कोभिड–१९ का कारण भएको लकडाउनका कारण बाँकेका स्वास्थ्य संस्थाहरुले समेत आर्थिक संकट झेलेका छन् । व्यवसायिक रुपमा सञ्चालित अस्पतालहरुलाई समेत अस्पतालको व्यवस्थापनका लागि खर्च धान्न हम्मेहम्मे परेका बेला सेवामूलक स्वास्थ्य संस्थालाई थप संकट रहेको छ ।
नेपालगन्जमा रहेको फत्तेबाल आँखा अस्पताल, ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र, लायन्स डेन्टल अस्पताल सेवामूलक रुपमा चलिरहेका छन् । सहुलियतमा सेवा दिने उक्त अस्पतालहरु सेवा वापत लिए न्यूनतम रकम लिन्छन् । त्यही शुल्कबाट नै अस्पतालको व्यवस्थापन खर्च धानिन्छ ।
कोभिड–१९ का कारण लकडाउन भएपछि अस्पताल आउने बिरामीको संख्या शुन्य भयो । बिस्तारै बिरामी बढे तर पूर्ववत् अझै हुन सकेको छैन । त्यसले अस्पतालको आयस्रोतमा परिरहेको छ । व्यवसायिक रुपमा सञ्चालित अस्पतालले कर्मचारी कटौती, खर्च कटौती गर्दा पनि समयमा कर्मचारीलाई तलब दिन नसकेको प्रशस्तै उदाहरण भेटिन्छ । सेवामूलक अस्पताल त झनै समस्यामा परे ।
सेवामूलक अस्पतालहरुले आर्थिक रुपमा संकट झेलेपनि सेवामा भने कमी हुन दिएका छैनन् । नेपालगन्जको खजुरारोडमा रहेको लायन्स डेन्टल अस्पताल न्यूनतम शुल्कमा दाँतको उपचार गर्ने अस्पताल हो । सामान्य अवस्थामासमेत अस्पतालले आफ्नो आम्दानीबाट खर्च धान्न धौधौ पर्दथ्यो । अस्पतालको अपुग खर्च अस्पताल सञ्चालक संस्था लायन्स क्लब अफ नेपालगन्जले व्यहोर्दै आएको छ । कोरोना संक्रमण बढेका बेला अस्पतालले आइसोलेसन बनाएर राज्यलाई समेत सहयोग पुर्याउँदै आएको थियो । हाल अस्पतालले पुन सेवा सुरु गरेको सूचना समेत जारी गरेको छ ।
फत्तेबाल आँखा अस्पताल, ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रमा नेपालीसँगै भारतीय बिरामी समेत उपचार गर्न आउँछन् । उनीहरुसँग लिने सेवा शुल्क पनि अस्पतालको आम्दानी हो । तर, अन्तर्राष्ट्रिय नाका बन्द भएकाले अहिले त्यो आयस्रोत पनि बन्द भएको छ । नेपाली बिरामीहरु समेत पहिले जस्तो अस्पतालमा सेवा लिन आउने गरेका छैनन् ।
फत्तेबाल आँखा अस्पताल नेपालगन्जका प्रबन्ध निर्देशक डा. कौशल कुमार बर्मा आयस्रोत घटेपनि सोही अनुसार कर्मचारी र अस्पतालको खर्च व्यवस्थापन गरेको बताउँछन् । ‘न्यूनतम सेवा शुल्क लिएर हुने आम्दानीबाट अस्पताल चल्ने हो बिरामीको संख्या घटेपछि आर्थिक समस्या त भएको छ’, उनी भन्छन्, ‘तर, हामीले सेवामा कमी भने गरेका छैनौं ।’
फत्तेबाल आँखा अस्पताल नेपालगन्जका प्रबन्ध निर्देशक डा. बर्मा अस्पतालमा हुने व्यवस्थापकीय खर्च, कर्मचारी खर्च घटाएको बताउँछन् । ‘बिरामीको अनुपातमा कर्मचारीको व्यवस्थापन गरेका छौं’, उनले भने ।
फत्तेबाल आँखा अस्पताल नेपालगन्जले कर्मचारी कटौती भने गरेको छैन । बरु कोरोनाबाट उत्पन्न असहज परिस्थिति सधै नरहने भएकाले कर्मचारीहरुले आफ्नो सेवा, सुविधा कटौतीका लागि राजि भएका छन् । ‘अस्पतालमा पहिले जस्तो चाप नभएकाले हामीले लिने सेवा, सुविधा र कार्यअवधि घटाएका छौं’ अस्पतालका प्रबन्ध निर्देशक डा. बर्मा भन्छन्, ‘भोलि आर्थिक अवस्था अस्पतालको बलियो हुँदै गए पुनः हालको कटौती भएको सेवा, सुविधा पाउन सक्छौं ।’ अस्पतालका कर्मचारीले हाल ५० प्रतिशत मात्रै तलब लिएर काम गरिरहेका छन् ।
फत्तेबाल आँखा अस्पतालले प्रत्येक बर्ष दर्जनौं शिविर लगाएर बिरामीहरुलाई छुटमा उपचार गर्ने गर्दथ्यो । कोरोनाका कारण शिविर समेत अवरुद्ध भएका छन् । अस्पतालमा ओपिडिमा ५० र अपरेशनमा ५० प्रतिशतभन्दा बढी भारतीय बिरामी हुने गर्दथे । जसले गर्दा भारतीय मुद्रा आर्जन समेत हुने गर्दथ्यो ।
फत्तेबाल आँखा अस्पताल नेपालगन्जका प्रबन्ध निर्देशक डा. बर्मा सेवामूलक अस्पताललाई राज्यले सघाउने हो भने थप गुणस्तरीय सेवा दिन तथा अस्पताल सञ्चालनमा सहयोग पुग्ने बताउँछन् । ‘असहज परिस्थितिमा राज्यले भारतीय बिरामी समेत आकर्षित गर्न सक्ने अस्पताललाई सहयोग गर्ने हो भने उचित हुन्थ्यो’, उनी भन्छन् ।
फत्तेबाल आँखा अस्पतालले नेपालगन्ज बाहेक राजापुर, भुरी गाउँ, जयनगर र बाँसगढी, दैलेखको दुल्लु, सुर्खेतको मेहलकुनाबाट आँखा उपचार केन्द्र सञ्चालन गरेको छ । अस्पतालमा हाल ७९ जना कर्मचारी रहेका छन् । अस्पतालले गत बर्ष बार्षिक १ लाख ४० हजार ओपिडि र ११ हजार आँखाको शल्यक्रिया गरी सेवा दिएको थियो । चालु आ.व.मा त्यो संख्या ओपिडिमा ६० हजार र अपरेशन ४ हजार ५ सयको हुने अनुमान अस्पतालको रहेको छ ।
ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र पनि सेवामूलक अस्पताल हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत पुरन थारु पनि बिरामीको संख्या कम भएपछि आर्थिक संकट झेलिरहेको बताउँछन् । ‘न्यूनतम रुपमा लिइने सेवा शुल्क बाट नै अस्पताल चल्ने हो, बिरामी संख्या घटेपछि आम्दानी पनि घटेको छ’, उनी भन्छन्, ‘अस्पतालको आम्दानी घटेपछि कर्मचारीहरु हटाएका छैनौं, बिरामीको उपचारको गुणस्तर कम गरेका छैनौं, खर्चमा मितव्यायीता अपनाएका छौं, कर्मचारीहरुले तोकिए भन्दा कम तलबमा काम गरेका छौं ।’ कान अस्पतालमा पनि भारतीय बिरामीको संख्या करिब ३३ प्रतिशत रहने गर्दथ्यो । हाल भारतीय लकडाउनका कारण अस्पताल आउन सकेका छैनन् । दैनिक २ सय बिरामीको ओपिडि गर्ने अस्पतालमा हाल ९० जति बिरामी मात्रै पुग्ने गरेका छन् । मासिक १ सय वटासम्म कानको शल्यक्रिया गर्ने अस्पतालले हाल ५० भन्दा कम शल्यक्रिया गर्दै आएको छ ।