विजयादशमीमा नेपालगन्जमा छुट्टै रौनक हुने गर्दछ । प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर पनि नेपालगन्जमै भएकाले पर्वका बेला मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । पर्वका बेला नेपालगन्जका चोक, चोकमा दुर्गा मूर्तिहरु राखेर पुजाआजा गरिन्छ । त्यस्तै बागेश्वरीमा प्रत्येक दिन देवीका विभिन्न रुपहरुको विशेष पुजाआजा हुने गरेको छ । डेढ दशकदेखि लाग्दै आएको रामलीला यहाँ दशैंमा हुने उत्सवको अर्को विशेषता हो ।
यस बर्ष कोरोनाका संक्रमणको जोखिमका कारण बागेश्वरी मन्दिरको मूल ढोकाबाट भित्र दर्शनार्थीलाई पस्न दिइएको छैन । तर, पनि घटस्थापनाका दिन मन्दिरको गेटमा पुगेर दर्शन गर्नेहरुको संख्या उल्लेख्य थियो । जिल्ला स्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले पर्वका बेला धार्मिक स्थलमा हुने भीडभाडले कोरोना संक्रमण फैलन सक्ने भन्दै पर्व घरमै मनाउने निर्णय गरेको छ । जसका कारण दशैं जस्तो हिन्दुहरुको सबैभन्दा ठूलो पर्वमा पनि बागेश्वरी मन्दिर भित्र दर्शनार्थी पस्न पाएका छैनन् । मन्दिर भित्र पस्न नपाएपछि मन्दिरको मुख्यद्वारबाटै पुजाआजा गर्न शनिबार घटस्थापनाका दिन उल्लेख्य रुपमा दर्शनार्थी पुगेका थिए ।
दर्शनार्थीहरुलाई मन्दिर भित्र पस्न अनुमति नभएपनि मन्दिरमा दैनिक नित्य पुजा र दशैंका अवसरमा गरिने विशेष पुजा भने भैरहेको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । समितिले यसअघि दशैंमा दर्शनार्थीहरुलाई व्यवस्थापन गरी मन्दिर प्रवेशको अनुमति मागे पनि प्रशासनले त्यसको जवाफ नै दिएन ।
कोरोनाका कारण अघिल्ला बर्ष जस्तो सहर तथा गाउँका चोक चौराहमा स्थापना गरिने मूर्ति स्थापना हुन सकेनन् । तर, धार्मिक आस्थाले कोरोनालाई वेवास्ता गरेको छ । कोरोनाको जोखिम नै रहेपछि अघिल्ला बर्षको तुलनामा संख्यात्मक रुपमा कम भएपछि घटस्थापनाका दिन दुर्गा मूर्ति बाँकेका गाउँ तथा सहरमा राखिएका छन् । ‘कोरोनाको जोखिममा अन्य क्षेत्र खोलेपछि किन धार्मिक आस्थालाई मात्रै बन्दी बनाउने ?’, शनिबार दुर्गा मूर्ति स्थापना गर्न बाँकेको राप्तीपारी लग्दै गरेका हरिश गुप्ताले भने, ‘सुरक्षा मापदण्डमा ख्याल राख्छौं तर धार्मिक आस्था बमोजिम मूर्ति स्थापना गरेर पुजाआजा गर्छौ ।’
शनिबार दर्जनौं दुर्गा मूर्तिहरु बाँकेका विभिन्न गाउँमा स्थापना गर्नका लागि ट्याक्टरमा लगेको देख्न सकिन्थ्यो । ‘बर्षौदेखि मूर्ति स्थापना गर्दै आएका छौं, यस बर्षपनि जोखिम नै रहेपनि निरन्तरता दिने निर्णय गरेका हौं’, दिनेश शुक्लाले भने, ‘अरु ठाउँ खुला गर्दा कोरोना नसर्ने र पुजाआजा गर्दैमा मात्रै कोरोना सर्ने हो र ?’
उसो त पर्वका बेला प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर दर्शनका लागि नखोलेकोमा धेरै रुष्ट छन् । ‘के मन्दिरबाट मात्रै कोरोना फैलने जोखिम हुन्छ र ?’, घटस्थापनाका दिन मन्दिर पुगेकाहरुको एउटै स्वर थियो, ‘मन्दिरमा छिर्न नदिनु भन्दा सामाजिक दुरी कायम गरेर दर्शनको व्यवस्थापन गरी धार्मिक , सांस्कृतिक तथा परम्परागत भावनाको प्रशासनले सम्मान गर्नुपर्दथ्यो ।’ उनीहरु भन्छन्, मन्दिर भित्र छिर्न नदिएपनि मानिसहरु गेटमा पुगेका छन्, बाहिरबाटै भएपछि पुजाआजा गरेका छन् ।
बागेश्वरी मन्दिरमा प्रत्येक बर्ष दशैंमा विभिन्न भाकल गरेकाहरु आफ्नो भाकल पुरा गर्न विभिन्न धार्मिक गतिविधिका लागि पुग्ने गर्दथे । मन्दिर नखोल्दा उनीहरु हाल अन्योलको अवस्थामा रहेको बताउँछन् ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन हिन्दू नेपालीका घरघरमा घटस्थापनासहित जमरा राखी शनिबारदेखि बडादशैँ सुरु भएको छ । बिहान ११ः४६ बजेको शुभसाइतमा घटस्थापना गरी दशैँघर वा पूजाकोठामा जौ रोपेर जमरा राखेपछि आजदेखि नेपालीको महान् पर्व सुरु भएको हो । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ ।
दुर्गापक्षको पहिलो दिन शनिबार घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ । पूजाकोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाारम्भ भएको छ । पूजाकोठा वा दशैँघरमा नवरात्रभर देवीको आराधना गरिन्छ । जौको अङ्कुर दुर्गाको प्रिय वस्तु भएकाले यव रोपण गरी उनलाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कुल परम्परानुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।
देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिका प्रतीकका रुपमा पूजााराधना गर्ने वैदिककालदेखिको परम्परा छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीक चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तबीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गरिन्छ ।
शैलपुत्रीको पूजाराधना
दुर्गा पक्षको पहिलो दिन शनिबार शैलपुत्रीको आह्वानसहित विशेष पूजा गरिएको छ । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गरिन्छ । दुर्गाका यिनै नौ रुपलाई नवदुर्गा पनि भनिन्छ ।
आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै देवीको पूजाराधना गर्ने शास्त्रीय नियम छ । दुर्गापूजा र दशैँपर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतमले बताए । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइन्छ ।
नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजााराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सबैजसो मन्दिर बन्द छन् । शक्तिपीठमा नित्यपूजा भने गरिने जनाइएको छ ।