान र अतिरत्तश्राब भएमा जीउ बाँध्नका लागि सम्फे पिठो बनाउर खानुपर्छ भनेर कहिल्यै कुनै विद्यालयहरुमा सिकाएनौं । घाउचोट लाग्दा अस्पताल जानुपर्छ भन्ने त सिकायौं तर तत्काल त्यस्तो सुविधा भएन भने आफ्नै पिसाबले काटेको ठाउँमा रगत रोकिन्छ या कुनै फलाम या अन्य धातुको बिष मर्छ भनेर कहिल्यै सिकाएनौं । रुघाखोकी लागेमा तुलसीको पात चबाउने र यसको चिया बनाएर खाने या अति नै नाकबाट पानी बगिरहेमा तुलसीको पात निचोरेर हाल्ने भनेर पनि सिकाएनौ । अदुवाको रस र महले खोकी निको हुन्छ भनेर पनि बताउन आवश्यक ठानेनौं । कुखत (टाइफाइड) भएमा मुख नमिठो हुन्छ, ठाउँको दुख्ने ज्वरो आउने हुन्छ यसलाई टोप्रेझार, तुलसी रस र कछुवाको हाड वा हुटिट्याङको फूल खाएमा पनि निको हुन्छ भनेनौ । यी सब भनेका त हाम्रा मौलिक उपचार हुन । हाम्रा पूर्खाले बर्षौसम्म प्रयोगात्मक अनुसन्धान गरेर पुस्ताहस्तान्तरण गर्दै आएका कुरा हुन भन्ने र सिकाउन आवश्यकता नै ठानेनौं ।


खटिरा डण्डीफोर चायाँ पोतो आएको मान्छे देखेमा छिः छिः र दूर दूर गर्ने या ए कति काली भन्ने गर्यौं, घृणा सिकाउने काम गर्यौं, विदेशी कम्पनीको अनेक क्रिमको सिफारिस गर्यौ. घर आँगनमा फल्ने र उम्रने मेथी र पतना ( पुदिना ) ले पनि ठिक हुन्छ भनेर कहिल्यै सिकाएनौं । गाई भैंसी पाल्नेहरु फोहरी र पाखे भनेर सिकाउँदै दूध घिउ खाए ग्याष्टिक हुन्छ कोक पेप्सी खाऔ. भनेर सिकायौं । त्यो गाई भैंसी पाल्नेले समाजको लागि कति योगदान गरेको छ भनेर सिकाएनौं । खेतबारमिा प्राङगारिक मल देखि जैविक जीवनचक्रको निरन्तरतामा उसको योगदानको आदर गरेर सम्मान गर्न सिकाएनौं बरु नेपाल कृषि प्रधान देश कृषि प्रधान देश भनेर रट्टा भने लगाएर उच्च अंकमा पास भएको घोषणा गर्यौं । तर कसरी नेपाल कृषि प्रधान देश किन कृषि प्रधान देश पनि भनेर बुझाउने प्रयास खासै गरेनौं ।


हामीले हाम्रा विद्यालयहरु ठूला ठूला गिट्टी बालुवाका महल बनाएर नमूना भएको, गतिलो भएको भन्ने भ्रम छरिरहेका छौं आज पनि । थुप्रै गाडी राखेर, चाउचाउ चिप्सका खाजा जुवाएर, कण्ठ लँगोटी भिराएर, मातृभाषा र नेपाली भाषालाई गाली गर्दै अँग्रेजी भाषा पढाएर, जनवरी १ लाई नयाँ बर्षको उत्सव हो भनेर मनाएर, जन्मदिनमा बत्ति निभाएर केक काटेर हैप्पी बर्थडे भनाएर, हैप्पी क्रिसमस भन्ने चाड मनाएर, बाआमा र मान्यजनलाई गोडामा ढोक गर्नु पर्दैन भनेर सँस्कार सिकाएको र गतिलो शिक्षा दिएको भ्रम पालेका छौं । तर त्यो गतिलो भन्ने विद्यालयमा पढ्ने विद्यार्थीलाई तेरो कुल गोत्र या थान र देउरालीको कुरा सोध्यो भने या आफ्ना घरका नातागोता र सम्बन्धको बारेमा सोध्यो भने ‘आइ डोन्ट नो ’ भनेर उम्किने गर्छ । आफुनो पहिलो आवाज शब्द फुटेको भाषामा निवेदन समेत लेख्न जान्दैन । अंङ्क जान्दैन । तर पनि उ सँस्कारी र शिक्षित गनिन्छ ।


नेपाल सरकारले एकपटक विद्यालयहरुलाई एउटा विद्यालय एउटा बगैंचाको अवधारणा पनि ल्याएको थियो । शायद यसमा मनग्य रकम पनि विनियोजन गरेको थियो । तर त्यो बगैंचामा कस्तो वनस्पति लगाउने या कुन फूल रोप्ने भन्ने कुनै मापदण्ड बनाइएको थिएन । कुनै आइएनजिओको आदेशमा या बीना मापदण्ड ल्याइएको स्वच्छ वातावरणको कथा बुनेर पठाएको त्यो रकमले कतिवटा विद्यालयहरुमा बगैचा बने त्यसको हिसाबकिताब त्यो रकम पठाउनेसँग आजपनि छैन । कतिपय विद्यालयहरुले विद्यार्थीहरुलाई लगाएर या विदेशी एनजीओलाई लगाएर विरुवा रोपे अनि रकम चैट पनि भयो तर कतिवटा विद्यालयहरुमा बगैंचा बने त्यसको अनुसन्धान भएको छैन । हाम्रै स्थानीय तहमा पछिल्लो पाँच बर्षको विरुवा रोपेका फोटो खिचाएको र समाचार बनाएको हिसाबले जोड्ने हो भने अहिले यहाँ जङ्गल बनेर हामी होइन बाघ र मृगहरु घुमेका हुनुपथ्र्यो तर आज ती विरुवा कहाँ गए, कसरी हुर्के, कति हरियाली भयो भन्न सकिँदैन ।
अब विद्यालयहरुमा सबैभन्दा पहिला कम्पाउण्ड गर्ने कामलाई प्राथमिकतामा राख्नुपर्छ । विद्यालयहरुमा हरेक स्थानीय तहले एउटा त्यस्तो बगैचा बनाउर्नै पर्ने बाध्यकारी नियम लगाउनु पर्छ । जहाँ ठाउँ र वातावरण सुहाउँदो गरी तुलसी, गुर्जो, घ्यू कुमारी, पारिजात, असूरो, तीते पाती, बोजो, निम, आँक, बेसार, कागती, अम्बा, आँप, सितलचिनी, आँटी, अमला, मदाने, अजम्बरी, खिर्रो, बाबरी, टिमुर, भुईँ काफल, वर पिपल स्वमी, भिरङ्गी झार, बोके फूल, चरी अमिलो, चम्सुर, मेथी, सम्फो, डल्ले खुर्सानी, प्याज, लसुन आदी लगाएको होस । यसका लागि सरकारी पैसो खर्च गर्न र बजेट नै बनाएर जानु पर्दैन । सरकारी पैसाले गर्ने भनेको घेराबेरा मात्रै हो । बगैंचा बनाउनका लागि मजदूर लगाउने होइन । विद्यार्थीहरुलाई नै प्रयोग प्रयोग गर्नुृपर्छ किनपनि भने यसबाट विद्यार्थीहरुलाई सिकाइ गराउन सकिन्छ । उनीहरुलाई ती वनस्पतिहरुको महत्वको बारेमा सिकाउन र त्यसको प्रयोजनको बारेमा पनि बताउन सकिन्छ । अलि बढि नै जग्गा छ भने तरकारीहरु पनि लगाउन सिकाउन सकिन्छ । अम्रिसो लगाउर कुचो बुन्न पनि सिकाउन सकिन्छ । अनेक किसिमका विदेशी वनस्पति झारहरु महङ्गो मूल्य तिरेर ल्याउने र दुई महिना पछि बगैंचा नाङ्गो बनाउने गरेर पैसाको नास मात्रै हुने गरेको छ अब त्यो रोक्नुपर्छ । त्यस्ता वनस्पतिहरुको न कुनै औषधिय गुण छ न त्यसले हाम्रो स्वास्थमा कुनै सकारात्मकता ल्याउँछ । न त्यसले नेपाली वनस्पतिहरुको संरक्षण नै हुन्छ । यसबाट नयाँ पुस्ताले कुनै उपयोगी कुरा पनि सिक्न पाउँदैन ।


यसका अतिरिक्त अब सबै विद्यालयहरुमा कम्तिमा पनि बर्षको एक पटक अभिभावकको उपस्थितिमा उनीहरु कै बालबालिकाहरुबाट पाकवान बनाएर खुवाउने र प्रत्यक्ष रुपमा अभिभावकलाई सेवा गराउने परिपाटी पनि बसालेमा त्यसले नैतिक शिक्षाका साथै घरका कामको महत्वको पनि शिक्षा दिन्छ । यो शिक्षा वास्तविक रुपमा जीवन उपयोगी शिक्षाको रुपमा जान सक्छ । विदार्थीहरुमा हराउँदै गएको धैर्यतालाई पुर्नस्थापित गर्न योगशिक्षाका कक्षाहरु पनि सञ्चालन गर्नु पर्ने देखिएको छ । यी बाहेक विद्यालयहरुमा मातृभाषामा पत्रलेखन प्रतिस्पर्था, नेपाली परम्परा र मौलिकतामा आधारित चाडवाडहरु, परम्पराहरुसँग सम्बन्धित खानपान र पोषाकहरुको बारेमा त्यो दिन त्यस्तो पहिरन वा पाकवान ल्याउने र साथीभाईमा बाँडेर खाने बानी पनि बसाल्नु पर्ने देखिन्छ । अबका विद्यालयहरु चाहे नीजि हुन या सरकारी नै यस किसिमको बगैंचा भएको हुनुपर्ने कम्तिमा बार्षिक रुपमा अभिभावकको सहभागितामा पाकवान र सेवाको प्रयोगात्मक व्यवस्था अनिवार्य गरेर गएमा हाम्रा विद्यार्थीहरुमा अहिलेको भन्दा सिकाइमा बढि उत्सुकतापूर्ण र नेपाल र नेपालीको महत्व बुझ्ने खालको हुनेछ । अब विद्यालयहरु औषधिय बगैंचायुक्त हुन आवश्यक छ । यति मात्रै सानो पहलले देश र देशका भोलीका कर्णधारमा देशप्रति सकारात्मक परिवर्तन हुन्छ भने सबैले यस्तो किन नगर्ने ? कोरोनाले जुराएको अवसर कै रुपमा भएपनि यस तर्फको यात्रा गर्न मेरो अनुरोध छ । दशे हाम्रो हो, त्यसैले हाम्रो शिक्षा नपढाइ देश बन्दैन । सबैको घैंटोमा घाम लागोस ।

प्रतिक्रिया

प्रतिक्रिया