जिल्लामा ट्राफिक व्यवस्थापका चुनौति र समस्या बुझ्दै ट्राफिक
नेपालगन्ज र कोहलपुरका लागि इ–रिक्सा व्यवस्थापन ठूलो चुनौति बन्दै गएको छ । सहरको आवश्यकता भन्दा बढी इ–रिक्सा चल्न थालेपछि त्यसले ट्राफिक व्यवस्थापनमा समस्या सिर्जना गरेको छ । त्यतिमात्रै होइन भाडामा समेत मनपरी रहेको छ । नियामक निकायको वेवास्ताका कारण सहरमा हजारौं इरिक्सा हुँदा पनि त्यसको व्यवस्थापनका लागि परिणाममूखि काम हुन सकेको छैन ।
इ–रिक्साका कारण दुर्घटनाको जोखिम बढिरहेको छ । अधिकांस दर्ता नभएका इ–रिक्साबाट कुनै दुर्घटना भैहाले बीमा समेत व्यवस्था हुँदैन । जसले गर्दा घाइतेको उपचार र क्षतिपूर्तिमा पनि समस्या हुने गरेको छ । त्यस्तै, अर्कोतिर नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित इ–रिक्साले मनपरी भाडा लिने गरेका छन् । नियामक निकायले निगरानी नगर्दा भाडा दरमा एकरुपता पाइँदैन । छोटो वा लामो दुरीको भाडामा एकरुपता नहुँदा सेवाग्राहीहरु ठगिएको महसुस गर्छन् । इ–रिक्सा पिच्छे भाडा फरक हुन्छ । साँझ परेपछि इ–रिक्सा चालकले भाडा दरलाई अझ मनपरी गर्ने गरेका छन् । पाइडल रिक्सालाई इ–रिक्साले विस्थापित गरिसकेको छ । त्यसैको फाइदा इ–रिक्सा चालकले लिने गरेका छन् । रातीको समयमा त झन् भाडा दर मनपरी हुन्छ । कोहलपुर र नेपालगन्जमा इ–रिक्साको भाडा दर कायम, पार्किङ्ग र रुट व्यवस्थापन आवश्यक देखिएको छ ।
जिल्लामा नयाँ ट्राफिक प्रहरी प्रमुख जिम्मेवारीमा राजु भण्डारी आएका छन् । जिल्ला आउने वित्तिकै जिल्लामा ट्राफिक व्यवस्थापनका चुनौतिहरुको अध्ययन गरेको बताउने उनी इ–रिक्साको व्यवस्थापन निकै चुनौतिपूर्ण रहेको बताउँछन् । बाँकेमा कति इ–रिक्सा र अटो छन् भन्ने एकिन तथ्यांक छैन । ‘१० हजारको हाराहारीमा इ–रिक्सा र अटो रहेको अनुमान छ’, ट्राफिक प्रमुख भण्डारी भन्छन् । १०औं हजार इरिक्सा हुँदा पनि दर्ता भने एक हजार पनि रहेका छैनन् । कोहलपुरमा मात्रै तीन हजार बढी इरिक्सा र अटो रहेको अन्ुमान रहेको छ ।
ट्राफिक प्रहरी प्रमुख भण्डारी इरिक्सा व्यवस्थापन ट्राफिकको एकल प्रयासबाट सम्भव नरहेको बताउँछन् । ‘त्यसैले कोहलपुर र नेपालगन्जका स्थानीय तहका प्रमुखसँग त्यसबारे छलफल गरेको छु’, उनी भन्छन्, ‘उहाँहरु सकारात्मक हुनुहुन्छ ।’ उनी एकैपटक इरिक्सा व्यवस्थापन गर्न सक्ने अवस्था नरहेको बताउँछन् । ‘कोरोनाका कारण दैनिक जीवनयापनमा नै समस्या छ, यस्तो संकटका बेला एकै पटक दर्ता नभएका इरिक्सा सडकमा गुड्न बाट रोक्न सक्ने अवस्था छैन’, ट्राफिक बाँके प्रमुख, प्रहरी निरीक्षक भण्डारी भन्छन्, ‘त्यसैले स्थानीय तह र प्रशासनसँगको समन्वयमा दीर्घकालीन योजना बनाएर अघि बढ्छौं, त्यसका लागि केही समय लाग्नेछ ।’
बाँकेमा यसअघि पनि इरिक्सा व्यवस्थापनका लागि पहल नभएको होइन । नेपालगन्ज उपमहानगरपालिकाले इरिक्सा व्यवस्थापनका लागि सुझाव दिन दुई वटा समिति गठन गरेको थियो । तर, दुवै समितिले प्रतिवेदन दिन सकेनन् । सुरुमा इरिक्सा व्यवस्थापनका लागि उदासिन स्थानीय तहले अब हजारौं इरिक्सा चल्न थालेपछि रोजगारीको विषय भन्दै कडा कदम चाल्न सकेको छैन ।
‘दर्ता, रुट तथा पार्किङ्ग स्थलको सुनिश्चित गरिदिने हो भने धेरै हदसम्म इरिक्साका कारण सडकमा हुने अव्यवस्था र दुर्घटनाको जोखिम टार्न सकिन्छ’, ट्राफिक प्रहरी प्रमुख भण्डारीले भने, ‘त्यसैले समय लाग्छ हामी क्रमशः सहरको ट्राफिक व्यवस्थापन चुस्त बनाउँछौं ।’
सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेका ट्राफिक प्रमुख भण्डारीले दुर्घटना न्यूनीकरणका लागि विभिन्न योजना सुनाए । ‘धेरै योजना छन्, क्रमशः कार्यान्वयन गर्दै जान्छौं’, उनले भने, ‘फुटफाथ व्यवस्थापन, नो हर्न कार्यान्वयन, मोडिफाइड मोटरसाइकललाई कारवाही लगायतका योजनाहरु प्रहरीसँग रहेको छ ।’
बाँकेका सबैभन्दा बढी सवारी आवागमन हुने क्षेत्रहरुमा सवारी दुर्घटना न्युनिकरणका लागि एक दिन एक अभियान सञ्चालनको तयारी ट्राफिक प्रहरीले गरेको छ । ‘बाँकेमा अब प्रत्येक दिन कुनै न कुनै विषयमा जिल्लाभर ट्राफिक दुर्घटना न्युनिकरण सम्बन्धी अभियान सञ्चालन गरिनेछ’, उनले भने । ‘सवारी दुर्घटना न्युनिकरण नै हाम्रो प्रमुख उद्देश्य हो’, भण्डारीले भने ।
सवारी दुर्घटना न्यूनीकरणका लागि सबैको साझा प्रयास आवश्यक हुने भण्डारीले बताए । ‘सडक यात्रुदेखि सवारी चालकसम्मले ट्राफिक नियमको पूर्ण पालना गर्ने हो भने दुर्घटना रोक्न सकिन्छ’, उनले भने, ‘त्यसैले पहिलो जनचेतनामूलक कार्यक्रम गर्छौ त्यसपछि कारवाही अघि बढाउँछौं ।’
ट्राफिक प्रहरीले धम्बोझी चोकमा पश्चिममा बर्दिया जाने बसहरुका कारण अव्यवस्थित हुने गरेको बताउँदै ट्राफिक बाँके प्रमुख भण्डारीले त्यसलाई बसपार्कबाट मात्रै सञ्चालन गर्नका लागि पहल गरिरहेको जानकारी दिए । ‘सबैको साथ हुने हो भने हामी सडक सुरक्षित बनाउँदै सहरलाई व्यवस्थित बताउँछौं’, उनले भने ।