बाँके जिल्लामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, कोहलपुर नगरपालिका–९ पिपरीका ३८ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा र दाङको घोराही उपमहानगरपालिका वडा नंं. ३ निवासी १५ वर्षीय किशोरको शिक्षण अस्पताल कोहलपुरमा गएराति मृत्यु भएको हो । असोज १३ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका ३८ वर्षीय पुरुषलाई २१ गते राति भेरी अस्पतालमा लगिएको थियो । प्लाज्मा थेरापी पनि गरिएका उनको शुक्रबार राति ११ बजे मृत्यु भएको कोरोना फोकल पर्सन श्रेष्ठले बताए ।
यसैगरी दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति करिब ८ः३० बजे मृत्यु भएको हो । उनमा निमोनियासमेत देखिएको थियो । उनको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दासमेत बिरामीको अवस्थामा सुधार आउन नसकेर मृत्यु भएको श्रेष्ठले जानकारी दिए । बाँकेमा सक्रिय संक्रमितको संख्या ५४१ पुगेको छ ।