हटारु क्याराभानको सम्झना

गाउँमा नुन, चिनी, कपडा, जुत्ताजस्ता उपभोग्य बस्तु पाइने कुनै पसल थिएनन् । कालिकोट, जुम्लाका व्यवसायीले भेडा–च्याङ्ग्रामा नुन बोकाई गाउँ–गाउँमा ल्याएर बेच्थे । पैसाभन्दा बस्तुको साटासाट चल्थ्यो । अरु अन्नपात दिएर नुन र चिनी खरिद गरिन्थ्यो ।
नुन, चिनी र कपडा लिन गाउँबाट हप्तौँ हिँडेर बर्दियाको राजापुर, कैलालीको कटासे, चिसापानी, डोटीको दिपायल जानुपथ्र्यो । गाईभैंसीबाट उत्पादन गरेको घिउ पनि त्यहीँ लगेर बेचिन्थ्यो । घिउ बेचेको र अरु पैसाबाट आवश्यकताका सामान खरिद गरेर पुनः हप्तौँ हिँडेर घर फर्किइन्थ्यौँ ।
पहाडबाट हाट भर्न जाने व्यक्तिलाई हटारु भनिन्थ्यो । ठाउँठाउँमा हाटबजार लाग्थे । आफ्नै पसलबाट सामान किनोस् भनेर साहुजीहरूले हटारुलाई बस्ने व्यवस्था गरिदिन्थे । कसैले पसलकै छेउमा त कसैले छुट्टै घर हटारु बस्न व्यवस्था गरेका हुन्थे । पहाडबाट ल्याएको घिउ खरिद गर्थे । र, आफूसँग भएका सामान बिक्री गर्थे । पटक–पटक हाटबजार जान सम्भव नहुने भएकाले वर्षभरिका लागि चाहिने नुन, चिनी, मट्टीतेल र लुगाफाटो एकैपटक किनेर लगिन्थ्यो ।
१४÷१५ वर्षको उमेरमा म पनि हटारु बनेर कैलालीको कटासे आएको छु । चिसापानी र डोटीको दिपायल धाएको छु । दुई/तीनपटक हाट आएकाले हटारुका दुःख मलाई राम्रोसँग सम्झना छ । हप्तौँ दिन पैदल हिँड्दा थाकेर लखतरान भइन्थ्यो । जाँदा आउँदा बाटोमा चाहिने खाने पिठो र चामल घरैबाट लैजानु पथ्र्यो । जहाँ जहाँ बास बसिन्थ्यो, त्यहीँको कुनै पसल वा घरमा फर्किंदाका लागि भनेर पिठो र चामल छाड्दै जान्थ्यौँ । गाउँबस्तीभन्दा पर ओढारको बास भए त्यहीँ पोको पारेर लुकाएर जान्थ्यौँ । हाट जाँदा खासै भारी हुँदैनथ्यो । साथमा केही टिन बेच्ने घिउ र बाटो खर्चको चामल–पिठो हुन्थ्यो । बिहान चार÷पाँच बजेतिरै उठेर गन्तव्यतिर लागिन्थ्यो । एकै उमेरका साथीभाइ पनि हुने भएकाले हाँसखेल गर्दै जान रमाइलो लाग्थ्यो । एउटा हटारु टोलीमा १०/१५ जना हुन्थ्यौँ । कहिले ओढार त कहिले जङ्गलको बास हुन्थ्यो । बिहान हिँडेको टोली साँझ अघिल्लो गन्तव्यमा पुग्थ्यो । भोक र थकाइले आकुलव्याकुल भइन्थ्यो । बास बस्ने ठाउँ पुगेपछि कोही दाउरा खोज्ने, कोही खाना पकाउने त कोही सुरक्षित रात काट्ने व्यवस्थापनमा जुट्थे । सबैले आ–आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्थे ।
हाटबजारबाट फर्किंदा भने जाँदाजस्तो सजिलो हुँदैन्थ्यो । वर्षभरि पुग्ने सामानले भरिएको गह्रौं डोको बोकेर उकाली/ओराली गर्नु कम्ता सकस हुँदैनथ्यो । असिनपसिन भएर लामो यात्रा तय गथ्र्यौं ।
पहाडतिरका गोरेटा साँघुरा हुन्थे । थोरै हिँडिने भएकाले ती ठाउँठाउँमा हराउँथे । धेरै मानिस ओहोरदोहोर गर्ने, गाईबस्तु, भेडाबाख्रा र घोडाखच्चर हिँड्ने बाटो बिग्रेको र भत्किएको हुन्थ्यो । त्यस्तो बाटोमा गह्रौं भारीको डोको बोकेर हिँड्नु डरलाग्दो हुन्थ्यो । भारी बोकेर दिनभर उकाली÷ओराली छिचोल्दै साँझ ओढार वा जङ्गलको बास हुन्थ्यो ।
थाकेको ज्यान बिहान अबेरसम्म सुत्न चाहन्थ्यो । तर, अगुवाले ‘उठ–उठ केटा हो’ भनेपछि ज¥याकजुरुक उठ्नु पथ्र्यो । ठूलाबडालाई नटेरे छाडेर जाने भय हुन्थ्यो । खाना पाकिसकेको हुन्थ्यो । हतारहतार खाएर अर्को ओढारसम्मको यात्रा तय गर्नुपथ्र्यो ।
घर पुग्ने दिन भने हटारुका मुहारमा चमक आएको प्रस्टै देखिन्थ्यो । धेरै दिनपछि घर फर्किने कुराले वातावरण रोमाञ्चित हुन्थ्यो । हटारुका फुर्तीफार्ती अरु दिनभन्दा बेग्लै हुन्थे । कोही नवविवाहिता हुन्थे । उनीहरूलाई परिवार भेट्न हतारिएको भनेर खुबै जिस्क्याइन्थ्यो । घरघरका आआफ्ना समस्या हुन्छन् । झन्डै दुई साता कुनै सम्पर्क नभएकाले घरपरिवारको हालखबर थाहा पाउन पनि आत्तुरी हुन्थ्यो । मलाई भने कतिबेला घर पुगेर डोकाको भारी बिसाउँला र मस्तले सुतौँलाझैँ हुन्थ्यो ।
घर पुग्ने दिन नुहाइधुवाइ गरी कपालमा वास्नादार तेल लगाई चिटिक्क पर्थें । सामान राखेको डोकोको सबभन्दा माथि घिउ लगेको टिनको टल्किने कन्टर बाँधेर राखिन्थ्यो । ताकी हटारु फर्केको गाउँबाट देखियोस् । घरमा बसेका पनि दिन गनेर हटारु आउने बाटोमा आँखा ओछ्याएर बसेका हुन्थे । अहिलेजस्तो मोबाइल वा टेलिफोनको कुनै सुविधा थिएन । दिन गनेर बस्नुको विकल्प पनि त थिएन ।
पल्लो डाँडातिर हटारुका टिन टल्किएपछि परिवारका सदस्यहरू घरदेखि अलि वरसम्मै लिन आउँथे । हप्तौँ दिन बोकेर ल्याएको भारी उनीहरूले बोक्थे । भारी बिसाउन पाएकामा हटारुको मुहारमा खुसीको रङ्ग पोतिन्थ्यो । बाटोमा भोगेका अनेक दुःख–पीडा क्षणभरमै बिर्सिन्थे ।
हटारु घर पुगेपछि उनीहरूको छुट्टै मान हुन्थ्यो । लामो समयदेखि विदेश बसी आएको जस्तै हटारुलाई पनि मीठोचोखो खुवाइन्थ्यो । दुई/चार दिनसम्म त हटारुले वरिपरि गाउँले जम्मा गरी आउँदा जाँदाको वृत्तान्त, व्यापारीसँगको किनमेल र सामानको मूल्यबारेमा गफ दिन्थे । हटारुलाई भेट्न आउने छरछिमेकी तथा केटाकेटीलाई पिपरमेन्ट मिठाई, भेली (गुड), गोट्टी, चुरापोते, बिडीचुरोट, खिपजस्ता सामान उपहार दिइन्थ्यो । त्यसले छिमेकी र इष्टमित्रलाई पनि खुसी दिलाउँथ्यो ।
ती दिनहरू सुनाउँदा नयाँ पुस्ताले पत्याउँदैन । अहिले गाउँगाउँमा सडक पुगेको छ । नुन, तेल, कपडा र खाद्यान्नको जोहो गर्नका लागि अहिले कसैले अप्ठेरो बाटोको क्याराभान पार गर्नुपर्दैन ।
यातायातको सुविधा नभएका कारण पहाड र हिमालका बासिन्दाले जीविकोपार्जनका लागि वर्षौंवर्ष हटारु बनेर दुःखकष्टको क्याराभान पार गर्नुप¥यो । हटारुको दुःख र पीडाको कथा देखियो, भोगियो । दुर्गम गाउँका बासिन्दाले जीविकोपार्जनका लागि भोग्नुपरेको त्यो अप्ठेरो यात्राको वर्णन शब्दमा उतार्न गाह्रो छ । आँसुले लेखिएको त्यो कथा अहिलेको पुस्ताले बुझ्दैन पनि ।

(दैनिक नेपालगन्जका स्तम्भकार, अधिवक्ता लोकबहादुर शाहद्वारा लिखित ‘चौकीदारदेखि वकिलसम्म’ पुस्तकको एउटा अंश । पत्रकार जनक नेपाल र कुमार श्रेष्ठले सम्पादन गरेको यो पुस्तक विहीवार लोकार्पण गरिएको छ । क्रियटिभ बुक्सले पुस्तक प्रकाशन गरेको हो ।)

प्रतिक्रिया

प्रतिक्रिया