देशको राजधानीबाट हरेक बर्षको दशैंमा झण्डै ४० लाख मानिसहरुको गाउँ फर्कने र फर्कनु पूर्व गाउँतिरका आफ्ना आफन्तका लागि गर्ने गरेको किनमेल यो बर्ष नहुने भएको छ । कारण अहिले देशको राजधानी काठमाण्डौं कोरोनाको केन्द्रबिन्दु बनिरहेको छ । कोरोना कै कारण बेरोजगार भएर त्यहाँबाट पहिले नै ठूलो जनसंख्या बाहिरिएको छ ।

यस बर्षको बडा दशैं भोलीबाट शुरु हुँदै छ । कोरोनाको प्रायोजित आतंक र संन्त्रासका बीच मनाउन लागिएको यसपटकको बडा दशैंको रौनक नेपालको दशैं मनाउने इतिहासमा नै अति निराशाजनक देखिँदै छ । नेपाल साँस्कृतिक विविधता भएको देश हो । यहाँ प्रकृति पूजक देखि मष्टो (कुल पूजक) सम्म रहेका छन् । यो भूमि देवभूमि तपोभूमि पनि रहेकोले यहाँ बिभिन्न किसिमका देवी देवलहरुमा पूजा प्रार्थना हुने गर्छ । हरेक समुदायका साझा र एकल चाडवाडहरु रहेका छन् । यहाँका साझा चाडवाडहरुमा संयुक्त उत्सव मनाउने मात्रै होइन कि एकल चाडवाडहरुमा समेत सहभागी हुने, बधाई साटासाट गर्ने, एक अर्काका साँस्कृतिक र परम्परागत उत्सवहरुको रमाइलोमा सक्रिय सहभागी भएर रौनक थप्ने समेत गर्ने परम्परा रहेको छ । नेपालमा हरेक महिनाजसो कुनै न कुनै साँस्कृतिक या धार्मिक पर्व परेको हुन्छ जसलाई समय, स्थान बिषेश आदिका आधारमा महत्व दिएको पाइन्छ । यस्तै चाडवाडहरु या पर्वहरुको समष्टिगत रुपमा महापर्व, महाचाड, साझा चाडको रुपमा यी दुई चाडहरु बडादशैं र तिहार रहेका छन् । यी चाडहरुमा समाजका हरेक वर्ग र हरेक उमेर समूहका लागि छुट्टै किसिमको उत्साह र उमङ्ग रहेको हुन्छ । केटाकेटीहरुका लागि पीङ्ग, पैसा घुमघाम, मामाघर हजुबाआमाको बिशेष माया ममत्व र खानेकुराहरुको रोजीछाडी आदी हुन्छ भने, युवावर्गहरुमा बिभिन्न ठाउँमा घुम्ने, प्राकृतिक सौन्दर्यताको आनन्द उठाउने, बिभिन्न देवीदेवलहरुको दर्शन गर्ने, भेटघाट गर्ने अवसर रहेको हुन्छ । यसै गरी बृद्ध उमेर समूहका लागि आफ्ना आफन्तहरु, छोरा नातिनातिनाहरु, देश परदेशमा रहेका घरपरिवारका सदस्यहरुको घर आगमनले आँगन भरिभराउ हुने, बर्षभरिका आ आफ्ना दुःखसुखका कथाबेथाहरु सुन्ने सुनाउने, आफ्ना शाखासन्तानहरुलाई आर्शिबाद दिएर गद्गद हुँदै आत्मतृप्त हुने अवसर यो बडादशैंले दिन्छ ।
यी सबै कर्ममा चल्ने मानव मेलाले देशभरि नै अर्थतन्त्रलाई निकै चलाएमान बनाउने गर्छ । नेपाल सरकारको अर्थ मन्त्रालयको भनाई, उद्योग बाणिज्य संघ संस्थाहरुका बिगतका तथ्याङ्कहरु, भ्याट भन्सारका आम्दानीहरुले पनि नेपालको अर्थतन्त्रको झण्डै चालिस प्रतिशतचलायमान हुने भनेको यी दुई ठुला चाड दशैं र तिहारका दुई महिनामा नै हो भन्ने प्रष्ट हुन्छ । बर्षभरिका बाह्र महिनामा हुने ब्यापारको ठूलो हिस्सा मात्रै दुई महिनामा हुने भनेको नेपालमा मात्रै हो । संसारका अन्य मुलुकहरुमा यस्तो हुँदैन । यसकारण पनि नेपालमा यी दुई चाडहरुको साँस्कृतिक मात्रै होइन आर्थिक महत्व पनि त्यतिकै रहेको छ ।
हरेक आर्थिक बर्षको श्रावण महिनामा पहिलो दिन नै पर्ने पहिलो चाड साउने संक्रान्ति बाट शुरु हुने नेपाली मौलिक चाडहरुले देशको अर्थतन्त्र पनि चाडपर्वमा आश्रित छ किन नभन्ने भन्ने प्रश्न उठ्छ । तर यहाँ यो कुरालाई न त वर्तमान सत्ताका नाइकेहरुले स्वीकार गर्छन न नेपालको बुद्धिजिवीहरुको ठूलो जमातले स्वीकार गर्छ । यहाँ त चाहना भन्दा पनि बहाना चाहिन्छ खर्च गर्नका लागि भन्ने पनि प्रचलन छ । हो हाम्रा यी चाडपर्वहरु बहाना नै सहि अर्थतन्त्रलाई चलायमान बनाउनका लागि भएपनि अति महत्वपूर्ण छन् किन नभन्ने ?नेपालका गैर धार्मिक, गैर मौलिक गैर रैथाने साँस्कृतिक पृष्ठभूमि भएकाहरु र नेपालीपनलाई यहाँको साँस्कृतिक परम्परालाई सत्तोसराप गर्नेहरु र न्वारनको बल लगाएर, जिन्दगी भरिको अध्ययनको हरेक शब्दशब्द खर्चेर उछितो काढ्नेहरुको पनि चुलो बल्ने वा ब्यापार चल्ने भनेको पनि नेपालका मौलिक रैथाने चाडपर्वहरुको बहानामा नै हो ।
बर्षभरि जतिसुकै, जस्तोसुकै कर्म गरेपनि जहाँ रहेपनि बर्षको एकपटक त मिठो मसीनो खाने, लूगाफाटो किन्ने, यसो भेटघाट गर्ने घुमघाम गरेर तनमनमा उमङ्ग ल्याउने परम्पराले गर्दा देशको समाज, पारिवारिक क्षेत्र, आन्तरिक पर्यटकीय क्षेत्र, स्वास्थ्य क्षेत्र, यातायात क्षेत्र, उद्योग ब्यापार क्षेत्र सबैतिर सकारात्मक संकेत र उर्जाको काम दशैंतिहारले नै गराउँछ ।
तर यसपटकको दशैंले यी तमाम क्षेत्रमा हुने आर्थिक रक्तसंचारको मुहान सुकेर संकुचनतिर नै गएको देखिँदै छ । दशैंको मुखमा परदेशबाट निकै उत्साहका साथ आफुले कमाएको सानोतिनो रकम भएपनि दशैं खर्चको लागि कम्मरमा बाँधेर लर्को लाएर घरतिर आउनेहरु आज उल्टो रोजगारीको चिन्तामा लर्को लाएर मुगलानतिर पसेका छन् । दशैं खर्चको जोरजाम गर्न भन्दै बजारतिर ज्यालादारीका कामहरु गरेर मेलोमेसो मिलाउनेहरुलाई यसपटक बिरलै काम भेटिएको छ । चाडवाडमा काममा व्यस्त रहने बिगतका बर्षहरुमा जस्तो गाउँघरमा आउने चहलपहल र शहर बजारमा चल्ने किनमेल सुनशान जस्तै छ । बर्षभरिका महान चाडवाडहरु दशैं र तिहारको रौनकबाट बजारमा आउने व्यापारिक चहलपहल यो बर्ष निकै न्यून भएको छ । बिगतका बर्षहरुमा जस्तो आम मानिसहरुका खल्तीहरुमा दुई चार पैसाको जोहोजाम यो बर्ष रहेको अनूभूति गर्न सकिँदैन । त्यसैमाथि कताकति खुले टोपलेका बजार व्यवसायहरु पनि आज बन्द कि भोली बन्दको हल्लै हल्लामा ग्रस्त भएका छन् । यसैमा देशमा सक्रिय संक्रमितको संख्या चालिस हजारबाट माथि लाग्दै गर्दा देशका मूख्य बजारहरु, भीडभाडका स्थानहरुमा कडा नाकाबन्दी लगाउने हल्लाले दामपैसो भएका मानिसहरुमा समेत खर्च गर्ने अवसर नभएको अवस्था आएको छ ।
विदेशतिर काम गर्न गएकाहरुबाट दशैंखर्च पठाउनेहरुसँग यसपटक कोरोनाले काम सकिएका कारण या आधा तलबमा मात्रै काम गर्न परेका कारण दशैंखर्च पठाउने रकम छैन । कतिपयले त साथीभाइहरुसँग सरसापटी गरेर खान परेको समेत छ । यो पङ्कितकारले न्यूयोर्क, वाशिङ्गटन, पोर्चुगल देखि जापान, मलेशिया, कतार, साउदी, संयुक्त अरब इमारतसम्म रहेका केहि नेपालीहरुसँग सम्पर्क गरेर विदेशको हाल बुझ्ने प्रयास गरेको छ । उनीहरुको भनाई र उनीहरु आफैले अहिले भोगेको अवस्थाको बयानका आधारमा विदेश गएका आम नेपालीहरुबाट नेपालमा रहेका आफ्ना परिवार र उनको दशैं को खर्चमा टेवादिन सकेको अवस्था छैन । तर सरकारले भने बिप्रेषण बढेको भनेको छ भनेर यी कुराहरु मिथ्या हुन भन्नेहरुलाई पनि यहाँ स्पष्ट पार्नै पर्ने हुन्छ त्यो भनेको डलरमा भएको बृद्धि र हुण्डी कारोबारमा भएको कमीले गर्दा मात्रै बिप्रेषण बढेको हो । यहाँ नेपालीले पैसा धेरै पठाएको हो भनेर धेरै मख्ख नपरेपनि हुन्छ ।
बर्षदिनमा सकेसम्म एकपटक दशैंको मौका पारेर घर फर्केर आउँने र गाउँघरतिरका हालसँग तरोताजगी गर्ने भन्ने हाम्रो आफ्नै मौलिक परम्परा हो । यसले हरेक नेपालीमा परिवार प्रतिको माया, परिवारको महत्वलाई जिउँदो राखेको छ । यसपटक यो जिउँदोपनामा ब्रेक लागेको धेरै क्षेत्रलाई महसुस भएको हुनुपर्छ ।
भूगोलका हिसाबले ९४औं स्थानमा रहेको हाम्रो देश गाउँ नै गाउँले बनेको छ । यहाँको कुल जनसंख्याको ८१ प्रतिशत जनसंख्या (बिश्व बैंकको सन् २०१६ को बिकास सूचक तथ्यांकलाई आधार मान्दा ) आज पनि गाउँ मैं बस्छ । यसैलाई आधार मान्दा पनि गाउँ र कृषिको अति नै निकट सम्बन्धलाई बुझ्न गाहे छैन । यस हिसाबले नेपालको सकल अर्थतन्त्रको केन्द्रबिन्दु गाउँ नै हो । दशैंतिहार अझ खासगरि दशैं भनेको वास्तविक रुपमा नेपालको गाउँको चाड पनि हो । यसले रौनकता गाउँमा ल्याउँने गर्छ । गाउँमा रौनकता ल्याउनका लागि बजार र ब्यापारमा किनमेलको चहलपहल हुनेगर्छ । शहरबाट गाउँतिर अर्थतन्त्रको प्रवाह पनि हुन्छ । हरेक नेपालीको हातमा धेरैथोरै रकम दशैंकै कारण हात पर्ने गर्छ । चाहे कर्मचारीहरुको बोनसको रुपमा होस, या पेश्कीको रुपमा, या सापटीको रुपमा होस या ज्याला मजदूरी या सहयोगका रुपमा । यसरी पाएको पैसा दशैंका किनमेलको रुपमा घुमेर बैंक या बजारमा ब्यापरीहरु कहाँ नै आउँछ । नेपालको सकल अर्थतन्त्रको मूलथलो तिर अर्थको प्रवाह दशैंमा हुन्छ भन्नेबारेमा दशैको निकै ठूलो महत्व रहेको कुरालाई हाम्रा अर्थशास्त्रीहरुले समेत स्वीकार गरेका छन् । अघिपछि कुनै दुखबिमारी वा सामान्य खर्चपर्चका लागि मात्र बल्लतल्ल भित्रिने रकममा दशैंको आगमनले जुन गतिमा ह्वात्तै बढोत्तरी हुने गर्दछ त्यो यसपटकको दशैंमा नहुने पक्का पक्की छ ।
देशको राजधानीबाट हरेक बर्षको दशैंमा झण्डै ४० लाख मानिसहरुको गाउँ फर्कने र फर्कनु पूर्व गाउँतिरका आफ्ना आफन्तका लागि गर्ने गरेको किनमेल यो बर्ष नहुने भएको छ । कारण अहिले देशको राजधानी काठमाण्डौं कोरोनाको केन्द्रबिन्दु बनिरहेको छ । कोरोना कै कारण बेरोजगार भएर त्यहाँबाट पहिले नै ठूलो जनसंख्या बाहिरिएको छ । भएकाहरुले पनि सामान्य स्थितिमा जस्तो काम पाएका छैनन् जसका कारण उनीहरुले कोठाभाडा समेत तिर्न नसकेको अवस्था पनि रहेको छ । यस्तो अवस्थामा ती व्यक्तिहरुका लागि किनमेल गर्ने या गाउँ फर्केर दशैं मनाउने चाहना खल्तीले रोकिदिएको छ । देशभरका साना तथा मझौला संञ्चार जगतमा आश्रितहरु पनि नयाँ बर्ष, विद्यालयमा भर्ना देखि दशैंका शुभकामनाका बिज्ञापनहरु समेत नपाएर अब अगाडी कसरी जाने हो भन्ने अन्यौलमा जाने अवस्था सृजना भएको छ । समग्रमा भन्ने हो भने नेपालको अर्थतन्त्र चलायमान बनाउने धमनीको रुपमा काम गरिरहेको यो महान चाड बडादशैं नेपाली अर्थतन्त्रको संकुचनको दशैं बनेको छ ।
कोरोनाको सन्त्रासको बीच मनाउन लागिएको यो बडा दशैं २०७७ को उपलक्ष्यमा सबैमा हार्दिक एवं मंगलयम शुभकामना ।

प्रतिक्रिया

प्रतिक्रिया