हिन्दुहरुको महान् पर्व दशैं आजबाट सुरु हुँदैछ । दशैंको ९ दिनसम्म देविका विभिन्न रुपहरुको पुजाआजा हुने गर्दछ । नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा दशंैका बेला घुइँचो लाग्ने गरेको छ । तर, यस पटक भने भक्तजनहरुले मन्दिर प्रवेश गर्न नपाउने भएका छन् । कोरोनाको जोखिम सँगै बन्द गरिएको मन्दिरको मुख्यद्वार दशैंमा पनि नखोलिने भएको हो । पर्वका बेला मन्दिर नखुल्दा गेटबाटै दर्शन गरेर दर्शनार्थीहरु फर्किने गरेका छन् ।
बागेश्वरी मन्दिरमा दशैंको नौं दिननै विशेष पुजाआजा हुने गर्दछ । दशैंमा हुने विशेष पुजामा समेत दर्शनार्थी सहभागी हुन नपाउने भएका छन् । घटस्थापनाका दिन आज मन्दिरमा दर्शनार्थीहरु पुगेर गेटबाट दर्शन गरी फर्किएका छन् । विगतका बर्ष जस्तो भीडभाड भने मन्दिरमा रहेको छैन ।
कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले मन्दिरमा नृत्य पुजा हुने भएपनि दर्शनका लागि भने खुला भने नहुने बताएका छन् । ‘घरमै बसेर पर्व मनाउने निर्णय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले गरेको छ’, उनले भने ।
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले दशैंमा मन्दिर दर्शन हिन्दुहरुको आस्थासँग जोडिएको विषय भएकाले सुरक्षा व्यवस्था मिलाएर मन्दिर दर्शनको व्यवस्था मिलाइदिन प्रशासनसँग आग्रह गरेको थियो । ‘हामीले प्रशासनलाई आग्रह गरेपनि जवाफ आएको छैन, अनुमति नपाउँदा सम्म मन्दिर दर्शनका लागि खुला गर्न मिलेन’, बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले भने ।
कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले जिल्लामा कोभिड बढेका कारण धार्मिक स्थल नखोल्ने निर्णय गरेको हो । तर, सबै क्षेत्र सञ्चालनमा आउँदा मन्दिरलाई मात्रै रोकिएको भन्दै चर्को आलोचना हुँदै आएको छ ।
बाँकेमा दैनिक कोरोना संक्रमित थपिइरहेको अवस्था भएकाले कोरोनाको प्रचार र जोखिम कम गर्नका लागि पर्वहरु घरमै मनाउन जिल्ला स्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले आग्रह गरेको छ ।
कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले बडा दशैं, तिहार, नेपाल सम्वत, छठ, मोहम्मद डे लगायतका प्रमुख चाडपर्वहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आ–आफ्नै घरमा मनाउन आव्हान गरेको छ ।
कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले धार्मिक स्थलमा धर्म, परम्परालाई निरन्तरता दिन दैनिक नृत्य पुजा अर्चना मात्र गर्ने, मानिसहरुको जमघट, भिडभाड हुने गरी कुनै पनि जात्रा, मेलाहरु आयोजना नगर्ने निर्णय गर्दै त्यसका लागि आव्हान समेत गरेको छ । कोरोनाको वर्तमान अवस्थालाई मध्यनजर कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना भए नभएको अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ ।
नेपालगन्ज सदरलाइन न्यूरोड मार्गको त्रिभुवन चोक देखि त्रिवेणी मोडसम्म हुने भीडभाडलाई मध्यनजर गरी विहान १० देखि साँझ ८ बजेसम्म दुई पाङ्ग्रे बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय पनि कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले गरेको छ ।