बाँकेमा कोरोना कहरः पाँच मिनट अन्तरालमा गयो दुईको ज्यान

बाँकेमा स्वास्थ्य सतर्कता पालनामा लापरबाही बढ्दै जाँदा कोरोना संक्रमणले तिब्रता लिइरहेको छ । त्यसक्रममा शनिबार राती बाँकेका २ कोरोना संक्रमतिको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपलिका १० का ८४ बर्षीय पुरुष र कोहलपुर ८ गोल्छाका ७१ वर्षीया महिलाको भेरी अस्पताल नेपालगन्जमा शनिवार राती मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, पाँच मिनेटको फरकमा ज्यान गएका दुवैमा श्वासप्रश्वासको समस्या र कडा खालको कोरोना संक्रमण देखिएको थियो। योसँगै कोरोना संक्रमणबाट बाँकेमा ज्यान गुमाउनेको सख्या २६ पुगेको छ ।
मृतक ८४ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि कोरोनाको आंशकामा असोज ६ गते बागेश्वरी ल्याब कोहलपुरबाट स्वाव संकलन गरिएको थियो । असोज ७ गते कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएका उनलाई स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखेर समेत उपचार गरिएको थियो ।

त्यस्तै मृतक कोहलपुर ८ गोल्छाका ७१ वर्षीया महिलाको स्वास्थ्यमा समस्या आएपछि कोरोनाको आशंकामा असोज १४ गते नेपालगन्ज मेडिकल कलेजको पीसीआर ल्याबमा स्वाब संकलन गरिएको थियो । शनिवारमात्रै बाँकेका थप ४२ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया