यस्ता छन्, पुरुष पीडाका कुरा

सबैले अधिकारका कुरा मात्र बढी गरे कर्तव्यका कुरा छुटाइयो । जसको नतिजा अहिले विवाहित पुरुषहरुको बिजोक भएछ । यहाँ खास गरी विवाहित पुरुष र विवाहित महिलाका बारेमा चर्चा गरिनेछ । कसरी महिला अधिकार, महिला स्वतन्त्रता र महिला सशक्तिकरणका नाममा महिलाहरु आफ्नै घरबार बिगार्न सुरु गरेकी छिन् ।


महिला अधिकारका कुरा गर्ने हो भने महिला सदियौं देखि पछाडि पारिएको समूह हो । जसलाई अगाडि ल्याउन विभिन्न सरकारी गैर सरकारी संस्था, वैदेशिक निकाय आदिको अहम् भुमिका र पहलमा रह्यो । सरकारले पनि महिलाका पक्षमा कार्यक्रम, परियोजना र कानून समेतको व्यवस्था गर्यो । अन्तर्राष्ट्रिय स्तरबाट पनि सरकारी तथा गैर सरकारी निकायले महिला सशक्तिकरणका नाममा बजेट ल्याए । महिलाहरु सशक्त र आत्मनिर्भर पनि भइन् । तर यसो गरिरहँदा सबैले एक पक्ष छुटाए त्यो हो कर्तव्यको पाटो । सबैले अधिकारका कुरा मात्र बढी गरे कर्तव्यका कुरा छुटाइयो । जसको नतिजा अहिले विवाहित पुरुषहरुको बिजोक भएछ । यहाँ खास गरी विवाहित पुरुष र विवाहित महिलाका बारेमा चर्चा गरिनेछ । कसरी महिला अधिकार, महिला स्वतन्त्रता र महिला सशक्तिकरणका नाममा महिलाहरु आफ्नै घरबार बिगार्न सुरु गरेकी छिन् ।
चारैतिर महिलाकै बोलवाला र महिला अधिकारकै चर्चा भइरहँदा अधिकांश विवाहित पुरुषहरुले पुरुष हिंसाका घटना परिवारको मान सम्मानका लागि भए पनि बाहिर ल्याउन चाहदैंनन् । किनभने एक विवाहित महिलाका हकमा बनेका कानूनले पुरुषलाई पूर्ण रुपले अपांग बनाइ दिएछ । उनीहरुलाई थाहा छ कि घटना बाहिर ल्याए पनि न्याय पाइदैंन किनभने महिलाका हकमा कानुन दरो छ । यहाँ हामी बांके यस्ता तीन वास्तविक घटनालाई प्रस्तुत गर्दैछौं जसमा पुरुषहरु पीडित रहेका छन् । घटनामा नाम ठेगाना आदि उल्लेख गरिदैंनन् । किनभने गोपनीयताको पुरै ख्याल राखिनेछ । तीनटै घटनाको साझा कुरा के छ भने तीनै घटनाको मुद्दा बांके अदालत सम्म पुगिसकेको छ ।
यहाँं उल्लेख घटना कसैको जीवनसंग मेल खाएमा संयोग मात्र हुनेछ । यी घटना उदाहरण मात्र हुन् यस्ता अनेक पुरुष हिंसा र पुरुष पीडितहरु विभिन्न समुदायभित्र छन् ।
घटना १ : वैवाहिक बलात्कार, घरेलुहिंसा र मानाचामलको मुद्दा
५ वर्ष अघि सामाजिक रीतिरिवाज अनुसार मागी विवाह भयो । बुहारीलाई बस्न गाह्रो न होस् भनी घरपरिवारले छुट्टै कोठा भाडामा लिएर बस्ने व्यवस्था मिलाइ दिए । विवाह भएको सुरु दिन देखि नै पत्नीले पतिलाई विभिन्न तरिकाले सताउन सुरु गरिन् । कहिले रिसको आवेगमा आएर घरका सरसामान तोडफोड गर्ने त कहिले फोन गरी माइती परिवारलाई बोलाएर झगडा गरी सबै सरसामान झोलामा हालेर माइत गइहाल्ने । पतिका परिवारले अहिले अलिअलि झक्कीपन छ बालबच्चा भएपछि बानी सुधार भइहाल्छ भनी उसको रिसमा गर्ने तोडफोड र आवेगमा आएर माइत गइहाल्ने बानीव्योहोरा नजरअंदाज गदर्थे ।
एक वर्षपछि छोराको जन्म भयो । तर बानीमा सुधार आएन् १५ दिनको शिशुलाई सासु र पति समक्ष छाडेर आफु हप्तादिनका लागि माइत गइहालिन् । बच्चालाई सासु र पतिको भरमा छाडेर माइती गएर हप्तौं बस्ने बानीमा कुनै सुधार आएन् । सारा सरसामान कोठाबाट लगेर माइतीघरमा सारिन् र केही दिन त्यहां संगै बसिन् । त्यहां बस्दा पनि पतिसंग झगडा गरी मोबाइल आदि खोसेर माइतपरिवारसंग मिलेर घरबाट निकादिइन् । त्यतिखेर उनी दोस्रो पटक गर्भवती पनि थिइन् । घरबाट निकालेर पतिमाथि वैवाहिक बलात्कारको मुद्दा दायर गरिन् । पतिले पटक पटक मिलापत्रको आग्रह गर्दा पनि मानिनन् । पति आफ्नो आमा र भाईहरुसंग बसिरहंदा उता उनीहरुका मनमा अर्को षडयन्त्र सुरु भइसकेको थियो जस बारे यिनीहरुलाई थाहै थिएंन् । उनले त्यही षड्यन्त्र अनुसार पतिलाई मिलापत्रका लागि छलफल गर्ने बहानामा घर बोलाइ आफु, आमा, बहिनी दाईभाई पुरै माइती परिवार मिलेर कुटपिट गरी चोरीको आरोपमा जेल पठाइन् । जेलबाट आइसकेपछि अस्पतालमा गर्भवती जांच र सुत्केरी खर्च औषधी उपचार खर्च सबै पतिबाटै तिराए ।
यहां विवाह गर्नुको उद्देश्य घरजम गरी खानु थिएन् । पति तर्फ करौडौंको पुर्ख्यौली सम्पति थियो जसमाथि यो परिवारको धेरै पहिला देखि नै आँखा लागेको थियो त्यो सम्पति हासिल गर्न यिनी आमा छोरीहरु मिलेर विवाहको नाटक गरे । उनीहरुले सोंचेका थिए कि विवाह गरेर पछि छोरीको साथमा मिलेर ज्वाइं र उसको परिवारलाई यति सताउछौं भने उनीहरुले आत्तिएर आफै तलाक दिन्छन् र तलाक दियो भने छोरीको अंश त पाइन्छ साथै दुबै नातिहरुको अंश समेत स्वतः पाइहालिन्छ । तर पतिले विवाहलाई सकभर निभाउने प्रयास गरिरहँदा यिनीहरुको षडयन्त्र असफल भयो । जसको आवेगमा आमाछोरी बहिनी सबै मिली पतिमाथि वैवाहिक बलात्कारको मुद्दाका साथै मानाचामल अर्थात खाना खर्च र बच्चाहरुको भरणपोषणको मुद्दा पनि लगाइदिए ।
माथिको पुरै घटनाक्रम बुझ्दै जाने हो भने यो घटनामा महिला कुनै तवरले पीडित रहेको देख्छिन् र । जुन महिलाले १५ दिनको दुखमुखे बालकलाई छाडेर हफ्तौं माइतीमा बस्न सक्छिन् । यति सानो बच्चा कसरी आमा बिना बसे होला ख्यालै नगरी आफ्नो स्वार्थ बारे मात्र सोच्ने महिलाले बच्चाको रेखदेख गर्नका लागि आफुसंग बच्चा राखेको हो वा बच्चाको अंश पनि हडपन पाइन्छ भनी बच्चालाई माध्यमको रुपमा प्रयोग गर्न राखेको होला भनी सहजै बुझ्न सकिन्छ । महिलाले सम्पतिको लोभमा सम्पति हासिल गर्न आफ्नो घर र वैवाहिक जीवन बर्बाद गर्न कुनै कसर बाकी नराखेको भनी प्रष्ट देखिन्छ ।
घटना २ : घरेलुहिंसा र अंश सहित सम्बन्ध विच्छेदको मुद्दा
१३ वर्ष अघि सामाजिक रितिरिवाज अनुसार परिवारले मागी विवाह गरी एउटी पढेलेखेकी बुहारीको रुपमा उनलाई ससम्मान भित्र्यायो । परिवार पनि अलि धनीमानी र शिक्षित थियो त्यस कारण पढेलेखेकी बुहारी आइ भने परिवारमा घुलमिल हुन सजिलो हुन्छ भनी साेंच थियो । यही सोंचका साथ सामान्य मध्यम वर्ग परिवारकी छोरी ल्याए ताकी उसले आफ्नो घरमा नपाएका सेवा सुविधा उपयोग गर्न पाओस् । माइती परिवार आर्थिक रुपले सम्पन्न थिएन तर उनीहरुलाई बुहारी पढेलेखिकी भए पुग्ने थियो बाकी सबथोक उनीहरुसंग थियो । विवाह हुदां पढाइ निरन्तर थियो त्यस कारण यताका परिवारले घरका कामकाज आफै गरी उनका लागि विवाह पश्चात पनि पढाइलाई निरन्तरता दिन सहज वातावरण बनाए । विवाहपछि केही वर्ष सम्म सबै कुरा राम्ररी चलेको थियो । यसै बीच एउटी छोरीको जन्म पनि भयो । तब सम्म सबै ठीकै थियो घर परिवारमा ।
तर भनिन्छ नि मानिसलाई आवश्यकता भन्दा बढी महत्व दिइयो भने टाउकोमा नै टेक्न आउछन् यहांँ पनि यस्तै भयो । उनलाई जति पति र परिवारले माया गर्थे सम्मान गर्थे उनको भाउ त्यति नै आकाशीदैं गइरहेको थियो । उनले स्वेच्छाले बिचमा पढाइ छाडिन् । अनि अंग्रेजी भाषा र कम्युटर कक्षा ज्वाइन गरिन् । तर त्यो शोख पनि केही दिनमै हराएर गयो उनले अंग्रेजी भाषा र कम्प्यूटर कक्षाको फीस भुक्तानी गरेर पनि कक्षा बिचमैं छाडिन् । अब अर्को शोखको जन्म भयो पुनः पढाइ गर्ने र उनले मास्टर्स डिग्रीको कक्षामा पढ्न भर्ना लिइन् जसमा उत्तीर्ण भएपछि अर्को शोखले जन्म लियो कि अब स्कुलमा पढाउन जान्छु । घर परिवारले त्यसको लागि पनि कुनै रोकटोक गरेन् । उनले पढाउन सुरु गरिन् र त्यहीबाट उनको परिवारमा विवाद सुरु भयो ।

महिला अधिकार भनेर उनले आफ्नो छोरीको हेरचाह पतिको खानापानीको जिम्मेवारीहरु र दायित्व सब छोडछाड पारी आफ्नो इच्छा पुरा गर्न तर्फ बढी केन्द्रीत भइन् । जसले गर्दा घरमा कलह सुरु भयो । जसको फलस्वरूप उनले आफैले कलहको सुरुआत गरिन् र आफै गएर घरेलुहिंसा र अंश सहितको छुटापत्रको मुद्दा हालिन् । जुन मुद्दा हाल बांके जिल्ला अदालतमा चल्दैछ ।
घटना ३ः अंश सहित सम्बंध विच्छेदको मुद्दा
४ वर्ष अघि सामाजिक रितिरिवाज परिवारको इच्छा अनुसार मागी विवाह भयो । विवाह भएको एक वर्ष सम्म सब ठीकै चल्यो । त्यस पछि उनले पत्नीको कर्तव्य निभाउन छाडिन् । न पतिसंग कुनै वास्ता न घर परिवारसंग कुनै वास्ता राख्थिन् । निरन्तर पति र परिवारलाई मानसिक तनाव दिने खालका शब्द प्रयोग र गतिविधिहरु गर्थिन् । उनको यो कार्य निरन्तर जारी थियो माइती परिवारलाई बोलाएर देखाउदां वा छोरीलाई घरबार सम्हाल्न सुझाव दिन बोलाउदां उल्टा तिनीहरु छोरीकै साइड लिन्थे जसले गर्दा उनलाई आफ्नो गल्ती पनि जायज लाग्थ्यो । पति र पतिको परिवारले हर सम्भव प्रयास गर्दा पनि उनी बस्न मानिनन् र माईत गइ हालिन् माइत गएपछि यता सबैले सोचेकी अहिले रिसमा गइछिन् रिस शान्त भइसकेपछि फर्केर आउनेछिन् ।
तर उनको मनमा त अर्कै कुरा खेलिरहकोथियो । त्यस कारण उनी फर्केर त आइनन् बरु पतिमाथि अंश सहितको सम्बन्ध विच्छेदको मुद्दा हालिन् जसमा उनको माइती परिवारले पनि साथ दियो । छोरीमाथि अत्याचार हुदां मुद्दा हाल्न परिवारले साथ दिनु त जायज हुन्थ्यो तर राम्रो शिक्षित र माया गर्ने परिवारसंग छुट्टिन छोरीले गरेको मुर्खतापूर्ण निर्णयमा पनि परिवारले साथ दिनु दुर्भाग्य थियो । हाल उनको अंश सहितको सम्बन्ध विच्छेदको मुद्दा अढाइ वर्ष देखि बांके जिल्ला अदालतमा चल्दैछ ।
माथिका तीनै घटना पढेर बुझ्न सजिलो भएको होला कि कसरी महिलाहरु आफ्नो वैवाहिक गृहस्थी सखाब पार्दैछन् । यसको मुख्य कारण महिला अधिकारका अधुरा पाठ सिकाउने महिलावादी संस्था जसले महिलाको कर्तव्यको पाठ सिकाएनन् अधिकार अधिकार मात्र गरे । जसको फलस्वरूप महिलाहरुले परिवार प्रतिको आफ्नो दायित्वलाई हिंसा ठानी त्यो दायित्वबाट पन्छिन खोज्दा घरमा कलहको कारण बन्न पुग्यो । नतिजा घरका स साना झगडा अदालत सम्म पुग्न सुरु भए ।
उल्लेख गरिएका घटनाका महिला कुनै हालतमा पीडित नहुँदा पनि उनीहरु अदालत सम्म पुग्न सफल हुनुको कारण हो महिलाका हकमा बनेका महिलामैत्री कानून जसले महिलालाई बलियो बनाउँंछन् । तर, वास्तविक पीडित महिला अदालतसम्म पुगेको उदाहरण शुन्य नै छ । अहिले पनि उनीहरुलाई थाहा नै छैन् कि कुन कानून महिलाका पक्षमा बलिया छन् , कुन कानून कमजोर छन् , कसरी मिसिल लेखायो भने अदालतमा मुद्दा जित्न पक्ष बलियो हुन्छ, कुन कुरा लेखियो भने कमजोर हुन्छ । यी सब कुरा त चार सौ बिस गर्ने महिलाहरुलाई मात्र थाहा हुन्छ जो वकिलसंग सांठगांठ गरी जित्ने खालको बलियो मिसिल तयार पार्छिन् जसले विवाह जस्तो पवित्र बन्धनलाई बदनाम गरी वैवाहिक बलात्कार जस्ता आरोप लगाउन कति पनि हिचकिचाहट महसुस गर्दैनन् ।

अहिले घरेलुहिंसा होस् वा अंश सहित सम्बन्ध विच्छेद जस्ता मुद्दा होस् यी यावत मुद्दा महिला र वकिलको मिलीमतोमा यस सम्झौताका साथ दर्ता गरिन्छ कि जति सम्पति भागबण्डामा पर्छ ती मध्ये यति प्रतिशत वकिलको र बाकीको सम्पतिमा महिलाको स्वामित्व हुनेछ भनी पहिले नै तय गरिन्छ । यदि अदालतमा आएका मुद्दाहरुको बारेमा सर्वेक्षण गरिने हो भने कुनै पनि सम्बन्ध विच्छेदको मुद्दा मात्र सम्बन्ध विच्छेदका लागि आएका हुदैन्न् बरु सबै मुद्दा अंश सहित भनी दायर गरिएका हुन्छन् । यदि अदालत सम्म पुग्ने महिलाहरु वास्तवमा पीडित नै हुने भए त उनलाई पीडक पतिबाट सम्बन्ध विच्छेद गरी छुटकारा पाउनु भन्दा ठुलो सरोकार अरु तिर हुनु पर्ने थिएन् तर त्यस्तो कुनै मुद्दामा भेटिदैंन् ।
अर्को महत्वपूर्ण कुरा हेर्ने हो भने हिंसा र समस्या बढी जसो गरीब परिवारमा हुन्छन् जहांँ दुई छाक खाना र एक जोर लुगा किनेर लाउन समस्या हुन्छ । पुरुषहरु गरीबी र बेरोजगारीका कारण परिवारको आवश्यकता पुरा गर्न नसकेर मानसिक तनावका कारण मादक सेवन गरी हिंसा र कुटपिट समेत गर्छन् । तर, पनि महिलाहरु समस्या लिएर अदालत सम्म आउदैनन् बरु पुरुषको आर्थिक भार कम गर्न आफु पनि खेतमा ज्याला मजदूरी र घरेलु कामदारका रुपमा काम गरी परिवारलाई सहयोग गर्न हर सम्भव प्रयास गर्छिन् ।
यस कारण अदालतमा आउने सबै महिला पीडित नै हुन्छिन् भन्ने हुदैंन् । किनभने जहांँ हिंसा बढी हुन्छ र हुने सम्भावना रहन्छ त्यहां महिलाहरुसंग अदालतको दस्तूर र वकिलका महंगा फीस तिर्न सक्ने आर्थिक अवस्था नै हुदैंन् । जब जाने अवस्था नै रहदैंन् भने अदालत जाने महिला को हुन्छिन् त भन्दाखेरि त्यही टाठाबाठा सम्पतीका लोभी र ठग महिलाहरु नै आफ्नो पक्षमा फैसला गराउन सब चाजोंपाचों मिलाएर पुग्ने गर्छिन् ।
अहिले त एउटा लहर नै चलेछ अधिकांश महिलाहरुले विवाह गर्दै अंश सहित सम्बन्ध विच्छेद गर्दै फेरि अंश लिदैं अर्को विवाह गर्दै सम्पति जोड्दै जाने गर्छिन् । अब यस्ता ठगुवा महिलाहरुको षड्यन्त्रबाट पुरुषहरुलाई जोगाउनका लागि बनेका कानून संशोधन गरिनुपर्छ । अनि लेखिनुपर्छ कि यदि कुनै महिलाले विवाह पश्चात अंश सहित सम्बन्ध विच्छेद गर्छिन् भने उनले अर्को विवाह गर्न पाउदैनन् । यदि मानव अधिकारको पालना गर्दै उनले उनको मानव अधिकार स्थापित गर्न अर्को विवाह गर्न चाहेमा वा गरेमा सम्बन्ध विच्छेद गर्दा लिएका जम्मै सम्पति जस्ताको तस्तै फिर्ता गर्नुपर्छ । अनि महिलाका अधिकारका साथै महिलाका कर्तव्य पनि किटान गरी लेखिनुपर्छ । साथै अहिले सम्म अदालतले गर्ने फैसला भनेको साक्षी र प्रमाणका आधारमा जसको पक्ष बलियो हुन्छ त्यसैको पक्षमा फैसला हुने गरेकाछन् । महिला वा पुरुषको पक्षमा फैसला नगरी न्यायोचित फैसला गरिने व्यवस्था र कानून निर्माण गरिनुपर्छ ।
अर्को कुरा हामीले माथि पढिसकेछौं कि वास्तविक पीडित महिलाहरु अदालत सम्म पुग्न सक्ने वातावरण नै छैन् भने न्याय पाउने कुरा त परै जाओस् । यस कारण घरायसी झगडा वा घरेलुहिंसाका मुद्दा होस् यिनीहरुलाई हेर्नका लागि समुदाय स्तरमै पारिवारिक अदालतको व्यवस्था गरिनुपर्छ । ताकि न्याय निरुपण र न्याय पाउनमा बिलम्ब नहोस् र कसै माथि अन्याय नहोस् ।

यदि समुदाय स्तरको पारिवारिक अदालतले यी मुद्दा हेर्छ भने उसलाई सब थोक जानकारी हुन्छ र जो सही हुन्छ उसैको हकमा फैसला गरी न्याय कायम गर्न सकिन्छ । अनि विवाहको नाममा भइरहेका व्यापारिक गतिविधिहरुलाई रोकथाम गर्न सकिन्छ । यदि विवाहको आडमा यो सम्पति लूटको खेल रोकिएन भने अहिले झै महिला अधिकारका नाममा पुरुषको बिजोग कायम रहन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया